नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का

पोखरा ।
पूर्व मन्त्री कुमार खड्काले नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन् ।
पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा समर्थकका साथ रास्वपा प्रवेश गर्दै पूर्वमन्त्री खड्काले नेपाली कांग्रेसले नैतिकताको बन्धन खोलिदिएपछि आफू स्वतन्त्र भएर नयाँ अभियानमा जोडिएको उल्लेख गरे । ‘निर्वाचन पश्चात मन राष्ट्रिय स्वतन्त्र पार्टी तिर तर शरिर र वचन नेपाली कांग्रेसको बन्धनले बाँधिराखेको थियो,’ पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘यही उकुसमुकुसको क्रममा म राजनीति छोड्छु पार्टी छोड्दिन भनेर ३ वर्षसम्म निस्क्रिय रहिरहेको अवस्थामा नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर मलाई स्वतन्त्र बनायो त्यसकारण आज म यहाँ उपस्थित छु ।’
कार्यक्रममा पूर्वमन्त्री खड्काले पुराना पार्टीले नैतिकता र सिद्धान्त भुल्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको र वैकल्पिक राजनीतिको संकल्प रवि लामिछानेले पूरा बताए । यसैका लागि २०७० सालमा आफूले अखण्ड नेपाल पार्टी स्थापना गरेको पनि उनले स्मरण गरे । उनले त्यतिबेला जनताको मन जिते पनि मत जित्न नसकेको तर अहिले रवि लामिछानेले त्यो सपना पूरा गरेको बताए । ‘मैले विगतमा जनताका मुद्दालाई संविधान सभा र सडकमा व्यापक रूपमा उठाउँदा पनि मत जित्न सकेको थिइनँ, तर रवि लामिछानेले मन र मत दुवै जितेर वैकल्पिक राजनीतिको संकल्प पूरा गरेका छन्’ खड्काले भने । उनले देश अहिले विनाश र विध्वंसको बाटोमा रहेको भन्दै राजनीतिक, सामाजिक र आर्थिक सुरक्षा अत्यन्त निराशाजनक रहेको टिप्पणी गरे । खड्काले देशको अर्थतन्त्रको रातो बत्ती बलिसकेको र नेपाल असफल राष्ट्र अर्थात् ‘फेलियर स्टेट’ को बाटोमा अगाडि बढेको चेतावनी दिए ।
शिक्षा प्रणालीको कडा आलोचना गर्दै खड्काले १० र १२ पास गर्ने बित्तिकै युवाहरू हलो छोडेर राहदानी बनाउन लाइन लाग्ने गरेको बताए । ‘१० पास गर्ने बित्तिकै १५ देखि १६ हजार रुपैयाँका लागि माटोमा काम गर्दिनँ भन्ने र १२ पास गरेपछि विदेश जाने मनोविज्ञान युवामा छ’ उनले भने, ’हुने खानेका सन्तान अमेरिका र अस्ट्रेलिया जाने तर नहुनेका छोराछोरी खाडीको ५० डिग्री सेन्टिग्रेड तापक्रममा काम गर्दा बाकसमा लास भएर फर्कनुपर्ने अवस्था छ ।’ यो विपत्ति र अभिशाप कहिलेसम्म भोगिरहने भन्दै उनले रास्वपाको अभियानले यसको समाधान खोज्नुपर्नेमा जोड दिए ।
रास्वपाले भ्रष्टाचार र निष्पक्षताको मुद्दालाई बोध गर्ने विश्वासका साथ आफू कनिष्ठ सदस्यका रूपमा जोडिएको उनले स्पष्ट पारे । गौतम बुद्ध, पृथ्वीनारायण शाह, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारी जस्ता व्यक्तित्वलाई विगतमा राजनीतिको भर्याङ मात्र बनाइएको भन्दै अब रास्वपाले उनीहरूको सत्कार्यलाई अनुसरण गर्नुपर्ने उनको भनाइ छ । उनले हिजो अखण्ड नेपाल पार्टीको समयदेखि जोडिएका साथीहरूसहित आफू विधिवत रूपमा रास्वपामा प्रवेश गरेको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा पनि ठूलो शक्ति रास्वपामा समाहित गराउने संकल्प गरे ।
उनलाई नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेको भन्दै कारबाही गरेका थियो । यसैबिच एकहप्ता अघि मात्र कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरेको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गते बसेको बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीभित्र बृहत् एकता कायम सबैको कारबाही मिनाहा गर्ने निर्णय गरेको थियो । पत्रमा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, उम्मेदवारका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीत काम गरेकाको क्रियाशील सदस्यता निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।









शिवशक्ति माविका प्रधानाध्यापक बास्तोलाको बिदाइ
आदर्श कृषक समूहमा शिवको नेतृत्व
मनास्लुमा १५ हजार विदेशी
‘खाद्य सुरक्षामा सचेतना जरुरी’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया