जयलक्ष्मीका सिइओ सुशील केसी सम्मानित

समाधान संवाददाता २०८२ पुष २० गते १५:११

पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडले प्रदान गर्ने ‘एफ डब्लु राइफाइजन अवार्ड’ बाट जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील केसी सम्मानित भएका छन् । संघको २५ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार केसीलाई उत्कृष्ट व्यवस्थापक विधा अन्तर्गत सो अवार्ड प्रदान गरिएको हो । उनी विगत ५ वर्षदेखि पोखरामा कार्यालय रहेको जयलक्ष्मी बचत तथा ऋण सहकारीमा सिइओका रूपमा कार्यरत छन् ।

Advertisement


केसी २०६३ सालमा जयमनकामना बचत तथा ऋण सहकारी संस्थाबाट कार्यालय व्यवस्थापकका रूपमा सहकारी क्षेत्रमा प्रवेश गरेका थिए । २०७२ सालमा तत्कालीन जयलक्ष्मी कृषि सहकारी संस्थाको संस्थापक सचिव तथा प्रबन्ध सञ्चालक रहेका उनी पछिल्लो समय जयलक्ष्मी बचत तथा ऋण सहकारीमा व्यावसायिक नेतृत्व गरिरहेका छन् ।

सहकारी अभियानमा उतारचढाव आए पनि विचलित नभई धैर्यका साथ सदस्यको सेवामा लाग्दा सफलता प्राप्त हुने अनुभव केसीले सुनाए । ‘सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्यामा नियामक निकायको नीति र विधि अनुसार समुदाय केन्द्रित भएर चल्ने हो भने कुनै समस्या हुँदैन,’ केसीले भने ।

Advertisement

केसीका अनुसार सदस्यलाई संस्थाको अवस्थाबारे स्पष्ट बुझाउन सके देशको आर्थिक संकटका बेला पनि सहकारीहरू थप अब्बल भएर अगाडि बढ्ने छन् । उनले सहकारीहरूले आफ्नो मूल्य र मान्यतालाई आत्मसात् गर्दै सदस्यहरूको विश्वास जित्नुपर्नेमा जोड दिए । क्षणिक लाभमा नलागी निरन्तर सदस्यको हितमा काम गर्ने हो भने उपलब्धि हात पर्ने उनको भनाइ थियो । केसीलाई प्रदान गरिएको यो अवार्डले सहकारी व्यवस्थापनमा सक्रिय युवा पुस्तालाई थप उत्साहित बनाउने विश्वास गरिएको छ ।

हाल उनी कार्यरत संस्थाको प्रधान कार्यालय पोखरा–११ रानीपौवामा रहेको छ । संस्थाले पोखरा–१९ लामाचौर र माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला गरी दुईवटा सेवा केन्द्रमार्फत कारोबार गर्दै आएको छ । २ हजार ५ सय सेयर सदस्य रहेको यस सहकारीमा ३८ करोड रुपैयाँको कुल कारोबार हुने गरेको छ । सहकारी संस्थामा हाल १५ जना कर्मचारी कार्यरत रहेको केसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया