एमाले महाधिवेशन

कास्कीबाट केन्द्रीय सदस्यका आकांक्षीको लर्काे

समाधान संवाददाता २०८२ मंसिर २५ गते ११:५८

पोखरा । नेकपा एमालेको ११ औं महाधिवेशनको नजिकिएसँगै कास्कीबाट यसपटक ‘हेडक्वार्टर’ मा बलियो हस्तक्षेप गर्ने रणनीतिसहित दर्जनौं नेताहरूले उम्मेदवारीको आकांक्षा सार्वजनिक गरेका छन् ।

विशेषगरी पदाधिकारी (सचिव) देखि केन्द्रीय सदस्य र आयोगसम्म कास्कीका नेताहरूको दाबीले गण्डकी प्रदेशको आन्तरिक राजनीति मात्र नभई एमालेको केन्द्रीय समीकरणलाई समेत तरंगित बनाएको छ । कास्कीबाट यसपटक केन्द्रीय पदाधिकारीको ‘सचिव’ पदमा २ नेताहरूले दाबी प्रस्तुत गरेका छन् ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सचिव पदका मुख्य दावेदार हुन् । हाल पार्टीको स्थायी कमिटी सदस्य रहेका अधिकारी एमालेको राष्ट्रिय राजनीतिमा स्थापित नाम हो । अधिकारीले आफ्नो वरिष्ठता, अनुभव र विगतमा सरकार तथा पार्टीमा निर्वाह गरेको भूमिकाका आधारमा पदाधिकारीमा स्वाभाविक हकदार भएको तर्क गरिरहेका छन् ।

Advertisement

अर्कोतर्फ, केन्द्रीय सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि सचिव पदमा आकांक्षा देखाएका छन् । दलित आन्दोलन र पार्टीको मूलधारमा लामो समयदेखि सक्रिय विश्वकर्माले समावेशी नेतृत्व र नयाँ पुस्ताको भावना समेट्नुपर्ने भन्दै सचिवमा दाबी गरेका हुन् । एउटै जिल्लाबाट दुई ‘हेभीवेट’ नेताले सचिवमा दाबी गरेपछि यति बेला कास्की जिल्ला राजनीतिक महोलले गर्माएको छ ।

महाधिवेशनमा कास्कीबाट हाल कायम रहेका अधिकांश केन्द्रीय सदस्यहरूले पदमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । अनुभव र पार्टी सञ्चालनमा निरन्तरता आवश्यक रहेको भन्दै १० जना बहालवाला नेताहरूदे केन्द्रीय कमिटीमा दोहोरिने इच्छा देखाएका छन् । पुनः दोहोरिन चाहनेहरूको सूचीमा चूडामणि जंगली, कृष्ण थापा, पोखरा महानगरकी उपमेयरसमेत रहेकी मञ्जुदेवी गुरुङ, र भीम कार्की छन् । त्यस्तै, मीनाकुमारी गुरुङ, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, प्रभा कोइराला, सीता गिरी, युवा नेता राजीव पहारी र बालकृष्ण काउछा मगरले पनि केन्द्रीय सदस्यमा निरन्तरताको दाबी गरेका छन् । उनीहरू आफ्नो विगतको कार्यकाल र पार्टीमा पु¥याएको योगदानलाई आधार मानेर दोहोरिने मुडमा छन् ।

Advertisement

नयाँ केन्द्रीय सदस्यका लागि एमाले पोखरा महानगरपालिकाको अध्यक्ष भइसकेका दीपक पौडेल, पिएन क्याम्पस स्ववियू सभापति तथा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष रश्मि आचार्य रुद्र खत्रीले बलियो दाबी पेस गरेका छन् । त्यस्तै, तेजनारायण अधिकारी, माधव बास्तोला, टीकाराम पंगेनी, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र सिर्जना शर्मा पनि केन्द्रीय सदस्यको दौडमा छन् ।

मादी गाउँपालिकाका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ ‘श्याम’, भरतमान गुरुङ (कोने), विजया सुवेदी र जगनाथ बास्तोलाले पनि केन्द्रीय सदस्य बन्न चाहेका छन् ।

एमाले पदाधिकारी र केन्द्रीय सदस्यमा मात्र होइन, पार्टीका अंग मानिने पार्टीका आयोग र महत्वपूर्ण विभागहरूमा पनि कास्कीका नेताहरूको दाबी छ । लेखा आयोगको सदस्य पदका लागि रामप्रसाद खनालले उम्मेदवारी दिने तयारी गरेका छन् भने ऊर्जा क्षेत्रका विज्ञ समेत मानिने पुष्पज्योति ढुंगनाले ऊर्जा विभागको सचिव पदका लागि आफ्नो आकांक्षा सार्वजनिक गरेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कास्की एमालेभित्रको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । एकातिर खगराज अधिकारी र जगत विश्वकर्मा जस्ता पुराना हस्तीहरूको पदाधिकारीमा दाबी छ भने अर्कोतिर नयाँ र पुराना गरी २२ जनाभन्दा बढी नेताहरू केन्द्रीय सदस्यको दौडमा छन् ।

तपाईको प्रतिक्रिया