चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र

समाधान संवाददाता २०८२ पुष ९ गते ६:०६

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक माहोल तातेको छ। चुनाव आउन अब ७१ दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरू समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त बनेका छन्।

Advertisement

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै निर्वाचनको तयारी एकसाथ अघि बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ भाग लिन ९३ वटा दलले निवेदन दिएका छन्। ती दलहरूले आगामी १३ र १४ पुसभित्र उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ।

दलहरूले राष्ट्रिय जनगणना २०७८ को नयाँ तथ्यांकअनुसार समावेशी समूहको प्रतिशत मिलाएर सूची बुझाउनुपर्नेछ। नयाँ जनगणनामा केही ‘क्लस्टर’ को जनसंख्या थपघट भएकाले सोहीअनुरूपको व्यवस्था मिलाउन आयोगले दलहरूलाई आवश्यक तालिमसमेत दिएको छ। यसले बदलिँदो व्यवस्थाअनुसार काम गर्न सहज हुने आयोगको विश्वास छ।

Advertisement

मंगलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि चुनावी वातावरण बन्दै गएको छ। विघटित प्रतिनिधिसभामा रहेका र नयाँ दर्ता भएका सबै दल अहिले आन्तरिक छलफल र सूची व्यवस्थापनमा केन्द्रित छन्।

यसैगरी, आयोगले आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया पनि अघि बढाएको छ। यसका लागि सम्बन्धित जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकिएको आयोगले जनाएको छ।रासस

Advertisement

तपाईको प्रतिक्रिया