सय वर्ष पुग्यो पोखराको चर्चित ‘भुत्तेको जेरी’

जमुना वर्षा शर्मा २०८२ मंसिर १७ गते १६:०२

पोखरा

पोखराको पुरानो बजार भीमसेन टोलमा एउटा सामान्य जस्तो देखिने पुरानो घर छ । बाहिर न कुनै ठूलो साइनबोर्ड छ, न त ब्यानर नै । तर, बिहानैदेखि यहाँ मानिसहरूको घुइँचो लाग्छ । कारण हो– १ सय वर्ष पुरानो इतिहास बोकेको ‘भुत्तेको जेरी पसल’ । तातो तेलमा पाक्दै गरेको जेरीको बास्ना र मीठासका लागि मानिसहरू घण्टौं कुर्न तयार हुन्छन् ।

भुत्ते जेरीको कथा १९७० सालमा रोजगारीका लागि म्यानमार (बर्मा) पुगेका सिद्धिलाल चुल्याजुबाट सुरु हुन्छ । त्यहाँ सिकेको पाककला लिएर नेपाल फर्किएपछि उनले १९७२ सालमा पोखराको भीमसेन टोलमा मिठाई पसल खोलेका थिए । उनको लोकप्रियताका कारण मानिसहरूले ‘भुत्ते साहु’ भन्न थाले र पसलको नाम नै ‘भुत्तेको जेरी पसल’ रहन गयो ।

Advertisement

तीन पुस्ताको निरन्तरता
हजुरबुबा सिद्धिलालले सुरु गरेको यो व्यवसाय अहिले तेस्रो पुस्तामा हस्तान्तरण भएको छ । सिद्धिलालको निधनपछि आमा मिश्रीमायाले छोराहरूको साथमा पसल चलाइन् । आमाको निधनपछि अहिले कान्छा छोरा राजकुमार चुल्याजु, उनकी श्रीमती दयालक्ष्मी र नाति एलिसले पुर्ख्यौली व्यवसाय सम्हाल्दै आएका छन् ।

चुल्याजु परिवारको आफ्नै समय तालिका छ । पसल बिहान ८ देखि १२ बजेसम्म र बेलुका साढे ४ देखि साढे ६ बजेसम्म खुल्छ । ‘युवाहरू काममा नटिक्ने र विदेशिने हुँदा हामी परिवारकै सदस्य मिलेर पसल चलाउँछौं,’ राजकुमारले भने ।

Advertisement

साइनबोर्ड नराख्नुको कारणबारे सोध्दा राजकुमारले हाँस्दै भने, ‘यो खोज्दै–खोज्दै खानुपर्ने जेरी हो, त्यसैले यसको नाम ‘हन्टिङ जेरी’ हो । एकपटक खाएपछि अर्को दिन साथीभाइलाई लिएर आउनुहुन्छ ।’

इतिहास र पहिचान
२०१७ सालमा तत्कालीन राजा महेन्द्र पोखरा आउँदा सिद्धिलालले रोटीको आकर्षक द्वार बनाएका थिए । त्यसबाट प्रभावित भएर राजाले उनलाई बक्सिस दिएको कुरा चुल्याजु परिवारको गर्वको विषय बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विन्ध्यवासिनी पैदलयात्राका क्रममा यहाँको जेरी चाखेका थिए ।

राजकुमारका अनुसार यहाँ जेरीसँगै लाखमरी, खजुर, लालमोहन, फिनी र अनरसा पनि बन्छन् । नेवारी समुदायका चाडपर्व र पूजाआजामा यहाँका परिकारको माग उच्च हुन्छ । ‘हामी रङ प्रयोग गर्दैनौं । स्वाद, आकार र परम्परामा कहिल्यै सम्झौता गरेका छैनौं,’ उनले भने ।

ग्राहकको प्रतिक्रिया
झन्डै ४४ वर्षपछि भुत्तेको जेरी खोज्दै आएका भाइरोलोजिस्ट डा. विष्णु उपाध्यायले पुरानो स्वाद फेरि चाख्न पाउँदा खुसी व्यक्त गरे । ‘म २०३८/३९ सालतिर पोखरा बस्दा यहाँको जेरी खान आउँथेँ । आज ४४ वर्षपछि पनि उस्तै स्वाद पाउँदा खुसी लाग्यो,’ उनले भने ।

पोखराका अग्रज पत्रकार नारायण कार्कीले भुत्तेको जेरी केवल मिठाई मात्र नभएर पोखराको पहिचान भएको बताए । ‘बाजेको पेसाप्रति नाति पुस्ताले देखाएको चासो र निरन्तरता निकै प्रेरणादायी छ,’ उनले भने ।

तेस्रो पुस्ताका एलिस चुल्याजुले हजुरबुबाले सुरु गरेको व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोच रहेको बताए । यो पसल अहिले पोखराको एउटा ब्रान्ड बनिसकेको छ ।

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया