
जोमसोम ।
माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँद यामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँद यामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् ।
हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यति बेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् । हिउँद यामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुस्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको छ ।
चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पुर्याउन सक्ने जोखिम छ । माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको साहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजंगल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन् ।
लोमान्थाङ ३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिए । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको बताए ।
माथिल्लो मुस्ताङमा ठूलो संख्यामा स्थानीय नागरिकले याकचाँैरी र भेडा, च्याङ्ग्रापालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौँरी र भेडाच्यांग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन् । यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियाँैदेखि निरन्तर चल्दै आएको छ ।
माथिल्लो मुस्ताङमा याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकता अनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गरे । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ ।
खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन् । यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा योगदान पुर्याएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया