शिवशक्ति माविमा साढे दुई दशक प्रधानाध्यापक रहेका बास्तोलाको बिदाइ

समाधान संवाददाता २०८२ पुष १९ गते १३:५८

पोखरा । पोखरा–११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा ३३ वर्ष अध्यापन गरी साढे दुई दशक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका शम्भु बास्तोलालाई शुक्रबार एक विशेष समारोहबीच बिदाइ गरिएको छ। विद्यालयको विकासमा लामो समय योगदान दिएका बास्तोलालाई अबिर, माला र दोसल्ला ओढाएर सम्मान गरिनुका साथै कदरपत्र र मायाको चिनो स्वरूप करुवा प्रदान गरियो। बिदाइपछि उनलाई विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीले भजन र नाचगानसहित निवाससम्म पुर्‍याएका थिए।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र नाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले बास्तोलाको कार्यकालमा विद्यालयले हासिल गरेको प्रगतिको चर्चा गरे। बास्तोलाले एक कुशल प्रशासक र शिक्षकका रूपमा पुर्‍याएको योगदान विद्यालयका लागि अविस्मरणीय रहने उनले बताए। कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू माधव प्रसाद बास्तोला, दामोदर बास्तोला र योगराज बास्तोला, पूर्व विद्यार्थी हरि प्रसाद बास्तोला र विद्यालय निरीक्षक कृष्ण प्रसाद भण्डारीले बास्तोलाको कार्यकालमा भएका शैक्षिक तथा भौतिक सुधारबारे जानकारी दिए।

निमित्त प्रधानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि रजनी भुजेल र विद्यार्थी सबिना पुरीले बास्तोलाको व्यक्तित्व र उनले देखाएको मार्गनिर्देशनको प्रशंसा गरे। बिदाइ भएर जान लागेका बास्तोलाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै विद्यालयको हितका लागि आगामी दिनमा पनि सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। शिक्षक प्रकाश पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय टोलवासी र शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया