पोखरा बहुमुखीको ३९ औं वार्षिकोत्सव मनाइयो

समाधान संवाददाता २०८२ मंसिर १५ गते ६:४७

पोखरा ।

पोखरा बहुमुखी क्याम्पसले आइतबार आफ्नो ३९ औं वार्षिकोत्सव तथा साधारणसभा मनाएको छ । पोखराको पहिलो सामुदायिक क्याम्पसले हरेक वर्ष मंसिर १४ गते स्थापना दिवस मनाउँदै आएको छ । समारोहको उद्घाटन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा महानन्द चालिसेले गरेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै डिन चालिसेले त्रिविले पठनपाठनको ढाँचा फेर्ने योजना बनाएको बताए । नयाँ पुस्ताको चाहना र रुचिअनुसार पाठ्यसामग्री तयार गरिने उनको भनाइ छ । अबको शिक्षालाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्नेमा उनले जोड दिए । त्रिविले परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई समयमै सक्ने गरी काम गरिरहेको उनले सुनाए । पोखरा बहुमुखी क्याम्पसले ‘क्युएए’ प्राप्त गरेकोमा उनले बधाई दिए ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चित सर्कल (आइक्युएसी) का प्रमुख महेन्द्रप्रसाद रिमाललाई विशेष सम्मान गरिएको छ । क्याम्पसले गुणस्तर सुनिश्चितता प्रमाण (क्युएए) प्राप्त गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो । सञ्चालक समितिका पदाधिकारी र क्याम्पस प्रमुखले उनलाई सम्मानपत्र र पुष्पगुच्छा प्रदान गरेका थिए ।

Advertisement

समारोहमा उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई पनि पुरस्कृत गरियो । वर्ष उत्कृष्ट प्राध्यापकका रूपमा आइतकुमारी गुरुङ र उत्कृष्ट कर्मचारीका रूपमा लक्ष्मी बास्तोला सम्मानित भएका छन् । यस्तै क्याम्पसलाई सहयोग गर्ने चन्दादाताहरू पोखरा–४ का भुवनसिंह गुरुङ, युगेन पालिखे, कृष्ण पोखरेल र अमरसिंह मावि २०२७ को एसएलसी ब्याचलाई सम्मान गरिएको थियो ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । चुनौतीका बिच पनि क्याम्पस शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागेको उनले बताइन् । कार्यक्रममा विभिन्न संकाय र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत निबन्ध र भाषणकला प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरियो ।

नेपाली र अंग्रेजी निबन्धतर्फ एलिना क्षेत्री, दिया थापा, विमला श्रेष्ठ, सुस्मिता आचार्य, अपेक्षा गुरुङ र सञजय श्रीस पुरस्कृत भए । भाषणकलामा सुप्रिया अधिकारी, कृतिका राई, सजिता सापकोटा र मनसुन गिरीले पुरस्कार पाए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष वीरेन्द्रमान बिजुक्छे, सल्लाहकार शंकर देवकोटा, उपाध्यक्ष बद्री श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष भीमप्रसाद न्यौपाने, विद्यार्थी नेचर क्लबका अध्यक्ष गणेश रामदाम लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महेन्द्रप्रसाद रिमालले गरेका थिए ।

तपाईको प्रतिक्रिया