बेगनास तालमा पर्यटक घट्दा डुंगा व्यवसायीलाई धौ

समाधान संवाददाता २०८२ मंसिर १७ गते १५:५६

Advertisement

लेखनाथ

पछिल्लो एक दशकयता कास्कीको बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या घट्दै गएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड (फेवाताल) सम्म आउने पर्यटक पनि बेगनाससम्म नआइपुग्दा यहाँका व्यवसायीहरू मारमा परेका हुन् ।

Advertisement

३७ वर्षदेखि बेगनास तालमा डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारीका अनुसार सार्वजनिक बिदाका दिन फाट्टफुट्ट आन्तरिक पर्यटक देखिए पनि विदेशी पर्यटक निकै कम मात्र देखिने गरेका छन् । ‘२०७२ सालको भूकम्पपछि यहाँ आउने पर्यटकको संख्या घट्न थालेको हो,’ उनले भने, ‘त्यसपछि कोरोना महामारी र अहिले सडकको दुरवस्थाले गर्दा पर्यटकको संख्या बढ्न सकेको छैन ।’

मुग्लिङ–पोखरा सडक र तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यात्रा असहज हुँदा पर्यटकको आगमन घटेको व्यवसायी सोमराज कँडेल बताउँछन् । वर्षौंदेखि थला परेको व्यवसायमा सुधार आउने आशा गरिए पनि सडककै कारण निराश हुनुपरेको उनको गुनासो छ ।

Advertisement

३० प्रतिशत व्यवसायी पलायन
डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले व्यवसायबाट गुजारा नचलेपछि ३० प्रतिशत व्यवसायीले पेसा परिवर्तन गरेको बताए । ‘बाँकी रहेका व्यवसायी पनि यो पेसासँगै अन्य काममा संलग्न हुन बाध्य छन्,’ उनले भने ।

पोखरा महानगरपालिका–३१ स्थित ३ सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा २ सय ८० वटा डुङ्गा सञ्चालनमा छन् । यहाँ करिब २ सय जना व्यवसायी आबद्ध छन् । तर पर्यटक नआउँदा डुङ्गाको पालो कुर्न एक सातासम्म लाग्ने गरेको पूर्वअध्यक्ष कँडेलले सुनाए । ‘महिनामा ३ हजार रुपैयाँ मात्र कमाइ भएपछि परिवार कसरी पाल्ने ?’ उनले प्रश्न गरे ।

व्यवसाय धान्नै मुस्किल
बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत ७ सय रुपैयाँ र प्याडल बोटको १ हजार ५ सय रुपैयाँ लिने गरिएको छ । तालमा ३ वटा मोटरबोट भए पनि ती बराह मन्दिर आउजाउका लागि मात्र प्रयोग हुने गरेको समितिका अध्यक्ष रविराज कँडेलले जानकारी दिए ।

२०३७ सालदेखि यहाँ व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आएको छ । २०५३ सालअघिसम्म गाउँमा सडक नखुल्दा कास्कीका बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पसगाउँवासीले छोटो बाटोका रूपमा डुङ्गा प्रयोग गर्थे । तर अहिले सडक सञ्जाल विस्तार भएसँगै डुङ्गाको प्रयोग पर्यटकीय प्रयोजनमा मात्र सीमित भएको छ ।

बेगनास तालका होटल व्यवसायी सोमबहादुर लालचन पनि १० वर्षयता पर्यटक घटेको बताउँछन् । ‘यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले मात्र धानिएको छ । फाट्टफुट्ट आउने इजरायली पर्यटकले धेरै खर्च गर्दैनन्,’ उनले भने । फेवाताल आउने २५ प्रतिशत पर्यटक मात्र बेगनास ल्याउन सके पनि यहाँको व्यवसाय चलायमान हुने लालचनको विश्वास छ ।

डुङ्गाबाट ताल वरपरका जंगल, गाउँबस्ती, अन्नपूर्ण हिमशृङ्खला र सुन्दरीडाँडाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । माछाका परिकारका लागि पनि बेगनास ताल प्रसिद्ध छ ।

तपाईको प्रतिक्रिया