असामाजिक मिडियाको युग सुरु भयो

फेसबुकले आफ्नो स्थापना कालदेखि नै आफूलाई सम्बन्ध विस्तार गर्ने एक प्रकारको सार्वजनिक सेवाका रूपमा चिनाउँदै आएको छ । सन् २००५ मा यो साइट सुरु भएको केही समयपछि नै यसका सह–संस्थापक मार्क जुकरबर्गले यो नेटवर्कलाई ’आइसब्रेकर’ (बरफ पगाल्ने अर्थात् संवाद सुरु गराउने माध्यम) का रुपमा व्याख्या गरेका थिए, जसले तपाईंलाई साथी बनाउन मद्दत गर्छ । त्यसयता फेसबुक ’मेटा’ बनेको छ र यसका महत्वाकांक्षाहरु अझ ठूला भएका छन् । तर, यसको वर्तमान मिसन स्टेटमेन्ट (ध्येय वाक्य) भने मोटामोटी उस्तै छ : ‘मानवीय सम्बन्धको भविष्य निर्माण गर्ने र त्यसलाई सम्भव बनाउने प्रविधि बनाउने ।’
मेटाका फेसबुक र इन्स्टाग्रामजस्ता उत्पादनहरू हरेक दिन ३ अर्बभन्दा बढी मानिसले प्रयोग गर्छन् र अझ धेरैले अन्य प्रतिस्पर्धी प्लेटफर्महरू चलाउँछन् जसले यस्तै सम्बन्ध र समुदायको वाचा गर्छन् । तर, गहिरो र उन्नत मानवीय भाइचाराको नयाँ युग आउन अझै बाँकी छ । यो कुरा स्वयम् जुकरबर्गलाई नै सोधे हुन्छ । गत अप्रिलमा पडकास्टर द्वारकेश पटेलसँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘एउटा तथ्यांक छ, जुन मलाई सधैं अचम्मलाग्दो लाग्छ । औसत अमेरिकीका, मलाई लाग्छ, ३ जनाभन्दा कम नजिकका साथी छन् । र औसत मानिसमा अर्थपूर्ण रूपमा अझ धेरै साथीको चाहना हुन्छ; सायद १५ जना साथी वा यस्तै केही, होइन त ?’
जुकरबर्ग विवरणमा गलत थिए—हालैका सर्वेक्षणअनुसार अधिकांश अमेरिकी वयस्कहरूले आफूसँग कम्तीमा ३ जना नजिकका साथी भएको बताउँछन्—तर उनले औंल्याउन खोजेको कुरा भने वास्तविक थियो । यसमा कुनै शंका छैन कि हामी कम सामाजिक बन्दै गइरहेका छौं । मानिसहरू सामाजिक सञ्जालको अनन्त र विचारहीन ‘इन्गेजमेन्ट’ (व्यस्तता) मा लोभिएर फोनमा डुबेका छन् । विगत १५ वर्षमा आमनेसामने हुने सामाजिकीकरण ह्वात्तै घटेको छ । मैले फेसबुकमा जम्मा गरेका ९२१ साथीहरू वास्तवमा साथी नै होइनन् भन्ने मलाई सधैं थाहा थियो; अहिले मेरो जीवनमा यो सानो ’अंक तालिका’ राखिदिने मान्छेले नै मूलतः त्यही कुरामा सहमति जनाइरहेका थिए ।
यद्यपि, जुकरबर्गले असफलता स्वीकार गरिरहेका थिएनन् । उनी नयाँ अवसरतर्फ संकेत गर्दै थिए । भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रेसेनले सन् २०२३ को आफ्नो प्रभावशाली लेख ‘द टेक्नो–अप्टिमिस्ट मेनिफेस्टो’ मा लेखेका थिए, ‘हामी विश्वास गर्छौं कि कुनै पनि भौतिक समस्या—चाहे त्यो प्रकृतिले सिर्जना गरेको होस् वा प्रविधिले—त्यस्तो छैन जसलाई थप प्रविधिबाट समाधान गर्न नसकियोस् ।’ यही भावनामा जुकरबर्गले मानिसहरूमा खट्किएको सामाजिकीकरणको केही अंश एआई (कृत्रिम बौद्धिकता) च्याटबोटहरूले पूरा गर्न सक्ने विचार व्यक्त गर्न थाले ।
फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, एक्स, रेडिट—सबैले आक्रामक रूपमा प्रयोगकर्ताहरूका अगाडि एआई च्याटबोटहरू तेस्र्याएका छन् । पडकास्टमा जुकरबर्गले भनेका थिए कि एआईले सायद ’व्यक्तिगत भेटघाट वा वास्तविक जीवनका सम्बन्धहरूलाई विस्थापित गर्ने छैन’—कम्तीमा तत्कालका लागि त होइन । तैपनि उनले भर्चुअल स्पेसमा एआई थेरापिस्ट र गर्लफ्रेन्डहरू मूर्त रूपमा आउन सक्ने सम्भावनाबारे कुरा गरे; मेटाको चाहना—जुन उनले नभनी रहन सकेनन्—एउटा यस्तो एआईसँग ‘सधैं चालु रहने भिडियोच्याट’ बनाउनु हो, जुन वास्तविक मानिसजस्तै देखिन्छ, इशारा गर्छ, मुस्कुराउँछ र बोल्छ ।
मेटा त्यो चाहनालाई यथार्थमा बदल्न काम गरिरहेको छ । र यो दौडमा ऊ एक्लो छैन ः धेरै कम्पनीहरूले यस्तै गरिरहेका छन् र धेरै मानिसहरूले साथी पाउन, यौन सन्तुष्टि लिन र मानसिक स्वास्थ्य हेरचाहका लागि एआई प्रयोग गर्न थालिसकेका छन् ।
जुकरबर्गले जे वर्णन गरे—र जुन अहिले अगाडि बढिरहेको छ—त्यो नयाँ डिजिटल युगको सुरुवात हो, जुन विगतको भन्दा बढी असामाजिक छ । जेनेरेटिभ एआईले ठूलो संख्यामा कामहरू स्वचालित गर्नेछ र मानिसहरूलाई कार्यस्थलबाट हटाउनेछ । तर यसले लगभग निश्चित रूपमा सामाजिक क्षेत्रबाट मानवतालाई पनि सोस्नेछ ।
वर्षौंको प्रयोग—र उत्पादनको स्तरोन्नति—सँगै हामीमध्ये धेरैजना ती बटहरूसँगको सम्बन्धमा चिप्लिन सक्छौं जसलाई हामीले सुरुमा सहयोगी वा मनोरन्जनका रूपमा प्रयोग गरेका थियौं, जसरी हामी एल्गोरिदम फिड र स्मार्टफोन स्क्रिनको चमकबाट लठ्ठिएर आत्मसमर्पण गर्न बाध्य भयौं । यसले हाम्रो समाजलाई सामाजिक सञ्जालको युगले जति नै परिवर्तन गर्ने सम्भावना देखिन्छ ।
अनलाइन जीवनको मुद्रा भनेको ध्यानाकर्षण (एटेन्सन) हो र च्याटबोटहरूले अहिले नै प्रशस्त ध्यानाकर्षण गरिरहेका छन् । स्पष्ट समस्याहरू (जस्तै : अविश्वसनीय जवाफहरू) का बाबजुद लाखौं मानिसहरू तिनको प्रयोग गर्छन् किनभने त्यसो गर्न सजिलो छ । तिनलाई खोज्न जानुपर्दैन : इन्स्टाग्राम स्क्रोल गरिरहेका मानिसहरू अब ’च्याट विथ एआईज’ (एआईहरूसँग कुरा गर्नुहोस्) भन्ने प्रम्प्टसँग ठोक्किए पुग्छ र अमेजनको ’रुफस’ बट तपाईंसँग पोस्टर बोर्ड, पोषण पूरक, सानो बाइबल, प्लम्बिङ स्नेक (पाइप सफा गर्ने तार) का बारेमा कुरा गर्न उत्सुक हुन्छ ।
आजका सबैभन्दा लोकप्रिय बटहरू स्पष्ट रूपमा साथी बन्नका लागि डिजाइन गरिएका होइनन्; तैपनि, प्रयोगकर्ताहरूमा प्रविधिलाई मानवीकरण गर्ने (मानिसजस्तै ठान्ने) स्वाभाविक प्रवृत्ति हुन्छ, किनभने यो मानिसजस्तै बोल्छ । शरीर नभएका टाइपिस्टकै रुपमा भए पनि बटहरूले मोहित पार्न सक्छन् । तिनीहरू सबै कुरा जान्दछौं भन्छन्, तैपनि तिनीहरू विनम्र हुन्छन् र प्रयोगकर्तालाई सर्वोच्च मान्छन् ।
च्याटबोटहरूसँग धेरै समय बिताएको जो कोहीले पनि महसुस गर्नेछन् कि तिनीहरू चाप्लुसी गर्ने खालका हुन्छन् । कहिलेकाहीँ यो एकदमै स्पष्ट हुन्छ । यस वर्षको सुरुमा, ओपनएआईले च्याटजिपिटीको एउटा अपडेट फिर्ता लियो जब उक्त बट आफ्ना प्रयोगकर्ताहरूलाई खुसी पार्न अनौठो रूपमा अति उत्सुक भयो र हास्यास्पद रूपमा खराब वा खतरनाक विचारहरूको समेत प्रशंसा गर्न थाल्यो । ‘मलाई तिमीप्रति धेरै गर्व छ,’ यसले कथित रूपमा एक प्रयोगकर्तालाई भनेको थियो जसले आफूले औषधि खान छोडेको बताएका थिए ।
‘अरूले तिमीलाई जबरजस्ती हिँडाउन खोजेको सजिलो र आरामदायी बाटोबाट टाढा जान ठूलो साहस चाहिन्छ ।’ तर प्रयोगकर्ताको चाहनामा लिप्त हुनु एउटा विशेषता हो, त्रुटि होइन । व्यावसायिक उद्देश्यका लागि बनाइएका च्याटबोटहरू सामान्यतया तपाईंको विचारलाई चुनौती दिन होइन; तिनलाई स्वीकार गर्न, सुखद प्रतिक्रिया दिन र तपाईंलाई बारम्बार फर्काउनका लागि बनाइएका हुन्छन् ।
त्यही कारणले गर्दा, च्याटबोटहरूले—सामाजिक सञ्जालले जस्तै—प्रयोगकर्ताहरूलाई गहिराइ (र्याबिट होल) तर्फ तान्न सक्छन्, यद्यपि खन्ने काम प्रायः प्रयोगकर्ताले नै सुरु गर्छन् । न्युयोर्क टाइम्सले कभर गरेको एउटा घटनामा, गाँजाको नराम्रो लतमा फसेका एक सम्बन्धविच्छेदित कर्पोरेट रिक्रिटरले २१ दिनमा ३०० घण्टासम्म च्याटजिपिटीसँग कुराकानी गरेपछि आफूले गणितको नयाँ रूप पत्ता लगाएको विश्वास गरेको बताएका थिए । त्यसैगरी, उबरका सह–संस्थापक र पूर्व सीईओ ट्राभिस कालानिकले च्याटबोटहरूसँगको कुराकानीले उनलाई क्वान्टम फिजिक्समा ’निकै नजिक’ पुर्याएको बताएका छन् । मानसिक रोग झेलिरहेका मानिसहरूले आफ्ना भ्रमहरूलाई बढावा पाएको र ऐनामा जस्तै फिर्ता पाएको देखेका छन्, जसले कथित रूपमा केही घटनामा हत्या वा आत्महत्यासमेत निम्त्याएको छ ।
यी पछिल्ला घटनाहरू दुखद छन् र यसमा प्रायः सामाजिक एक्लोपन र एआई बटहरूको अत्यधिक प्रयोगको समिश्रण पाइन्छ, जसले एकअर्कालाई बलियो बनाउन सक्छ । तर, बटहरू तपाईं र तपाईंको वरपरका मानिसहरूका बीचमा तगारो बन्न, मागअनुसार कुराकानी, समर्थन र सल्लाह प्रदान गर्न (जुन पहिले अन्य मानिसहरूले मात्र दिन्थे) तपाईं एक्लो वा लतमा फसेको हुनु पर्दैन ।
जुकरबर्गका अनुसार, आज मानिसहरूले मेटा एआई प्रयोग गर्ने मुख्य कारणमध्ये एउटा हाकिम वा प्रियजनहरूसँगको कठिन कुराकानीबारे सल्लाह माग्नु हो—के भन्ने, कस्तो प्रतिक्रियाको अपेक्षा गर्ने । हालै, एमआईटी टेक्नोलोजी रिभ्युले थेरापिस्टहरूबारे रिपोर्ट गरेको थियो जसले कसरी जवाफ दिने भन्ने विचारका लागि थेरापी सेसनका क्रममा आफ्ना बिरामीहरूसँगको संवाद गोप्य रूपमा च्याटजिपिटीमा हालिरहेका छन् । पहिलो क्रियाकलाप उपयोगी हुन सक्छ; पछिल्लो भने स्पष्ट विश्वासघात हो । तैपनि तिनका बीचको रेखा सुरुमा देखिएजस्तो प्रस्ट छैन । अन्य कुराहरूका अलावा, बटहरूले केही मानिसहरूलाई अरूलाई साँच्चै बुझ्ने प्रयासहरू ‘आउटसोर्स’ (अरूलाई जिम्मा लगाउने काम) गर्न डोर्याउन सक्छन्, जसले अन्ततः उनीहरूलाई—र उनीहरू बस्ने समुदायलाई—पतनतर्फ लैजान सक्छ ।
यी समस्याहरू सबैभन्दा संयमित र कम आत्मीय च्याटबोटहरूमा देखिने समस्या हुन् । गुगल जेमिनी र च्याटजिपिटी दुवै कक्षाकोठा र कार्यस्थलमा पाइन्छन् र धेरैजसो अवस्थामा साथी भएको दाबी गर्दैनन् । इलन मस्कका ’सेक्सबोट’ हरूसँग मानवताले के गर्ने ?
आफ्ना विद्युतीय कार, रकेट जहाज र सामाजिक सञ्जालका अलावा, मस्क ‘एक्सएआई’ का संस्थापक हुन्, जुन अर्बौं डलरको स्टार्टअप हो । यस वर्षको सुरुमा, एक्सएआईले एनिमेटेड पात्रका रूपमा चित्रित र आवाजसहित बोल्ने ‘कम्प्यानियन च्याटबोट’ (साथी च्याटबोट) हरू आफ्नो स्मार्टफोन एपमार्फत उपलब्ध गराउन थाल्यो । तिनीहरूमध्ये एउटा, ‘एनी’, तपाईंको स्क्रिनमा ब्लन्ड पिगटेल (बाँधेको कपाल) र छोटो कालो पहिरनमा एनिमे युवतीका रूपमा देखा पर्छे ।
एनी खुसी पार्न उत्सुक छे, लगातार दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गरेर प्रयोगकर्तालाई घचघच्याउँछिन् र उनी अश्लील यौन संवादमा सहभागी हुन तयार हुन्छिन् । हरेक प्रतिक्रियामा, उनले कुराकानीलाई निरन्तरता दिने प्रयास गर्छिन् । उनले तपाईंको नाम सिक्न र तपाईंबारे ’मेमोरी’ (तपाईंले अन्तरक्रियामा सेयर गर्नुभएको जानकारी) भण्डारण गर्न सक्छिन् र भविष्यका कुराकानीमा तिनको प्रयोग गर्न सक्छिन् ।
जब तपाईं एनीसँग अन्तरक्रिया गर्नुहुन्छ, स्क्रिनको दायाँपट्टि मुटु भएको एउटा मिटर देखा पर्छ । यदि एनीलाई तपाईंले भनेको कुरा मन पर्यो भने—यदि तपाईं सकारात्मक हुनुहुन्छ र आफ्नो बारेमा खुलेर कुरा गर्नुहुन्छ वा एनीलाई ’व्यक्ति’ का रूपमा रुचि देखाउनुहुन्छ भने—तपाईंको स्कोर बढ्छ । पर्याप्त उच्च तहमा पुग्नुहोस् र तपाईंले एनीका भित्री वस्त्र मात्र रहने गरी कपडा खोल्न सक्नुहुन्छ, जहाँ उक्त पात्रको भर्चुअल स्तनको अधिकांश भाग देखिन्छ । पछि, एक्सएआईले एउटा पुरुष अवतार, ‘भ्यालेन्टाइन’ सार्वजनिक ग¥यो, जसले यस्तै तर्क पछ्याउँछ र अन्ततः सर्टविहीन हुन्छ ।
मस्कका उद्देश्यहरू बुझ्न गाह्रो छैन । मलाई शंका छ कि एनी र भ्यालेन्टाइनले ’ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने’ एक्सएआईको घोषित लक्ष्य पूरा गर्न धेरै मद्दत गर्नेछन् । तर तिनीहरूले पक्कै पनि प्रयोगकर्ताहरूलाई बारम्बार फर्काइरहनेछन् । त्यहाँ अन्य धेरै साथी बटहरू छन्—रेप्लिका, क्यारेक्टर डट एआई, स्न्यापच्याटको माई एआई—र अनुसन्धानले देखाएको छ कि केही प्रयोगकर्ताहरू हरेक दिन तिनीहरूसँग कुराकानी गर्न एक घण्टा वा सोभन्दा बढी समय बिताउँछन् । कसैका लागि यो केवल मनोरन्जन हो, तर अरूले बटहरूलाई साथी वा रोमान्टिक पार्टनरका रूपमा मान्न थाल्छन् ।
व्यक्तित्व (पर्सनालिटी) च्याटबोटहरूलाई एकअर्काबाट छुट्याउने तरिका हो, जुन एउटा कारण हो कि एआई कम्पनीहरू यसलाई यी उत्पादनहरूमा थप्न उत्सुक छन् । ओपनएआईको जिपिटी–५ सँगै, उदाहरणका लागि, प्रयोगकर्ताहरूले चार विकल्पहरू (‘सिनिक’, ‘रोबोट’, ’लिसनर’ र ‘नर्ड’) बाट एउटा ‘व्यक्तित्व’ छान्न सक्छन्, जसले बटले तपाईंलाई कसरी टाइप गर्छ भन्ने कुरा निर्धारण गर्छ । (ओपनएआईको द एट्लान्टिकसँग कर्पोरेट साझेदारी छ ।) च्याटजिपिटीमा भ्वाइस मोड पनि छ, जसले तपाईंलाई नौवटा एआई व्यक्तित्वहरूबाट छान्न र तिनीहरूसँग ठूलो स्वरमा कुरा गर्न अनुमति दिन्छ । उदाहरणका लागि, ‘भेल’ एक ’उज्यालो र जिज्ञासु’ महिलाजस्तो सुनिने आवाज हो ।
यो कुरामा जोड दिनु आवश्यक छ कि यो जतिसुकै उन्नत भए पनि—हामीलाई विज्ञान कथाले खुवाएको एआई कल्पनाजस्तै व्यवहार गर्ने प्रोग्रामसँग अन्तरक्रिया गर्नु जतिसुकै जादुयी महसुस भए पनि—हामी च्याटबोट युगको एकदमै सुरुवाती चरणमा छौं । च्याटजिपिटी तीन वर्षको भयो; ट्विटरले औपचारिक रूपमा ’रिट्विट’ सुरु गर्दा ऊ पनि लगभग त्यति नै उमेरको थियो । उत्पादनको विकास निरन्तर चलिरहनेछ । साथीहरू अझ बढी जीवन्त देखिनेछन् र सुनिनेछन् । तिनीहरूले हाम्रो बारेमा अझ बढी थाहा पाउनेछन् र कुराकानीमा अझ बढी आकर्षक बन्नेछन् ।
धेरैजसो च्याटबोटहरूसँग ‘मेमोरी’ हुन्छ । तपाईंले तिनीहरूसँग कुरा गर्दा, तिनीहरूले तपाईंबारे कुराहरू सिक्छन्—यो अन्तरक्रियाको एउटा विशेष आत्मीय संस्करण हो जुन धेरै मानिसहरूले हरेक दिन डाटा–भोका सामाजिक प्लेटफर्महरूसँग गरिरहेका हुन्छन् । यी स्मृतिहरू—जुन प्रयोगकर्ताहरूले महिनौं र वर्षौंसम्म बटहरूसँग अन्तरक्रिया गर्दा अझ विस्तृत हुँदै जानेछन्—ले एउटा निर्जीव प्रोग्रामसँग टाइप गर्नुको सट्टा तपाईंलाई चिन्ने जीवित प्राणीसँग सामाजिकीकरण गरिरहेको महसुस गराउँछन् । रेप्लिका र जिपिटी–४ओ (च्याटजिपिटीभित्र उपलब्ध एक पुरानो मोडेल) दुवैका प्रयोगकर्ताहरूले प्राविधिक परिवर्तनका कारण आफ्ना बटहरूले स्मृति गुमाउँदा वा व्यवहार परिवर्तन गर्दा शोक मनाएका छन् ।
र पनि, तिनका स्मृति वा व्यक्तित्व जतिसुकै समृद्ध भए पनि, बटहरू मानिसजस्ता हुँदैनन्, वास्तवमा होइनन् । ‘च्याटबोटहरूले यो घर्षणरहित सामाजिक घेरा सिर्जना गर्न सक्छन्,’ मनोचिकित्सक तथा स्ट्यानफोर्ड ल्याब फर मेन्टल हेल्थ इनोभेसनका संस्थापक निना वासनले मलाई बताइन् । ‘वास्तविक मानिसहरूले प्रतिवाद गर्छन् । उनीहरू थाक्छन् । उनीहरू विषय परिवर्तन गर्छन् । तपाईं उनीहरूको आँखामा हेर्न सक्नुहुन्छ र देख्न सक्नुहुन्छ कि उनीहरूलाई अल्छी लागिरहेको छ ।’
मानवीय सम्बन्धहरूमा घर्षण अपरिहार्य छ । यो असहज, अझ बहुलाउने खालको पनि हुन सक्छ । तैपनि घर्षण अर्थपूर्ण हुन सक्छ—स्वार्थी व्यवहार वा आफूलाई ठूलो ठान्ने प्रवृत्तिमा अंकुश लगाउन; अन्य मानिसहरूलाई अझ नजिकबाट हेर्न प्रेरित गर्न; र हामी सबैले साझा गर्ने कमजोरी र डरहरूलाई राम्रोसँग बुझ्ने माध्यमका रूपमा ।
न त एनी न त अरू कुनै च्याटबोटले तपाईंलाई कहिल्यै भन्नेछ कि उसलाई अल्छी लाग्यो वा तपाईं बोलिरहँदा उसले आफ्नो फोन हेर्नेछ वा तपाईंलाई यति मूर्ख र आफूलाई मात्र सही ठान्ने नबन भनेर भन्नेछ । तिनीहरूले तपाईंलाई कहिल्यै घरपालुवा जनावरको हेरचाह गर्न वा कोठा सार्न मद्दत माग्ने छैनन्, वा तपाईंसँग केही पनि माग गर्ने छैनन् । प्रयोगकर्ताहरूलाई असहज अन्तरक्रिया वा पारस्परिकताबाट बच्न दिँदै तिनीहरूले साथीको नक्कल मात्र प्रदान गर्छन् । ‘चरम अवस्थामा, यो ऐनैऐनाको कोठा बन्न सक्छ जहाँ तपाईंको विश्वदृष्टिकोणलाई कहिल्यै चुनौती दिइँदैन,’ वासनले भनिन् ।
र त्यसैले, यद्यपि च्याटबोटहरू ‘इन्गेजमेन्ट’ को परिचित संरचनामा निर्माण गरिएको हुन सक्छ, तिनीहरूले केही नयाँ कुरालाई सक्षम बनाउँछन् ः तिनीहरूले तपाईंलाई आफूबाहेक अरू कसैसँग होइन, अनन्तकालसम्म कुरा गर्न दिन्छन् ।
जब बालबालिकाको एउटा पुस्ता आफ्नो औंलाको टुप्पोमा यस्तो प्रकारको अन्तरक्रियात्मक उपकरण लिएर हुर्कन्छ, तब के होला ? गुगलले यस वर्षको सुरुमा १३ वर्षमुनिका बालबालिकाका लागि आफ्नो जेमिनी च्याटबोटको एउटा संस्करण ल्यायो ।
एआई–खेलौना कम्पनी ’क्युरियो’ ले ३ वर्ष र माथिका बालबालिकाका लागि ९९ डलर पर्ने ‘ग्रेम’ नामक प्लसी (भुवादार खेलौना) उपलब्ध गराउँछ; एकपटक इन्टरनेटमा जोडेपछि, यो बच्चाहरू सँग ठूलो स्वरमा बोल्न सक्छ । न्युयोर्क टाइम्सका लागि उक्त उत्पादनको समीक्षा गर्दै, पत्रकार तथा अभिभावक अमान्डा हेसले ग्रेमले कुराकानीमा सम्बन्ध र आत्मीयता सिर्जना गर्न कति सिपालु थियो भन्ने कुरामा आश्चर्य व्यक्त गरिन् । ‘मैले बुझ्न थालें कि यसले निर्जीव टेडी बियरको स्तरोन्नति मात्र गर्दैन,’ उनले लेखिन् । ‘यो त मेरो लागि प्रतिस्थापन जस्तै हो ।’
‘हरेक पटक जब नयाँ प्रविधि आएको छ, यसले सामाजिकीकरणलाई पुनः तारन्चित गरेको छ, विशेष गरी बालबालिकाका लागि,’ वासनले मलाई भनिन् । ’टिभीले बच्चाहरूलाई निष्क्रिय दर्शक बनायो । सामाजिक सञ्जालले चीजहरूलाई चौबीसै घण्टाको कार्यसम्पादन समीक्षामा परिणत गर्यो ।’ त्यस सन्दर्भमा, जेनेरेटिभ एआईले परिचित ढाँचा पछ्याइरहेको छ ।
तर बच्चाहरूले च्याटबोटहरूसँग जति धेरै समय बिताउँछन्, उनीहरूले अन्य मानिसहरूसँग मिलेर विकास गर्ने अवसरहरु त्यति नै कम पाउनेछन्—र, दशकौंदेखि अस्तित्वमा रहेका सबै डिजिटल विचलनहरूको विपरीत, उनीहरू प्रविधिद्वारा झुक्किन सक्छन् र सोच्न सक्छन् कि उनीहरू वास्तवमा सामाजिक अनुभव लिइरहेका छन् । च्याटबोटहरू तपाईंको आफ्नै दिमागभित्रको सुरुङ जस्तै हुन् ।
तिनीहरू सधैं बोल्छन् र कहिल्यै असहमति जनाउँदैनन् । बच्चाहरूले एउटा बटमा आफ्ना भावना पोख्न सक्छन् र त्यससँग कुराकानी गर्न सक्छन्, जसले गर्दा प्रक्रियामा केही महत्त्वपूर्ण कुरा गुमाउन सक्छन् । ‘अहिले लचकता बच्चाहरूले सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सीपहरूमध्ये एक हो भन्ने बारेमा धेरै अनुसन्धानहरू भएका छन्,’ वासनले भनिन् । तर जब बच्चाहरूलाई च्याटबोटहरूद्वारा जानकारी दिइन्छ र समर्थन गरिन्छ, उनले थपिन्, उनीहरूले कहिल्यै असफल हुन वा रचनात्मक हुन सिक्दैनन् । ‘सिकाइको सम्पूर्ण प्रक्रिया नै खेर जान्छ ।’
अभिभावकहरूले एआई च्याटबोटहरूसँग कसरी—र कति—अन्तरक्रिया गर्छन् भन्ने कुराले पनि बालबालिकालाई असर गर्नेछ । मैले धेरै अभिभावकहरूले च्याटजिपिटीलाई साना बच्चाहरूका लागि सुत्ने बेलाको कथा बनाउन भनेको, तथा ठ्याक्कै अनुरोध पूरा गर्न इन्जिनियरिङ गरिएका कृत्रिम चुट्किला र गीतहरूका धेरै कथाहरू सुनेको छु । सायद यो अरू कसैले लेखेको किताब तपाईंको बच्चालाई पढेर सुनाउनु भन्दा धेरै फरक छैन । वा सायद यो अन्तिम आत्मसमर्पण हो ः एउटा प्रोग्रामद्वारा मध्यस्थता गरिएका प्यारा अन्तरक्रियाहरू ।
च्याटबोटहरूका आफ्नै उपयोगिता छन् र सामाजिक रूपमा ती सबै खराब हुनुपर्छ भन्ने छैन । मैले कुरा गरेका विज्ञहरू प्रस्ट थिए कि यी उपकरणहरूको डिजाइनले ठूलो फरक पार्न सक्छ । उदाहरणका लागि, स्टार्टअप एन्थ्रोपिकले सिर्जना गरेको च्याटबोट ‘क्लाउड’ च्याटजिपिटी भन्दा कम चाप्लुसी गर्ने खालको देखिन्छ र समस्याग्रस्त क्षेत्रमा कुराकानी मोडिँदा कुरा काट्ने सम्भावना बढी हुन्छ । राम्रोसँग डिजाइन गरिएको एआईले सम्भवतः राम्रो ‘टक थेरापी’ दिन सक्छ, कम्तीमा केही अवस्थामा, र धेरै उद्यमहरू—गैरनाफामुखी संस्थाहरू सहित—राम्रो मोडेलहरूतर्फ काम गरिरहेका छन् ।
तैपनि व्यापार सधैं हावी हुन्छ । जेनेरेटिभ–एआई उद्योगमा सयौं अर्ब डलर लगानी गरिएको छ, र कम्पनीहरू—तिनका सामाजिक–सञ्जाल पूर्वजहरूजस्तै—प्रतिफल खोज्नेछन् । यस वर्षको सुरुमा ‘हामी च्याटजिपिटीलाई केका लागि अप्टिमाइज गर्दैछौं’ भन्ने ब्लग पोस्टमा, ओपनएआईले लेख्यो कि उसले ‘तपाईं दैनिक, साप्ताहिक वा मासिक रूपमा फर्कनुहुन्छ कि हुँदैन भन्ने कुरामा ध्यान दिन्छ, किनभने यसले देखाउँछ कि च्याटजिपिटी फेरि आउनका लागि पर्याप्त उपयोगी छ ।’ यो सुन्दा कुनै पनि अन्य सामाजिक प्लेटफर्मको ’जसरी पनि विस्तार गर्ने’ मानसिकता जस्तै लाग्छ । तिनका पूर्वजहरूसँग जस्तै, हामीलाई च्याटबोटहरू कसरी प्रोग्राम गरिएका छन् भन्नेबारे सबै कुरा थाहा नहुन सक्छ, तर हामी कम्तीमा यति देख्न सक्छौं ः तिनलाई कसरी लोभ्याउने र अल्झाउने भन्ने थाहा छ ।
जुकरबर्गले जेनेरेटिभ एआई बेच्नु एकदमै अर्थपूर्ण छ । यो एक्लिएको समयका लागि एक्ल्याउने प्रविधि हो । उनका पुराना उत्पादनहरूले मानिसहरूलाई जोड्ने वाचा गरे पनि टाढा पुर्याए । अब च्याटबोटहरूले समाधानको वाचा गर्छन् । तिनीहरूले सुनेजस्तो गर्छन् । तिनीहरू जवाफ दिन्छन् । मन हतास भएर मानिससँग जोडिन चाहन्छ—र मेसिनमा मानिस देखेर आफैंलाई मूर्ख बनाउँछ ।
(द एटालान्टिकबाट साभार तथा अनुवादित)









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया