‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’

समाधान संवाददाता २०८२ पुष ८ गते १३:१९

पोखरा ।
अनेरास्ववियु कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ट्याक्सी व्यवसायीहरूले सर्वसाधारणमाथि गरेका दुव्र्यवहार र दादागिरी गरेको दाबी गर्दै तत्काल त्यसलाई नियन्त्रण गर्न माग गरेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विमानस्थलका ट्याक्सी चालकका त्यस्ता गतिविधिको व्यापक जनगुनासो आएपछि युनियनले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो ।

Advertisement


युनियनले सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई त्यसबारे ध्यानकर्षण गराएको हो ।

‘विमानस्थल परिसरमा निजी सवारी साधन प्रयोग गर्ने नागरिकमाथि भइरहेको अवरोध र धम्कीका घटना भइरहेको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विमानस्थल परिसरमा निजी कार र दुई पांग्रे सवारी साधनमार्फत आफन्तलाई लिन वा छाड्न जाने सर्वसाधारणलाई ट्याक्सी व्यवसायीले अवरोध गर्ने, दुव्र्यवहार गर्ने र धम्की दिने काम गरेका छन् ।’

Advertisement


अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले सार्वजनिक स्थलमा कसैले पनि आफूलाई कानुनभन्दा माथि ठानेर मनपरी गर्न नपाउने जनाए । ट्याक्सी व्यवसायीको नाममा भइरहेका यस्ता अराजक गतिविधिले सिधै कानुनको उल्लंघन गरेको दाबी गर्दै उनले यस्ता क्रियाकलापलाई नियन्त्रण नगरी प्रशासन मौन बस्नु चिन्ताको विषय बनेको उल्लेख गरे ।


ध्यानाकर्षणपत्रमा यस्ता गतिविधिले सर्वसाधारणमा असुरक्षाको भावना सिर्जना गर्नुका साथै पर्यटनको राजधानी पोखराको प्रतिष्ठा र पर्यटन व्यवसायमा दीर्घकालीन नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।

Advertisement

युनियनले विमानस्थल परिसरमा ‘दादागिरी’ देखाउने ट्याक्सी चालकमाथि तत्काल कडा कानुनी कारबाही गर्न र निजी सवारी साधन प्रयोग गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न माग गरेको छ । युनियले ट्याक्सी सञ्चालनका लागि स्पष्ट नियम लागू गरी उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउनसमेत प्रशासनलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया