मुक्तिनाथ विकास बैंक २० औँ वर्षमा, कृषिमा लगानी बढाउन ‘एग्रिफाइनान्स ३६०’ कार्यक्रम

समाधान संवाददाता २०८२ पुष २० गते १५:२३

पोखरा । मुक्तिनाथ विकास बैंक २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ कार्यक्रम आयोजना गरिएको छ। पुस २० गते काठमाडौँमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले कृषि क्षेत्रको समग्र विस्तारका लागि सबै सरोकारवालामा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए। कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बिमा, मूल्य शृङ्खलामा समन्वय र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने परियारको भनाइ थियो।

Advertisement

मन्त्री परियारले महिलामैत्री कृषि विकास गरिनुपर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारी व्यवस्था गर्नुपर्ने र साना किसानको वित्तीय पहुँच विस्तार गर्नुपर्ने बताए। सरकारले नयाँ कृषि नीति छिट्टै ल्याउन लागेकाले कृषिका विविध समस्या समाधान हुने अपेक्षा उनले व्यक्त गरे। कार्यक्रममा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले पहिले राज्य आफैँले मूल्य शृङ्खला विकास गर्ने प्रयास गरे पनि निजीकरणपछि त्यो कडी तोडिएको बताए। अब बैंक तथा वित्तीय संस्थाले कृषिसम्बन्धी आफ्नै सहायक कम्पनी खोल्न कदम चाल्नुपर्ने उनले सुझाव दिए। यसका लागि नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्न समेत उनले अनुरोध गरे।

बैंकिङ विशेषज्ञ अजय श्रेष्ठले कृषि ऋणमा रहेको उच्च जोखिम, कमजोर कर्जा गुणस्तर र संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औँल्याए। सोही अवसरमा ‘नेपाल कृषि उद्यमहरूमा कसरी फस्टाउन सक्छ’ भन्ने शीर्षकमा अन्तर्क्रिया समेत भएको थियो। उक्त छलफलमा बैंकिङ विशेषज्ञ भुवन दाहाल, राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत र कृषि उद्यमी विमला आचार्य दाहाल सहभागी थिए।

Advertisement

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्ल, सञ्चालक उमेशकुमार आचार्य र सिइओ प्रद्युम्न पोखरेलले बैंकको २० वर्षको यात्रा र आगामी योजनाबारे जानकारी दिए। राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा र प्रवक्ता गुरुप्रसाद पौडेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकले आगामी दिनमा कृषि क्षेत्रलाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। दुई दशकको यात्रा पूरा गरेको यस बैंकले ग्रामीण क्षेत्रका किसानसम्म वित्तीय पहुँच पुर्‍याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Advertisement

तपाईको प्रतिक्रिया