सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख

आगामी फागुन २१ गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पूर्तिका लागि माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचन आयोगले प्रादेशिक तहमा हुने निर्वाचनका लागि मतदानस्थलसमेत तोकिसकेको छ । राजनीतिक दलहरू उम्मेदवार छनोटको चरणमा छन् । प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता रहने यो निर्वाचनमा दलहरू प्रायः एकलभन्दा गठबन्धनमार्फत् अघि बढ्ने दाउमा छन् । यस पटक कुन कुन दलबीच गठबन्धन बन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
एकै पटक राष्ट्रियसभाका एक तिहाइ सदस्य फेरबदल हुने भएकाले संविधानको मर्मअनुसार यस निर्वाचनलाई गरिमामय सदनका रूपमा स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नु आवश्यक छ । उम्मेदवार छनोटमा दलगत समीकरणभन्दा माथि उठेर राष्ट्रिय हित र सभाको गरिमालाई केन्द्रमा राख्न सकियो भने यो निर्वाचनको गरिमा कायम हुन सक्छ । यो स्थायी सदनमात्र होइन, प्रतिनिधिसभाले गरेका कमजोरी सच्याउने ज्येष्ठ सदन पनि हो । यही कारण प्रतिनिधिसभा सदस्य बन्न न्यूनतम २५ वर्ष उमेर पर्याप्त मानिँदा राष्ट्रिय सभा सदस्यका लागि ३५ वर्ष तोकिएको छ ।
प्रतिनिधिसभाबाट आएका विधेयकमा पुनरावलोकन गर्ने, आवश्यक परे संशोधनसहित फिर्ता पठाउने, स्वयं विधेयक प्रस्ताव गरी कानुन निर्माणमा योगदान गर्ने र संघीयताको सुदृढीकरण गर्ने जिम्मेवारी राष्ट्रियसभाको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने भएकाले प्रदेश र स्थानीय तहप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु पनि यस सभाको दायित्व हो । राष्ट्रियसभाका ५९ सदस्यमध्ये तीन जना राष्ट्रपतिबाट मनोनयन हुने र ५६ जना प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने प्रावधान छ ।
प्रत्येक २ वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने र निर्वाचनमार्फत् नयाँ सदस्य थपिँदै जाने निरन्तर प्रक्रिया हुन्छ । तर यो सदनमा विषयविज्ञ, अनुभवी र प्रबुद्ध वर्गको प्रतिनिधित्व अपेक्षाकृत कम हुँदै आएको आरोप लाग्दै आएको छ । यसबाट मुक्त हुन प्रत्येक २ वर्षमा हुने निर्वाचनलाई विज्ञ, सक्षम र दूरदृष्टि भएका व्यक्तित्व छान्ने अवसरका रूपमा ग्रहण गर्नुपर्छ ।
नेपालको संविधानले पनि राष्ट्रियसभालाई दिग्गज र विशेषज्ञको सदनका रूपमा परिकल्पना गरेको हो । तर व्यवहारमा दलभित्रको समीकरण मिलाउने र नेता व्यवस्थापन गर्ने थलोका रूपमा प्रयोग हुँदै आएकाले यस सभाको गरिमा कमजोर बनेको हो । अब यो प्रवृत्तिमा पुनर्विचार आवश्यक छ । राष्ट्रियसभा अनुभव र विज्ञताको सदन हो भन्ने मान्यतालाई व्यवहारमा उतार्नैपर्छ । उम्मेदवार छनोट गर्दा राजनीति, कानुन, शिक्षा, अर्थतन्त्र, कूटनीति, समाजशास्त्र जस्ता क्षेत्रमा योगदान गरेका व्यक्तिलाई प्राथमिकता दिनुपर्छ । यसलाई केवल दलको कोटा पूरा गर्ने थलो बनाइनु हुँदैन । राष्ट्रियसभा आफैं कमजोर होइन, यसलाई कमजोर बनाइएको हो । यसलाई अनुभव, विवेक र दूरदृष्टिको सदनका रूपमा स्थापित गर्न सकियो भने यसको गरिमा बढ्दै जान्छ ।









विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
पोखरा महोत्सव तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया