साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन

सुन्दरकुमार थकाली २०८२ मंसिर २५ गते १२:२९


जोमसोम । मुस्ताङ–डोल्पा सीमा नजिक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यो गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यो गाउँलाई मुस्ताङको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।

कठिन भूगोलमा अवस्थित साङ्तामा १३ घरधुरीको बसोबास छ । मुस्ताङ डोल्पा सडकसँगै रहेको गाउँ अहिलेको स्थान्तरित भएको हो । यो बस्ती पहिले अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा थियो । त्यहाँ स्थानीयले खेतपाती र पशुपालन गरी जीविकोपार्जन गर्थे ।

गाउँमा खेतपाती गर्न सिँचाइ अभाव भएपछि साङ्ताका नागरिक उक्त स्थान छोडेर अहिलेको स्थानमा स्थान्तरित भए । बस्ती सकेको ५ दशक भइसकेको छ । अझै पनि पुरानो साङ्ता गाउँमा भग्नावशेष घर छन् ।

Advertisement

साङ्ता जोमसोमदेखि ४० किलोमिटर टाढा पर्छ । संघीयतापछि मुस्ताङ–डोल्पा सडक विस्तार हुँदा साङ्तालाई कच्ची सडक सञ्जालले छोएको छ । समुन्द्री सतहको ४ हजार मिटरमा रहेको मुस्ताङ–डोल्पा सडक अझै थप स्तरोन्नति गर्नुपर्ने छ । यहाँसम्म सडक जोडिएकाले साङ्ताका नागरिकले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवा, सुविधा पाएका छन् ।

अग्ला पहाडले घेरिएको साङ्ता गाउँ सडक तलपिट्ट भिरालो खोचमा छ । अभाव र अशिक्षाको भूमरीमा जकडिएको साङ्तामा अचेल राज्यको उपस्थिति आँकलझुक्कल हुन थालेको छ ।

Advertisement

माथिल्लो डोल्पाका स्थानीयले किनमेलका लागि जोमसोम आउजाउँ गर्ने बाटो साङ्ता गाउँ नै हो । कहिलेकाँही फट्टफुट्टा विदेशी पर्यटक साङ्ता गाउँ हुँदै पदयात्रा गर्छन् । सरकारले यहाँको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ ।

गाउँमा बिरामी परियो भने त उपचार पाउन गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गर्न हाम्रो सामथ्र्यले भ्याउँदैन

साङ्तामा गएको निर्वाचनमा १३ घरधुरीका ३४ मतदाता थिए । गाउँको १ आधारभूत विद्यालय अहिले बन्द छ । बालबालिका विभिन्न संघ, संस्थाको सहयोगमा अन्यत्रका स्कुलमा पढ्छन् । गाउँमा स्वास्थ्य संस्था नहुँदा कुनै गम्भीर प्रकृतिको बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्छ । गाउँमा सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटिएस टावर जडान भएपछि बिजुली र टेलिफोनको समस्या टरेको छ ।

साङ्ता गाउँको गाउँलेको दिनचर्या अरुको गाउँको भन्दा फरक छ । वर्खा याममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने साङता गाउँका नागरिक हिउँद यामको चार÷पाँच महिनाको समय भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे । त्यहाँ हिउँद याममा न्यानो हुने भएकाले गाउँ छोडेर घोक भन्ने स्थानमा अस्थायी बसोबास गथ्र्ये ।

त्यहाँ उनीहरुले अस्थायी टहरा र खेती गर्ने लालपुर्जा वाला जग्गा थियो । वर्षौ वर्षदेखि हिउँद याममा जाडो छल्न त्यहाँ जाने गरेका साङ्ता गाउँका नागरिक विगत ७ वर्षदेखि उक्त स्थान छोडेर वारागुङ ५ कै पाक्लिङ, फल्याक, धाकार्रजुङ लगायत गाउँहरुमा बस्न थालेका छन् । गर्मी मौसममा साङ्ता गाउँमा बस्ने र हिउँद यामको जाडोमा पाँच महिना फल्याक, धाकार्रजुङ र पाक्लिङ लगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताए ।

अहिले मुस्ताङ–डोल्पा सडकको साङ्ता गाउँ जाने बाटोमा बाक्लै हिउँ छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्याक्टर जान सक्ने अवस्था छैन । गाउँसम्म आउजाउ गर्न बाक्लो हिउँ छिचोल्नुपर्ने हुन्छ । यहाँ गत कात्तिक १० गते हिमपात हुँदा सडक पूरै हिउँले अवरुद्ध बनेको छ । हिउँद याममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए ।

यसपालि हिउँ र चिसो बढेकाले मंसिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको उनले सुनाए । ‘गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ’, वडा सदस्य गुरुङले भने, ‘साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामथ्र्यले भ्याउँदैन ।’

जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँद यामका उराठिला दिन कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गरे । ‘यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ’, गुरुङले थपे, ‘बिरामी परेमा उपचार गर्न सजिलो छ, यसैले विगत छ÷सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ ।’ उनले हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिए ।

अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र ७ घरधुरी धाकार्रजुङ गाउँमा आफन्त घरमा बसेका छन् । साङता गाउँको पारी घोक पाखामा पशु गोठालामात्रै बस्ने गरेको साङ्ता गाउँका गाउँ मुखिया थुक्तेन गुरुङले सुनाए । साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रुपमा याकपालन गरेका छन् । अहिले साङ्ता गाउँका स्थानीयले गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरुमा झरेको मुखिया गुरुङले जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया