पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक

पोखरा
महिला अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएकी अधिकारकर्मी तथा संयुक्त राष्ट्रसंघीय निकाय की पूर्व क्षेत्रीय निर्देशक चाँदनी जोशीको नयाँ पुस्तक ‘विभिङ माइ साउथ एशियन टेपेस्ट्री’ शनिबार पोखरामा सार्वजनिक भएको छ ।
जोशी दक्षिण एसियामा महिला सशक्तीकरण र लैंगिक समानताका लागि लामो समयदेखि सक्रिय छिन् । उनले राष्ट्रसंघमा रहेर यस क्षेत्रका महिलाहरूको सामाजिक र आर्थिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गरिन् । उनको यो नयाँ कृतिले दक्षिण एसियाको सामाजिक बनोट, महिलाका संघर्ष र उनको आफ्नै लामो कार्यअनुभवलाई कलात्मक रूपमा समेटेको छ । पुस्तकको शीर्षकमा प्रयोग गरिएको ‘टेपेस्ट्री’ शब्दले दक्षिण एसियाको विविधता र यहाँका कथाहरूलाई एउटा सुन्दर बुट्टाजस्तै उनिएको संकेत गर्छ ।
लेखिका जोशीले पोखरा आफ्नो जीवनको एक विशेष स्थान रहेको बताइन् । उनले यो पुस्तक केवल आफ्नो आत्मकथा मात्र नभएर नेपालका ६५ जिल्लाका विभिन्न कुनाकाप्चा, ४५ देश र लाहोरका गल्लीदेखि बम्बईका बस्तीसम्म पुगेर भोगेका र देखेका आम महिलाका कथाहरूको सँगालो भएको उल्लेख गरिन् । उनले भनिन्, ‘यो कयौँ महिलाहरूको मर्म, साहस र उनीहरूको गौरवगाथा हो । मैले यसमा संघर्षशील महिलाहरूलाई ‘सिरो’ (नायक) को रूपमा प्रस्तुत गरेकी छु ।’ उनले पितृसत्ता पुरुषमा मात्र नभई महिलामा पनि हुन सक्ने र आफ्नो पुस्तकले यस्ता परम्परागत सोचमाथि प्रश्न उठाएको जानकारी दिइन् ।
समारोहमा रामकली खड्काले स्वागत मन्तव्य राखिन् भने सृष्टि जोशी मल्लले लेखिकाको परिचय र व्यक्तित्वमाथि प्रकाश पारिन् । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, डा चन्द्रा भद्रा, महिला विकास अधिकृत पूर्ण श्रेष्ठ र शिक्षासेवी विकल शेरचनले पुस्तकले समेटेका विषय र यसको महत्वका बारेमा आफ्ना धारणा राखे ।
सो अवसरमा आरभ जोशीले कविता वाचन गरेका थिए भने चाँदनी जोशीको जीवन र कार्यमा आधारित एउटा छोटो भिडियो पनि प्रदर्शन गरियो । विकल शेरचनले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सहजीकरण सृष्टि जोशी मल्लले गरेकी थिइन् । यो पुस्तकले दक्षिण एसियाको सामाजिक र राजनीतिक इतिहासलाई नजिकबाट बुझ्न चाहने पाठकहरूका लागि एक महत्वपूर्ण दस्तावेजको काम गर्ने विश्वास गरिएको छ ।









जयलक्ष्मीका सिइओ सुशील केसी सम्मानित
पोखरा महानगरको राजस्व प्रणालीमा समस्या, कर छुटको अवधि बढाउन माग
राजनीति राष्ट्र सेवाको माध्यम हो, पेसा बनाउनु हुँदैन : मीलन थापा
शिवशक्ति माविका प्रधानाध्यापक बास्तोलाको बिदाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया