जेपी क्रस बास्केटबलः पोखरा युनाइटेड र अल्फा बोर्डिङ फाइनलमा

समाधान संवाददाता २०८२ मंसिर २७ गते २१:३२

पोखरा ।  पोखरामा जारी जेपी क्रस विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको छात्रतर्फ पोखरा युनाइटेड एकेडेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा टप्स बोर्डिङ स्कुललाई ३२–१९ को फराकिलो अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि भिडन्त पक्का गरेको हो ।

अब उपाधिका लागि युनाइटेडले अल्फा बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । अल्फाले सेमिफाइनलमा मनकामना बोर्डिङ स्कुललाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल आइतबार बिहान ८ बजेदेखि पोखरा रंगशालामा हुनेछ ।

Advertisement

टप्सविरुद्धको खेलमा युनाइटेडले सुरुदेखि नै दबाब कायम राखेको थियो । उत्कृष्ट टिमवर्क र सशक्त प्रदर्शनका कारण टोली १३ अंकको स्पष्ट अन्तरसहित विजयी भयो । गत वर्षको प्रतियोगितामा तृतीय स्थानमा सीमित भएको युनाइटेडले यस वर्ष आफ्नो प्रदर्शनमा सुधार गर्दै फाइनल यात्रा तय गरेको हो ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा गत मंसिर २४ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १८ टिमको सहभागिता छ । पोखरा रंगशाला र रामघाटस्थित पुन समाज भवनमा खेलहरू सञ्चालन भइरहेका छन् ।

Advertisement

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा १०१ वर्षीय बास्केटबल प्रेमी जेपी क्रस रहेका छन् । विद्यालयस्तरीय खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया