मदरल्याण्डमा साहित्य महोत्सव

समाधान संवाददाता २०८२ मंसिर २८ गते १९:४६

पोखरा । विद्यार्थीमा पठन तथा लेखन शैलीमा क्षमता अभिवृद्धि गर्न पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविमा आइबारदेखि २ दिने साहित्य महोत्सव सुरु भएको छ । २ दिनको महोत्सवमा पठन तथा देखन शैलीसँगै साहित्यिक बहस सञ्चालन गरिने विद्यालयले बताएको छ ।

Advertisement

विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार विद्यार्थीमा पाठ्यपुस्तकसँगै अरु विधाका पुस्तक पढ्न प्रेरित गर्ने तथा रचनात्मक र सिर्जनात्मक लेखनशैलीको विकास गर्न साहित्य महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार पहिलो दिन आइतबार आन्तरिक रुपमा विद्यार्थीहरुले पठन तथा लेखनशैलीबारे छलफल गरेका थिए ।

‘पाठ्यपुस्तकमा आधारित पढाइ त नियमित चलिरहन्छ । विद्यार्थीमा किताबी बाहेकको ज्ञान दिलाउन बाह्य विधाका पुस्तक अध्ययन गराउने प्रयास थालेका हौ,’ बरालले भने, ‘पठनसँगै लेखनशैलीको पनि विकास गर्न जरुरी छ । गृहकार्य मात्र लेखन होइन । सिर्जनात्मक लेखनमा पनि विद्यार्थीको चाँसो बढाउन सकिन्छ ।’

Advertisement

महोत्सवको पहिलो दिन विद्यार्थीहरुबीच सिर्जनात्मक लेखन, पुस्कसँगैको वृत्तिविकास, प्रविधिले पारेको प्रभाव लगायतबारे छलफल गरेका थिए । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार सोमबार पोखराका साहित्यकारलाई भेला गराएर विद्यार्थीसँग साहित्यिक बहस सञ्चालन गरिनेछ ।

‘विद्यार्थीमा पाठ्यपुस्तक भन्दा बाहिरको पढाइ पनि जरुरी छ । कक्षाकोठाको ज्ञानले मात्र त्यो सबै माग पूरा हुन सक्दैन, पुस्तक पढ्दाको अनुभव साटासाट गर्न पाउँदा साना बालबालिकामा पनि पठन चाँसो बढ्नेछ,’ उनले भने । पोखराका साहित्यकारहरु तीर्थ श्रेष्ठ, सरुभक्त लगायतका साहित्यकारलाई बोलाएर साहित्यिक बहस सोमबार सञ्चालन हुने उनले बताए ।

Advertisement

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीमा पठन शैलीको खाँचो रहेको बताए । ‘अहिलेको पुस्ता विद्यालयमा निर्धारित पाठयपुस्तक भन्दा बाहिर चासो राख्दैन । इन्टरनेटमा रमाउने पुस्ताको पठनशैली कमजोर बन्दै गएको छ । अब पनि हामीले विद्यार्थीमा पठन र लेखनशैलीको चासो नबढाउने हो भने भाषामा निकै नै कमजोर भइनेछ,’ शर्माले भने, ‘पाठ्यपुस्तक पढ्दा र नपढ्दाको प्रभाव के हुन्छ भनेर विद्यार्थीबीच नै अनुभव साटासाट गर्न पाउँदा विद्यार्थीमा पढाईप्रतिको जागरुकता बढ्नेछ ।’

पाठ्यपुस्तक पढ्दा र नपढ्दाको प्रभाव के हुन्छ भनेर विद्यार्थीबीच नै अनुभव साटासाट

महोत्सव संयोजक बामनप्रसाद घिमिरेका अनुसार विद्यार्थीमा व्यावसायिकताको सोच वृद्धि गराउन यही महोत्सव दौरान सोमबार व्यवासायिक छलफल पनि गराइनेछ । नवप्रवेशी व्यवासायीलाई उक्त अवसरमा विद्यार्थीसँग व्यावसायिक छलफल गराउँदा विद्यार्थीमा व्यावसायिकता वृद्धि हुने अपेक्षा रहेको उनले बताए । व्यावसाय गर्न सहज कि अप्ठेरो भनेर विद्यार्थीले उक्त बहसबाट थाहा पाउने उनले बताए ।

आइतबारको पहिलो दिनको सेसनमा विद्यार्थीले कथा र कविता सुनाउने मात्र नभई चित्रकलासँगै पठनपाठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर छलफल गरेका थिए । चित्रकलामा पोख्त छात्रा श्रेया तामाङसँग छात्र प्रज्वल भण्डारी गफिएका थिए । त्यस्तै विद्यालयस्तरमै अध्ययन गरिरहँदा नयाँनयाँ पाठ्यपुस्तक पढिरहेका छात्राहरुले पुस्तक किन पढ्ने भनेर अनुभव सुनाएका थिए । पुस्तक पढ्दा र नपढ्दाको प्रभावबारे उनीहरुले अरु विद्यार्थीमाझ अनुभव बाँडेका थिए । विद्यालयले अघिल्लो वर्ष पनि विद्यालयमा साहित्य महोत्सव गरेको थियो ।

तपाईको प्रतिक्रिया