
मुस्ताङ । मुस्ताङका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यति बेला स्याउ बगैंचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।
जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको पोस्ट हार्भेस्ट (बाली उत्पादन वा कटानीदेखि उपभोक्ताले उपभोग नगरेसम्म गरिने व्यवस्थापनका सम्पूर्ण क्रियाकलाप) सकिएसँगै स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले स्याउका पात छिटो सुकेका किसान बताउँछन् ।
सामान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिए पनि यस वर्ष पात झरिसकेकाले बगैँचा व्यवस्थापनमा किसानको सक्रियता बढेको घरपझोङका किसान दिवश थापाले सुनाए । हिउँद यामको जाडो मौसममा यहाँका किसानले आफ्नो समयअनुकूल बगैँचाको व्यवस्थापन गर्ने उनको भनाइ छ ।
‘बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकतामा स्याउका बोटको उपयुक्त काँटछाँट गर्नुहुन्छ । प्रत्येक बोटका हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्ने र चारैतिरबाट हावा खेल्नुपर्ने हुन्छ । यसो भएमा सूर्यको प्रकाश र हावाको माध्यमबाट बिरुवालाई चाहिने आवश्यक तत्व प्राप्त हुन्छ,’ उनी भन्छन्, ‘बोटमा पलाएका अनावश्यक हाँगाबिगा र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पु¥याउन सक्ने भएकाले उपयुक्त काँटछाँट गर्नु जरुरी हुन्छ।’
जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्टपछि छिटो छिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका उनको भनाइ छ । हिउँद याममा किसानलाई बगैँचा व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गर्छ । बोट काँटछाँट गर्नु, मलजल तथा सिँचाइको व्यवस्था गर्नु, रोगकीराको संक्रमणबाट जोगाउन ‘बोरोपेस्ट’ र बोरोमिक्चर’ छर्किनु लगायत काम गर्नुपर्ने हुन्छ । बगैंचाको उचित व्यवस्थापन नगरे अपेक्षा गरेअनुरुपमा गुणस्तरीय उत्पादन नदिने उनको भनाइ छ ।
स्याउ खेतीका लागि हिउँद यामको हिउँ अति आवश्यक मानिने किसान थापाले औंल्याए । बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वरा शक्तिलाई मजबुत बनाउने, जमिनको भित्री तहसम्म सिँचाइ पुग्ने र रोगकीराको संक्रमण न्यूनीकरण गर्न मद्दत पु¥याउने थापाले जानकारी दिए । पछिल्लो समय अनुकूल मौसममा हिउँ नपर्दा प्राकृतिक सिँचाइको विकल्प खोज्नुपरेको उनको भनाइ छ ।
मुस्ताङको तल्लो क्षेत्रका ३ पालिकाका किसानले स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु गरे पनि माथिल्लो क्षेत्रमा आगामी पुस १५ गतेदेखि माघ मसान्तसम्म व्यवस्थापन गरिने जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए । माथिल्लो मुस्ताङको उच्च उचाइमा तापक्रम घटेकाले बोटबाट पात पूर्ण रूपमा झर्न समय लाग्ने भएकाले ती क्षेत्रमा बगैँचा व्यवस्थापन ढिलो सुरु हुने उनको भनाइ छ ।
स्याउको हार्भेस्ट भइसकेर पात झरिसकेकाले यो बेला बगैँचा व्यवस्थापन प्रमुख भएको गुरुङले उल्लेख गरे । बोटमा पलाएका अनावश्यक हाँगाहरू काँटछाँट गर्ने, रोगकीरा नियन्त्रणका लागि सुक्ष्म खाद्य तत्व तथा बोरोपेस्ट र बोरोमिक्चर उपयुक्त विधि अपनाएर छर्किनुपर्ने उनले जानकारी दिए ।
‘यसरी बोटबाट झरेका पाँतलाई एकीकृत गरी मलको रूपमा प्रयोग गर्न सकिन्छ । स्याउको गुणस्तर र उत्पादन वृद्धि गराउन बगैँचा व्यवस्थापनभित्र पर्ने सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ’, कार्यालय प्रमुख गुरुङले थपे । कार्यालयले स्याउ बगैँचा व्यवस्थापनका लागि स्थानीय तहका कृषि प्राविधिक, सरोकार भएका निकायका कृषि प्राविधिकलगायतलाई लक्षित गरी तीनदिने स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गरेको छ ।
हिउँदमास्याउका बोटहरू सुषुप्त अवस्था अर्थात् निदाएको अवस्थामा हुने भएकाले यो बेलामा गरिएको व्यवस्थापनले उपयुक्त प्रतिफल दिने हुन्छ । अन्य समय गरिएको व्यवस्थापनले स्याउका बोटलाई क्षति पु¥याउन सक्ने भएकाले किसानले यसतर्फ ध्यान दिन उनले सुझाए ।
जिल्लामा यस वर्ष स्याउको उत्पादन आशिंक रूपमा ह्रास आएको जनाउँदै कार्यालय प्रमुख गुरुङले उचित मूल्य पाएकाले किसानले स्याउको बिक्रीबाट आम्दानी बढाएको जनाए । यस वर्ष मुस्ताङमा स्थानीय स्याउ ६ हजार ७८ टन र हाइब्रिड स्याउ १ हजार २ सय ५० टन उत्पादन भएको जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा
स्याङ्जा कांग्रेसद्वारा उम्मेदवार सिफारिस: पूर्वमन्त्री धनराज गुरुङ र खुमा अर्यालको नाम दुवै क्षेत्रबाट
कास्कीबाट केन्द्रीय सदस्यका आकांक्षीको लर्काे
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया