प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम

पोखरा ।
नेकपा (एमाले)ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेद्वार छनोटको लागि प्रक्रिया थालेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेद्वार छान्न शनिबार कास्कीको ३ वटै निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक भएका छन् । कास्कीका ३ क्षेत्रमा उम्मेदवारको आकांक्षा राख्ने ३२ जनामध्ये अधिकतर ५० वर्ष कटेका छन् । ४० मुनिका आकांक्षी देखिएनन् ।

कमिटीहरुले उम्मेद्वार बन्न इच्छुकको नामावली संकलन गरेको एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । एमालेको केन्द्रीय कमिटीले प्रत्यक्षतर्फको निर्वाचनका लागि सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको थियो । सोही अनुरुप एमालेका निर्वाचन क्षेत्र समन्वय कमिटीले उम्मेद्वार छान्न आन्तरिक तयारी गरेका हुन् ।
एमाले निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटी कास्कीको शनिबार भएको विस्तारित बैठकमा उम्मेद्वार बन्न चाहने नेता तथा कार्यकर्ताको नामावली संकलन गरिएको छ । क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षत्री, दिलीप न्यौपाने, मनबहादुर गुरुङ, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउछामगर र नारायणी भट्टराई ‘रक्षा’ले उम्मेद्वार बन्न निवेदन दिएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक दर्शन लामाको अध्यक्षतामा बैठक बसेको हो ।
केन्द्रीय परिपत्र अनुसार हरेक निर्वाचन क्षेत्रबाट पुस २० गतेभित्र क्षेत्रीय कमिटीले १ महिलासहित ३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्छ । महिलातर्फ रक्षाले मात्र निवदेन दर्ता गरेको अवस्थामा कमिटीले अरु २ जनाको नाम सिफारिस गर्नुपर्ने अवस्था छ ।
निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटी कास्कीले केन्द्रले तोके अनुसारको उम्मेद्वारको नामावली पठाउन सहजीकरण समिति बनाएर काम थालेको निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक भेषराज बरालले जानकारी दिए । प्रतिनिधि सभा कास्की क्षेत्र नं २ बाट कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य, झपट रानाभाट र रामप्रसाद सुवेदीले कमिटीको बैठकमा निवेदन दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ समन्वय कमिटी कास्की संयोजक लालबहादुर परियारले शनिबार बसेको विस्तारित बैठकमा महिलातर्फ भोजकुमारी थापासहित १२ जनाले प्रत्यक्षतर्फको उम्मेद्वार बन्न १२ जनाले निवेदन दर्ता गरेको जानकारी दिए । सो निर्वाचन क्षेत्रमा जगतबहादुर विश्वकर्मा, राजीव पहारी, दामोदर बैरागी, देवीप्रसाद सुवेदी, डिबी नेपाली, सूर्य खड्का बिखर्ची, माधव बास्तोला, लक्ष्मण बराल, नन्दलाल अधिकारी, धनबहादुर नेपाली, कर्णबहादुर गुरुङ र ओमप्रसाद सुुवेदीले उम्मेद्वार बन्न कमिटीमा नाम दर्ता गराएका छन् ।
हरेक निर्वाचन क्षेत्र समन्वय कमिटीबाट सिफारिस भएर आएका नामावली हेरेर आवश्यक परेमा रायसहित जिल्ला कमिटी कास्कीले पुस २२ गतेभित्र गण्डकी प्रदेश कमिटी पठाउने अध्यक्ष अधिकारीले बताए । पार्टीको गण्डकी प्रदेश कमिटीले आगामी पुस २४ गतेसम्ममा आवश्यक भएमा रायसहित केन्द्रमा नाम पठाउनेछ । हरेक निर्वाचन क्षेत्रले सिफारिस गरेका उम्मेद्वारको अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनको प्रत्यक्षतर्फ आगामी माघ ६ गतेसम्म उम्मेद्वारी दर्ताको कार्यसूची प्रकाशन गरेको छ ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया