तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर

समाधान संवाददाता २०८२ पुष २० गते १५:४८
फाइल फोटो

पोखरा । पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रुपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

Advertisement

अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा रु दुई करोडबराबरको कारोबार भएको उनले जानकारी दिए । “महानगरपालिकाले तरबुजाखेतीलाई व्यावसायिक रुपमै अघि बढाउने गरी अनुदानका कार्यक्रम पनि अघि बढाएको छ”, उनले भने, “यस वर्ष तरबुजाखेती गर्न चाहने किसानलाई बीउ र मल्चिङका लागि ५० प्रतिशत अनुदानको कार्यक्रम पनि राखिएको छ ।”

अघिल्लो वर्ष वडा नं १३ मा मात्रै करिब १०० रोपनी क्षेत्रमा तरबुुजाखेती गरिएको जानकारी दिँदै उनले तरबुजा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा उपस्थित गराउनका लागि उक्त वडामा तरबुजा मेलासमेत सम्पन्न गरिएको बताए । उनका अनुुसार उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ३५ तोकेको छ ।

Advertisement

महानगरपालिकाले समुदायसँगको सहकार्यमा यस वर्ष तरबुजाका विभिन्न प्रजातिको परीक्षणसमेत गर्न लागेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए । रासस

Advertisement

तपाईको प्रतिक्रिया