इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व

समाधान संवाददाता २०८२ पुष १८ गते १८:५७
default

पोखरा । पोखराको इन्फरमेटिक्स कलेजले आयोजना गरेको अन्तर–कलेज व्यवस्थापन प्रतियोगिता ‘म्यानेजमेन्ट मेहेम २०२५’ मा मदरल्यान्ड सेकेन्डरी स्कुलले जित हासिल गरेको छ । माटेपानीस्थित कलेज परिसरमा पुस १२ मा भएको प्रतिस्पर्धामा मदरल्यान्डकै दुईवटा टिमले क्रमशः विजेता र उपविजेताको उपाधि हात पारे ।

Advertisement

विद्यार्थीको नेतृत्व क्षमता, रणनीतिक सोच, विश्लेषणात्मक सीप र निर्णय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १५ वटा कलेजका ६० जना विद्यार्थीको सक्रिय सहभागिता थियो । प्रतियोगितामा प्रतिभा माध्यमिक विद्यालय, जुनियर सिटिजन्स एकेडेमी, सोसल पब्लिक स्कुल, त्रिवेणी पब्लिक स्कुल र मदरल्यान्ड सेकेन्डरी स्कुलका विद्यार्थीले प्रतिस्पर्धा गरे ।

डायमन्ड सेकेन्डरी स्कुल, शिशु निकेतन सेकेन्डरी बोर्डिङ स्कुल, ग्लोबल कलेजियट स्कुल, कास्की मोडर्नाइज्ड एकेडेमी, हिल पोइन्ट सेकेन्डरी स्कुल, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल र सृजना सेकेन्डरी स्कुल लगायतका प्रतिष्ठित शैक्षिक संस्थाका विद्यार्थी पनि सहभागी भए ।
विभिन्न चरणमा भएको प्रतिस्पर्धामा विद्यार्थीले समस्या समाधान, सृजनशीलता, आपसी सहयोग र प्रस्तुतीकरण क्षमताको प्रदर्शन गरे । कडा प्रतिस्पर्धाबीच मदरल्यान्ड सेकेन्डरी स्कुलको ‘द पावर पिभोट’ टिम विजेता घोषित भए भने सोही विद्यालयको अर्को टिम ‘द कर्पोरेट कार्टेल’ प्रथम उपविजेता बन्न सफल भए । यो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक व्यवस्थापनको अनुभव, नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धाको अनुभूति प्रदान गरेको आयोजकले जनाए ।

Advertisement

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबै सहभागी विद्यार्थी, कलेज, निर्णायक मण्डल र आयोजक टिमलाई इन्फरमेटिक्स कलेजले धन्यवाद दिएको छ । व्यावहारिक चुनौतीहरूमार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कलेजको विश्वास छ । कलेजले आगामी दिनमा पनि विद्यार्थीको क्षमता उजागर गर्ने यस्तै सिर्जनशील कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया