
पोखरा ।
पुसको महिना । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो । चिसो सिरेटोले मुटु कमाउने मौसम । तर, जब मध्यान्हको पारिलो घाम लाग्छ, लेखनाथ महोत्सवको मञ्चमा भने एउटा छुट्टै माहोल तातिन्छ । त्यो हो– रत्यौलीको रौनक । पुस ३ गतेदेखि १४ गतेसम्म चल्ने २१औँ संस्करणको लेखनाथ महोत्सवमा विवाहको लगन नभए पनि पञ्चेबाजा घन्किनेछ, मञ्चमै बेहुला–बेहुली देखिनेछन् र सुरु हुनेछ मौलिक रत्यौलीको जोस ।
२०५७ सालदेखि निरन्तर चल्दै आएको लेखनाथ महोत्सवले आफ्नो यात्रालाई रोचक बनाउन हरेक वर्ष नयाँपन दिने प्रयास गर्दै आएको छ । यही क्रममा २०६९ सालमा एउटा नौलो प्रयोग गरियो– महोत्सवमा रत्यौली गीत समावेश गर्ने । नेपालभरि सयौँ मेला–महोत्सवहरू आयोजना हुन्छन्, तर रत्यौलीलाई प्रतियोगिताकै रूपमा मञ्चमा उकाल्ने श्रेय भने लेखनाथ महोत्सवलाई जान्छ ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुली दाबी गर्छिन्, ‘नेपालभरि सञ्चालन हुने मेला तथा महोत्सवहरूमा रत्यौली गीत प्रतियोगिता सञ्चालन नहुँदा लेखनाथ महोत्सवले पहिलो पटक सुरुवाती गरेको हो । यहाँ देखिएको चासो र उत्साहपछि मात्र अन्यत्रका महोत्सवमा पनि रत्यौलीको सिको गर्न थालिएको हो ।’
महोत्सवमा आउने विभिन्न आमा तथा महिला समूहले एकातिर महोत्सवको स्टेज त अर्कोतर्फ विवाह मण्डप नै बनाएर वैदिक विधिपूर्वक पण्डितले जन्ती पठाएपछि वास्तविकता झल्कने गरी महिलाले मात्र रत्यौली गीत गाउन थाल्छन् । परम्परागत मान्यता अनुसार पुरुषले हेर्न नहुने भए पनि पुरुष दर्शकहरु रत्यौली हेर्नकै लागि भए पनि महोत्सवमा आउने प्रचलन बढेको छ । यही आकर्षणलाई मध्यनजर गर्दै २०७५ सालदेखि यसलाई प्रस्तुतीकरणका आधारमा पुरस्कृत गरिने प्रतियोगिताकै रुपमा विकास गरिएको रत्यौली गीत प्रतियोगिताकी पहिलो संयोजक गीता सुवेदीको भनाइ छ ।
मातृशक्तिको सम्मानका खातिर लेखनाथ उद्योग वाणिज्य संघले रत्यौली गीत प्रस्तुत गर्न थालेपछि अन्यत्र पनि यसको सिको गर्दै महोत्सवमा रत्यौली गीत देखाउन थालिएको संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘रत्यौली विनाको महोत्सव खल्लो हुने भएकाले हामीले रत्यौली गीत प्रतियोगितालाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’
त्यौलीलाई प्रतियोगिताकै रुपमा मञ्चमा उकाल्ने श्रेय भने लेखनाथ महोत्सवलाई जान्छ
प्रायः पुरुष दर्शकहरू ठाँटिएर जन्ती जाने र महिलाहरुले बेहुलाको घरमा व्यंग्यात्मक रुपमा गीत गाउँदै रमाइलो गर्दै खेलिने रत्यौली गीतलाई खुलारुपमा महोत्सवमा हेर्न पाइने भएपछि जो कोही पनि पुसको पारिलो घाममा बसी रोचकपूर्वक स्टेजमा प्रदर्शन हुने रत्यौली गीतको रमाइलो हेर्ने बानी परेका छन् । त्यसैले यस वर्ष पनि केही फरक शैली अपनाएर रत्यौली गीतलाई समावेश गरिएको संघकी उप–महासचिव गंगा मल्लको भनाइ छ ।
पुसको जाडो र त्यहीमाथि मध्यान्हसम्म कुहिरोले ढपक्क ढाक्ने मौसमको कुनै प्रवाह नगरी आउने दर्शकहरूलाई फरक–फरक शैलीले मनोरञ्जन दिने गरी २१औँ संस्करणको लेखनाथ महोत्सवमा पनि रत्यौली गीत हेर्न र सुन्न पाइने भएको हो । यस वर्षको प्रतियोगिताका लागि तयारी सुरु भइसकेको छ । तयारीको पूर्वसन्ध्यामा शनिबार महिला तथा आमा समूहको भेला राखी सुझाव र गुनासा संकलन गरिएको रत्यौली गीत प्रतियोगिताकी संयोजक प्रतीक्षा रानाभाटले बताइन् ।
रानाभाटका अनुसार रत्यौली गीत प्रतियोगिताका लागि पहिला समूह दर्ता गराइनेछ र धेरै समूह भए छनोट प्रक्रियाबाट उत्कृष्ट २० समूह छनोट गरिने छ । छनोट भएका समूहले रोलक्रमका आधारमा दैनिक दुई समूहले रत्यौली देखाउने कार्यतालिका तयार पारी अगाडि बढिएको छ ।
महोत्सवको मञ्चमा हुने यो प्रस्तुतिमा केवल गीत मात्र हुँदैन, त्यहाँ जीवन्त अभिनय पनि हुन्छ । प्रतियोगितामा छनोटमा परेका समूहले निर्धारित समयभित्र गीत प्रस्तुत गर्छन् । त्यही गीतको तालमा महिला र पुरुष दर्शक सँगसँगै छमछमी नाच्न पाउँछन् ।
अझ रोचक त के भने, रत्यौलीमा देखिने ‘लुठो’ (जोक्कर) ले विभिन्न खालका हसाउने अभिनय गर्दै स्टेजमा भएकालाई करकापले नचाउने रोचक प्रस्तुति दिन्छन् । अन्त्यमा बेहुली लिएर आएपछि बेहुला–बेहुली दुवै नाच्ने र स्टेजमा भएका अतिथिहरूलाई जन्तीको खाजाका रुपमा कसार, रोटी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारित समय सकिन्छ ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।









२ वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै
बागलुङमा २१५ जनामा एचआइभी सङ्क्रमण
पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया