लेखफाँटका घर घरमा खानेपानी

समाधान संवाददाता २०८२ पुष २० गते १६:३७

पोखरा । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ को लेखफाँटमा हरेक घर घरमा खानेपानी पानी पुगेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको पहलमा सञ्चालित सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाबाट ६९ घरधुरीमा खानेपानीको धारा जडान गरिएको हो ।

Advertisement


गाउँभन्दा तलको फुस्रेखोलाको मुहानबाट लिफ्टिङ गरी ल्याएको खानेपानी योजना अन्तर्गत वडा भवन, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर र सामुदायिक भवनमा समेत १/१ धारा जडान गरिएको रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् । खानेपानी परियोजनाबाट अनुमानित ४ सय १८ जनसंख्या लाभान्वित भएका छन् ।


दातृ निकाय युनिका फाउन्डेसन दि नेदरल्यान्ड तथा जलजला गाउँपालिकाको आर्थिक सहयोगमा करिब २ वर्षको अवधिमा निर्माण भएको खानेपानी परियोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

दातृ निकाय युनिकाबाट १ करोड २१ लाख ४५ हजार ४ सय ३३, जलजला गाउँपालिकाबाट २२ लाख २ हजार ६ सय ९, स्थानीय समुदायको जनश्रमदान ४६ लाख २० हजार ६ सय ६० र रेडक्रस कास्कीको ६ लाख ३० हजार गरी कुल १ करोड ९५ लाख ९८ हजार ८ सय १४ रुपैयाँको लागतमा खानेपानी परियोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।


गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले हरेक घरधुरीमा खानेपानीको धारा पुर्‍याउने गण्डकी प्रदेश सरकारको अभियानमा रेडक्रस कास्कीले साथ दिएको बताए । खानेपानीको लागि स्थानीय समुदाय तीर्खाएर खोली धाएको उल्लेख गर्दै उनले
खानेपानी आयोजनाले स्थानीय समुदायको जनजीवनमा सहजता ल्याउने र कृषि उत्पादन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खानेपानीको संरक्षण र व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै उनले मर्मत कोषमा प्रदेश सरकारबाट केही रकम व्यवस्थापन गर्ने आश्वासन दिए ।

Advertisement


युनिका फाउन्डेसन दि नेदरल्यान्डका राष्ट्रिय निर्देशक रमेश पौडेलले खानेपानीसँगै सरसफाइ आयोजना जोडिएकाले टोल बस्ती सफा हुनुपर्ने सुझाव दिए । आयोजनाबाट सरसफाइ सुनिश्चित हुनुपर्ने चर्चा गर्दै उनले करेसाबारीमा तरकारी खेतीका अलवा पानीको बहुप्रयोग गर्न अनुरोध गरे । खानेपानीको मर्मत कोषको व्यवस्थापन गर्न आग्रह गर्दै उनले परियोजना २० वर्ष चल्नुपर्ने बताए ।


रेडक्रस कास्की शाखाका सभापति खड्काले खानेपानी अभाव भएका दूरदराजका क्षेत्रमा मानवीय सेवा अन्तर्गत खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेको जानकारी दिइन् । उनले समुदाय विकास कार्यक्रम अन्तर्गत खानेपानी, सरसफाइ र सुधारिएको चुलोको काम गरेको बताइन् ।


कार्यक्रममा रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, रेडक्रस कास्कीका खानेपानी तथा सरसफाइ परियोजना प्रमुख कल्पना ज्ञवाली, जलजला गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष तिलकबहादुर जिसी, लेखफाँट लिफ्टिङ खानेपानी सरसफाइ उपभोक्ता समितिकाका अध्यक्ष ओमप्रसाद रेग्मी, सचिव यम शर्मा पौडेल, सदस्य अरुणदत्त पौडेल लगायतले खानेपानी परियोजनाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया