गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज

समाधान संवाददाता २०८२ पुष २० गते ७:०४

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत ७०६ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। बढ्दो चिसोबाट जोगाउन र विद्यालय जान सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाभित्रका ७ वटा विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी उपलब्ध गराइएको हो।

Advertisement

गाउँ वातावरण नेपालको सहयोगमा गरिएको वितरण कार्यक्रममा माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३ जना र माझथर माविका ३६५ जना विद्यार्थी लाभान्वित भएका छन्। त्यस्तै, भगवती आधारभूत विद्यालय मान्द्रेका ७६, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७ र मूलदेवी आधारभूत विद्यालय ग्याजी हुडिफाँटका ३३ जनालाई कपडा दिइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

अध्यक्ष भट्टका अनुसार धर्मवती आधारभूत विद्यालय भालुस्वाराका १३ र नारदपोखरी आधारभूत विद्यालय तुम्सिकाका ७ जना बालबालिकाले पनि न्यानो कपडा पाएका छन्।

Advertisement

पहाडी ग्रामीण भेगमा जाडोयाममा न्यानो लुगा नहुँदा बालबालिकालाई विद्यालय जान गाह्रो नहोस् भनेर दातासँग समन्वय गरिएको अध्यक्ष भट्टले बताए। ‘चिसोबाट जोगाउन तीन दिनसम्म प्रत्येक विद्यालयमै पुगेर कपडा वितरण गरिएको छ,’ उनले भने।

पर्यटन व्यवसायी एवं समाजसेवी ठाकुर धिताल र बारपाक सुलिकोटका नरबहादुर गुरुङको विशेष पहलमा संस्थासँग समन्वय जुटेको हो। अघिल्लो वर्ष वितरण हुन नसकेका विद्यालयलाई यसपालि छनोट गरी सहयोग उपलब्ध गराइएको बताइएको छ। रासस

Advertisement

तपाईको प्रतिक्रिया