११ औँ महाधिवेशन र ओलीको पुनरागमन

नेपाली राजनीतिको मियोका रुपमा रहेको नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन केवल एउटा पार्टीको सांगठनिक अभ्यासमा मात्र सीमित रहेन । काठमाडौँको भृकुटीमण्डपबाट पुनः केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्माण भएसँगै एमालेले ‘स्थिरता’, ‘नेतृत्वको अपरिहार्यता’ र ‘क्रान्तिकारी शक्तिको पुनर्जागरण’ बारे नयाँ राष्ट्रिय बहस छेडिदिएको छ । विभिन्न प्रतिकूलता र दबाबका बीच पनि ओलीले प्राप्त गरेको भारी बहुमतले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनलाई मात्र सङ्केत गर्दैन, बरु आगामी नेपाली राजनीतिका केही गम्भीर प्रवृत्ति र मार्गचित्रलाई समेत प्रष्ट पारेको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा उर्लिएको विशाल जनसहभागिता यसपटकको सबैभन्दा चर्चाको विषय बन्यो । काठमाडौँ र भक्तपुरका सडकहरूमा देखिएको त्यो मानवसागरले केवल एमालेको सांगठनिक शक्ति मात्र प्रदर्शन गरेन, बरु वर्तमान राजनीतिक व्यवस्था र पुराना दलहरूमाथि उठिरहेका प्रश्नहरूको बीचमा ‘स्थापित दलहरू नै जनताको भरोसाका केन्द्र हुन्’ भन्ने बलियो सन्देश दियो । दार्शनिक रूपमा, यो जनसहभागिताले ‘डिजिटल पपुलिज्म’ भन्दा ‘सांगठनिक धरातल’ बलियो हुन्छ भन्ने पुष्टि गरेको छ ।
११ औँ महाधिवेशनले ‘संकटको घडीमा अनुभवी सारथि’ को दर्शनलाई आत्मसात् गरेको छ । ‘जेन–जी’ आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथल र व्यवस्थामाथि नै प्रश्न उठिरहेको समयमा, एमाले प्रतिनिधिहरूले केपी शर्मा ओलीकै नेतृत्वमा पुनः विश्वास व्यक्त गरे । ओलीको जितले यो सिद्ध गरेको छ कि पार्टी कार्यकर्ताहरू अहिलेको तरल अवस्थामा ‘प्रयोग’ भन्दा ‘सुरक्षा र दृढता’ चाहन्छन् । यसलाई ‘अरिंगाल दर्शन’ मात्र नभई ‘विचार र नेतृत्वको एकीकरण’ का रूपमा पनि बुझ्न सकिन्छ ।
दोस्रो विधान महाधिवेशनले तय गरेको मूल नारा “निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि हाम्रो संकल्पः ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै अबको मुख्य मार्गचित्र हो । यसलाई कार्यान्वयन गर्न महाधिवेशनले नेतृत्वलाई निम्न बुँदामा निर्देशित गरेको छः
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताः ‘आफैँबाट सुरु गरौँ’ भन्ने मान्यताका साथ नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र आर्थिक पारदर्शितालाई डिजिटल प्रणालीमा आवद्ध गर्ने । नीतिगत भ्रष्टाचारको अन्त्यः ‘स्वार्थको द्वन्द्व’ रोक्न कडा कानुनी र नैतिक मापदण्ड लागू गर्ने । डिजिटल गभर्नेन्सः नागरिक र सेवाप्रदायक बीचको भौतिक सम्पर्क घटाउन ‘फेसलेस, क्यासलेस र पेपरलेस’ सेवा सुनिश्चित गर्ने । दण्डहीनताको अन्त्यः नियामक निकायहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने र सम्पत्ति छानबिनमा कठोर बन्ने ।
