कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान

समाधान संवाददाता २०८२ पुष १८ गते १९:१६

पोखरा । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव बहुमतले पारित भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको उक्त प्रस्ताव पारित भएको हो । यसअघि मंसिर १५ को बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरे पनि उक्त तालिका प्रभावित भएपछि नयाँ मिति तय गरिएको हो।

Advertisement

बैठकले कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद समेत थप गर्ने निर्णय गरेको छ। १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल मंसिरमा सकिनुअघि यसलाई दुई महिना थपेर माघ मसान्तसम्म पुर्‍याइएको प्रवक्ता प्रकाशशरण महतले बताए। कार्यवाहक सभापति खड्काले विधानको धारा ४३ प्रयोग गरी महाधिवेशन सार्ने र म्याद थप्ने प्रस्ताव गरेका थिए। महाधिवेशनको मिति वैशाखमा सार्ने निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जना नेताले भने फरक मत राखेका छन्।

महामन्त्री थापा र शर्मासँगै नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सु र उमा रेग्मीले नियमित तालिका ल्याएर विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै असहमति जनाएका हुन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै यसअघि नै हस्ताक्षर बुझाइसकेकाले त्यसलाई सम्बोधन गर्नुपर्ने उनीहरूको अडान छ। ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ, जसको अन्तिम म्याद पुस २८–२९ गते हो,’ थापाले भने। उनले नियमित महाधिवेशन वैशाखमा गर्ने निर्णय भए पनि विशेषको विषय नटुङ्गिएको बताए।

Advertisement

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले विधानमा विशेष महाधिवेशनको व्यवस्था किन राखिएको भन्दै प्रश्न गरे। सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताइरहेका बेला थापाले विधानको धारा १७(२) अनुसार नै विशेष महाधिवेशन हुनुपर्नेमा जोड दिए। ‘सभापतिज्यूले यो विशेष महाधिवेशन आफैँ डाक्नुहुन्छ भन्ने विश्वास छ,’ थापाले भने। यदि नियमित प्रक्रिया मात्रै अघि बढेर विशेषको मागलाई बेवास्ता गरिए आफूले विधानको पालना गराउन आवश्यक कदम चाल्ने चेतावनी उनले दिएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया