जनप्रिय क्याम्पस ३५ वर्षमा

समाधान संवाददाता २०८२ मंसिर २५ गते १८:२७

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले बिहीबार विविध कार्यक्रमसहित ३४ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वक्ताले शिक्षालाई श्रम, सीप र संस्कारसँग जोड्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त सदस्य सचिव प्राडा ज्ञानबहादुर थापाले मुलुकको शैक्षिक जगतमा सामुदायिक क्याम्पसहरूको भूमिका अतुलनीय रहेको बताए । शिक्षालाई व्यवहारिक ज्ञान र उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै उनले थपे, ‘पढाइ भनेको माहुरीले मह बनाए जस्तै एउटा कला हो । मान्छेले मह चोर्न सक्ला, तर माहुरीको कला चोर्न सक्दैन । तसर्थ, पढाइलाई आचरण, संस्कार र संस्कृतिसँग जोड्नुपर्छ ।’

सदस्य सचिव थापाले पछिल्लो समय विद्यार्थी विदेशिने क्रम बढेको सन्दर्भमा ‘विदेश पढ्न जाने तर पढेर स्वदेश नै फर्कने’ संस्कार र चिन्तनको विकास गर्नुपर्नेमा जोड दिए । उनले पढाइको महत्वलाई पैसासँग मात्र नदाँज्न आग्रह गर्दै विद्यार्थी, शिक्षक र प्रशासनको संयुक्त क्रियाशीलताले मात्र शैक्षिक संस्था बलियो हुने विचार व्यक्त गरे ।

Advertisement

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले विद्यार्थी भर्नादरमा केही कमी आए पनि क्याम्पसले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरेको प्रष्ट पारे । क्याम्पस प्रमुख कृष्णबाबु बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले स्वायत्त कार्यक्रम अन्तर्गत नेपालमै पहिलो पटक स्नातक तहमा ‘पर्वतीय पर्यटन व्यवस्थापन’ र ‘एमबिए इन हस्पिटालिटी म्यानेजमेन्ट’ सहित १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको बताए ।

शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । वार्षिकोत्सवको अवसरमा क्याम्पसको ३३ वर्षे इतिहासमा पहिलोपटक ‘क्याम्पस गीत’ तयार पार्ने चर्चित कवि तथा गीतकार तीर्थ श्रेष्ठ र उक्त गीतमा स्वर तथा संगीत भर्ने गायक कर्णदासलाई विशेष सम्मान गरिएको छ ।

Advertisement

उत्कृष्ट कार्यसम्पादन गर्ने उपप्राध्यापक गोपालप्रसाद बराल र कर्मचारी कल्पना गुरुङलाई नगद, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी गीता काफ्ले सम्मानित भइन् । क्याम्पसका पूर्वविद्यार्थी एवं संस्थापक स्ववियु सदस्य अमृत क्षेत्रीलाई पनि सो अवसरमा सम्मान गरियो ।

कार्यक्रममा विभिन्न अक्षयकोषबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो । पोखरा उपत्यकास्तरीय अन्तर सामुदायिक क्याम्पस ‘विष्णुप्रसाद बराल स्मृति कप’ छात्र भलिबल प्रतियोगिताका विजयी खेलाडी तथा वार्षिकोत्सव सप्ताह अन्तर्गत सञ्चालित भलिबल, ब्याडमिन्टन, बास्केटबल, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

बिहीबार नै क्याम्पसको १० औं अधिवेशन पनि उद्घाटन गरिएको छ । आगामी कार्यकालको नेतृत्वका लागि अध्यक्ष पदमा विष्णुप्रसाद बराल र राजेन्द्र पहारीले उम्मेदवारी दर्ता गराएको क्याम्पस प्रशासनले जनाएको छ । पूर्वअध्यक्ष एवं सल्लाहकार ईन्द्रबहादुर कुँबर, कालिका बहुमुखी क्याम्पसका प्रमुख बिरञ्जी गौतम, अखिल क्रान्तिकारीका उत्सव भुसाल, नेपाल विद्यार्थी संघका सुजन भट्टराई, अनेरास्ववियुका प्रमोद रिजाल, प्राज्ञिक विद्यार्थी परिषद्का प्रेम थापा लगायतले बोलेका थिए ।

कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेको अध्यक्षतामा भएको थियो । ४ हजारभन्दा बढी विद्यार्थी रहेको जनप्रियले २०७२ र २०७३ सालमा शिक्षा मन्त्रालयबाट ‘उत्कृष्ट सामुदायिक क्याम्पस’को पुरस्कार पाएको थियो ।

तपाईको प्रतिक्रिया