केवल सुशासनले मात्र समृद्धि आउँदैन, यसका लागि ‘उत्पादन र उत्पादकत्व’ मा फड्को मार्नुपर्ने बहस पनि यस महाधिवेशनको महत्त्वपूर्ण पाटो हो । ‘जबज’ को सार अनुसार दलाल पुँजीवादलाई निरुत्साहित गर्दै राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादनमूलक क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने नीति लिइएको छ । युवा पलायन रोक्न ’स्वदेशमै रोजगारी’ को ठोस र कार्यान्वयनयोग्य योजना ल्याउने जिम्मेवारी नयाँ नेतृत्वमा छ ।
‘परराष्ट्र नीति’ मा राष्ट्रिय हितमा आधारित ‘प्रो–नेपाल’ अडानलाई थप मजबुत बनाउने अपेक्षा छ
३०१ सदस्यीय केन्द्रीय कमिटीले नेपालको विविधतालाई समेट्ने ठोस प्रयास गरेको छ । युवा उमेर समूह, ३३ प्रतिशत महिला सहभागिताको संवैधानिक मर्म र दलित, जनजाति, मधेसी लगायतको प्रतिनिधित्वले एमालेलाई थप समावेशी बनाएको छ । मतदान प्रक्रियाले ‘सहमतिको नाममा लादिएको नेतृत्व’ भन्दा ‘प्रतिस्पर्धाबाट छानिएको नेतृत्व’ को लोकतान्त्रिक सुन्दरतालाई स्थापित गरेको छ ।
महाधिवेशनका बिम्बहरु ‘न्यातपोल र धरहरा’ ले एमालेको राजनीतिक दर्शनलाई झल्काउँछन् । न्यातपोलले सांस्कृतिक गौरव र दृढतालाई जनाउँछ भने धरहराले पुनरुत्थान र आधुनिकतालाई । ओलीको पुनरागमनले नेपालको ‘परराष्ट्र नीति’ मा सन्तुलित र राष्ट्रिय हितमा आधारित ‘प्रो–नेपाल’ अडानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
अहिलेको राजनीतिमा युवा पुस्ताको असन्तुष्टि र नयाँ राजनीतिक शक्तिहरूको आकर्षणलाई एमालेले गम्भीरतापूर्वक लिएको देखिन्छ । महाधिवेशन हलमा देखिएको युवा प्रतिनिधिहरूको बाक्लो उपस्थिति र सक्रियताले एमालेको सांगठनिक नेटवर्क नयाँ पुस्तामा पनि जीवितै रहेको देखाउँछ । केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाहरुको प्रतिनिधित्वले एमाले अब नयाँ तहको नेतृत्व तयार गर्न केन्द्रित छ भन्ने सन्देश दिएको छ ।
महाधिवेशनले युवाहरूलाई केवल ‘भोट बैंक’ मात्र नभई ‘उत्पादक शक्ति’ को रूपमा स्वीकारेको छ । ‘एक टोल, एक उद्यम’ वा ‘स्टार्टअप’ लाई राज्यका तर्फबाट सहुलियत दिने नीतिगत नेतृत्व एमालेले लिने संकल्प गरेको छ । यसले वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई स्वदेश फर्काउने र उनीहरुको सीपलाई राष्ट्र निर्माणमा लगाउने ’ब्रेन गेन’ को अवधारणालाई जोड दिएको छ ।
नेकपा (एमाले) को ११ औँ महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः नेतृत्वको साँचो सुम्पेर आगामी राजनीतिक यात्राको मार्गचित्र प्रष्ट पारेको छ । अबको मुख्य चुनौती भनेको उद्घाटन समारोहमा सडकमा देखिएको जनसमर्थनलाई निर्वाचनको मतपेटिकामा बदल्नु र जनताको नैराश्यलाई आशामा परिणत गर्नु हो । ‘निर्णायक राष्ट्रिय शक्ति’ बन्ने एमालेको लक्ष्य तब मात्र पूरा हुनेछ, जब ‘जेन–जी’ र आम जनताले उठाएका चुस्त दुरुस्त सेवा प्रवाह, सुशासन र समृद्धिको संकल्पलाई पार्टीले व्यवहारमा खरो उतार्नेछ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया