‘एड्सको उपचार त सजिलो छ, तर समाजको डरले मान्छे खुल्दैनन्’

समाधान संवाददाता २०८२ मंसिर १५ गते १९:१६

पोखरा । एचआइभी एड्स भन्नेबित्तिकै समाजमा अझै पनि एउटा डर र सङ्कोच कायमै छ । उपचार जति नै सहज भए पनि सामाजिक भेदभावको डरले मानिसहरू खुल्न सकिरहेका छैनन् । आइतबार विश्व एड्स दिवसको अवसरमा पोखरामा भएको एउटा जमघटमा वक्ताहरूले यही चिन्ता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ कास्कीको हलमा पत्रकार र स्वास्थ्यकर्मीहरूबीच गज्जबको अन्तरक्रिया भयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. सरदचन्द्र बरालले एउटा तीतो यथार्थ सुनाए । उनका अनुसार अन्य जटिल रोगहरूको तुलनामा एचआइभीको उपचार निकै सस्तो र सर्वसुलभ छ । तर, विडम्बना के छ भने समाजले लगाउने लाञ्छना र भेदभावका कारण संक्रमितहरू घर नजिकैको स्वास्थ्य संस्थामा जान डराउँछन् र टाढा–टाढा पुगेर सेवा लिन बाध्य हुन्छन् ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाको भनाइ पनि उस्तै थियो । ‘जबसम्म समाजमा भेदभाव रहन्छ, तबसम्म सम्भावित संक्रमितहरू खुलेर परीक्षण गराउन आउँदैनन्,’ उनले भने, ‘यसले भित्रभित्रै जोखिम झन् बढाउँछ ।’

Advertisement

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पंगेनीले समुदायमा सही सूचना पुर्‍याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । सञ्चारमाध्यमले यथार्थ कुरा बाहिर ल्याउँदा मानिसहरूको भ्रम चिर्न सजिलो हुने उनको बुझाइ थियो ।

नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वास्थ्य केन्द्रले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रीय सचिव मनोज गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए ।

Advertisement

महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्या कोइरालाले स्वागत र सचिव भूपाल गुरुङले सञ्चालन गरेका थिए । यस वर्षको विश्व एड्स दिवस ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ मनाइएको छ ।

तपाईको प्रतिक्रिया