रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले

समाधान संवाददाता २०८२ पुष १९ गते १७:४९

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा आफ्नो पार्टीले १५१ सिट जितेर मुलुकलाई नयाँ बाटोमा लैजाने दाबी गरेका छन् ।

Advertisement

पोखरामा आयोजित सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उपसभापति वाग्लेले संसदमा थोरै संख्यामा रहँदाको पीडादायी अनुभवले ठूलो शक्ति बन्नुपर्ने आवश्यकता महसुस गराएको बताए । ‘२१ बाट १५१ सिटको लक्ष्य सानो संकल्प होइन, २७५ जना सांसदको भीडमा हाम्रा २१ जना सांसदले भोग्नुपरेको अनुभव असाध्यै पीडादायी रह्यो,’ उनले भने, ‘त्यसैले अब हामी ५० वा ६० सिट ल्याएर चिया खाएर बस्ने होइन, स्पष्ट बहुमतका साथ मुलुक हाँक्ने तयारीमा छौं ।’ अब ‘म्याजिक नम्बर’ को पछाडि नलागी स्पष्ट बहुमतका लागि तयारी गरिरहेको उनले उल्लेख गरे ।

वाग्लेले विगत ७० वर्षको इतिहासमा नेपालका ठूला दलहरुले पाएको अवसर सदुपयोग गर्न नसकेको टिप्पणी गरे । उनका अनुसार २०४८ सालमा नेपाली कांग्रेस, २०६४ सालमा नेकपा माओवादी र २०७६ सालमा नेकपा एमालेले झण्डै दुई तिहाइको बहुमत वा ठूलो अवसर पाए पनि आन्तरिक खिचलो र पदको लुछाचुँडीका कारण ती ऐतिहासिक अवसर खेर फालेका थिए । ‘३५ वर्षमा अब चौथो पटक एउटा ऐतिहासिक अवसर आउँदै छ, विगतका दलहरूले गरेको गल्तीबाट सिकेर हामी सुसंस्कृत राजनीतिको अभ्यास गर्नेछौं,’ उनले भने ।

Advertisement

उपसभापति वाग्लेले रास्वपा कलिलो पार्टी भए पनि नेतृत्वको दूरगामी सोचका कारण छोटो समयमा आशा जगाउन सफल भएको दाबी गरे । विगतका दलहरुले गरेको गल्तीबाट सिकेर एक उन्नत र सुसंस्कृत राजनीतिको अभ्यास गर्ने संकल्प रास्वपाले लिएको उनले बताए ।
पार्टी विस्तार र सुदृढीकरणका क्रममा ‘अर्गानिक’ मात्र भएर नपुग्ने र विशाल पार्टी बन्नुको विकल्प नरहेको उपसभापति वाग्लेले स्पष्ट पारे । उनले सभापति रवि लामिछाने र उपसभापतिहरु मिली मुलुकलाई अगाडि बढाउन त्याग र जोखिम मोलेर यो महाअभियान सुरु गरेको बताए । रास्वपाको अभियान दिन दुई गुणा र रात चौगुणा विस्तार भइरहेको उल्लेख गरे । व्यक्तिको स्वार्थभन्दा माथि दल र दलभन्दा माथि मुलुकलाई राखेर रास्वपा अगाडि बढेको उनले दाबी गरे ।

उपसभापति वाग्लेले युवाहरूको आशा रहेका बालेन शाह र कुलमान घिसिङ जस्ता व्यक्तिहरूलाई पार्टीमा जोड्नुको अर्थ पार्टीलाई थप शक्तिशाली बनाउनु रहेको जानकारी दिए । ‘मुलुकलाई नयाँ बाटोमा लैजान हामीले एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्ने रणनीति लिएका छौं,’ उपसभापति वाग्लेले थपे, ‘त्यसैले बालेन शाह, कुलमान घिसिङ र विवेकशील साझाजस्ता शक्ति र व्यक्तिहरूलाई हामीले अभियानमा जोडेका हौं ।’

Advertisement

थारु समुदाय र दलितहरुसँगै धेरै पार्टी र व्याक्तिहरु रास्वपाको महाअभियानमा छिट्टै जोडिने तयारीमा रहेको उपसभापति वाग्लेले बताए । पार्टी विस्तारकै क्रममा वाग्लेले गण्डकी प्रदेशबाट शनिबार पूर्वमन्त्री कुमार खड्का, पर्यटन व्यवसायी पुष्प अधिकारी र महिला नेतृ मिलन थापालाई स्वागत गर्दै यो अभियानलाई अझै व्यापक बनाउने घोषणा गरे ।

तपाईको प्रतिक्रिया