पहरामा कुहिनो ठोक्काउँदै अघि बढेको सिर्जना यात्रा

समाधान संवाददाता २०८२ मंसिर २७ गते १९:३३

पोखरा ।
शनिबार पोखराको मौसम जति चिसो थियो, नेपाली लेखक संघ गण्डकीले जुराएको ‘दौंतरी’ को चौथो शृंखला उति नै न्यानो । मञ्चमा थिए– लोकभाकाकी रानी हरिदेवी कोइराला र शब्दकी साधिक सरस्वती श्रेष्ठ ‘सरू’ । उमेरको सिँढीमा हरिदेवी केही खुड्किला माथि भए पनि सिर्जनाको क्षितिजमा यी दुई दौंतरीको यात्रा उस्तै–उस्तै । एउटी शिक्षण पेसाबाट विश्राम लिएर सिर्जनामा तल्लीन, अर्की कक्षाकोठा र साहित्यको डबलीमा समानान्तर ।

सहजकर्ता ईश्वरमणि अधिकारीले जब एउटा गह्रौँ प्रश्नको पोको फुकाए– ‘एक महिला, त्यसमाथि आमा भएर सिर्जनाको बाटो हिँड्न कति सहज छ ?’ तब हलमा एकछिन सन्नाटा छायो । सरस्वतीले लामो सास फेर्दै त्यो सन्नाटा चिरिन्, ‘काखमा नानी च्यापेर अक्षर खेती गर्न अनि चुलोचौका स्याहार्न कहाँ सजिलो छ र ? तैपनि परिवार नै सर्वोपरि हो भनेर म अगाडि बढेँ ।’ अप्ठ्याराका पहाडहरूसँग पौंठेजोरी खेल्दै यहाँसम्म आइपुगेको उनको अनुभव सुन्दा लाग्थ्यो, सिर्जना भनेको फूलको ओछ्यान होइन, काँडाघारीको यात्रा हो ।

यही भावमा लय हाल्दै हरिदेवीले थपिन्, ‘यात्रा यसै त असहज, त्यसमाथि पनि पहरामा कुहिनो ठोक्किएजस्तो ।’ छोरीमान्छे हाँस्दा पनि ‘उत्ताउली’ को पगरी गुथाइदिने समाजमा सांगीतिक यात्रा तय गर्नु फलामको चिउरा चपाउनु सरह थियो । बुबाको गालीबाट बच्न घरभन्दा पर बारीको पाखा र कान्लाहरूमा लुकेर गीतको अभ्यास गरेको पल सम्झिँदा उनको गला अझै अवरुद्ध हुन खोज्थ्यो । ‘छोरीबाट बुहारी भएर कला क्षेत्रको यात्रा गर्न झनै असहज थियो । बुहारी भएर गीत गाएर हिँड्ने, सारंगी बोक्ने ? यस्ता प्रश्नका वाणहरू ममाथि बारम्बार बर्सिरहे,’ उनले अतीतका घाउहरू कोट्याइन् ।

Advertisement

‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ गीतले उनलाई चर्चाको शिखरमा त पु¥यायो, तर समाजले उनलाई ‘विचरा’ को पात्र बनाइदियो । धेरैले सोचे– हरिदेवीले आफ्नै पीडा पोखिन् । बाहिर हल्ला चल्यो– हरिदेवीको श्रीमान् पल्टनमा छन् । तर वास्तविकताको पर्दा उघार्दै उनले सुनाइन्, ‘मेरा श्रीमान् रामबहादुर कोइराला नेपालकै एक सरकारी बैंकमा जागिरे हुनुहुन्थ्यो । हाम्रो जोडी गीतको विरहजस्तो होइन, चखेवा जोडीजस्तै छ ।’

यी दुई दौंतरीको मिलनको कथा पनि कम रोचक छैन । पतिको जागिरको सिलसिलामा लमजुङ पुगेकी हरिदेवी र लमजुङकै माटोमा हुर्केकी सरस्वतीको भेट हरिदेवीकै आँगनमा भएको थियो । साहित्यको भोकले डोर्‍याउँदै उनीहरूलाई अग्रज साहित्यकार सरुभक्तको ‘संरक्षण कविता आन्दोलन’ सम्म पुर्‍यायो ।

Advertisement

अन्नपूर्ण बेसक्याम्प (एबिसी) को यात्राको किस्सा सुन्दा दर्शकदीर्घामा हाँसोको फोहोरा छुट्यो । ट्रेकिङमा जाने भनेपछि जुत्तामा ठाँटिएका उनीहरू वीरेठाँटी नपुग्दै खुट्टा दुखेर हैरान भए । ‘जुत्ता लगाउने बानी थिएन, पछि मोजासँगै चप्पल लगाएर एबिसीसम्म पुगियो,’ हरिदेवीले हाँस्दै भनिन्, ‘विदेशी पर्यटकहरू महँगा जुत्तामा थिए, हामी मोजा र चप्पलमा । उनीहरू अचम्म मान्थे, तर हामीलाई भने सिर्जनाको न्यानोले जाडो छुनै सकेन ।’

संयोग कस्तो भने, कविता वाचनका क्रममा दुवैले ‘आमा’ शीर्षककै कविता रोजे । माटोको सुगन्ध र वात्सल्य प्रेमले भरिएका ती कविताले उपस्थित सबैको मन छोयो । अन्त्यमा, हरिदेवीले आधुनिकताको नाममा लोकगीतको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । अग्रज स्रष्टा सरुभक्त र तीर्थ श्रेष्ठबाट सुरु भएको यो ‘दौंतरी’ शृंखलाले यसपटक सिर्जना, संघर्ष र सम्बन्धको एउटा बेजोड अध्याय कोरेर गयो । संघले दोस्रो कार्यक्रममा ईश्वरमणि अधिकारी र जीवनसागर भण्डारीलाई उतारेको थियो । तेस्रो शृंखलामा सन्जीव पौडेल र अल्पज्ञानी नारिएका थिए ।

तपाईको प्रतिक्रिया