स्याङ्जाली तमु समाजको ल्होसार

लेखनाथ । स्याङ्जा जिल्लाको विभिन्न ठाउँबाट पोखरा महानगरपालिका वडा नम्बर २६ मा बसोबास गर्दै आएका गुरुङ समुदायले सामूहिक रूपमा ल्होसार पर्व मनाएका छन् ।
स्याङ्जाली तमु समाजको आयोजनामा शनिबार सर्प वर्ग (सप्ह्री ल्हो) लाई बिदाइ र घोडा वर्ग (त ल्हो) लाई स्वागत गर्दै ल्होसार मनाइएको हो । २०५६ सालमा स्थापना भएको समाजमा आबद्ध १ सय ३५ घरधुरीको सहभागितामा विविध सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरियो ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको उदघाटन गर्दै तमु ल्होसारलाई जनजातिको विशेष पर्वका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । उनले नेपाल र नेपालीको असली सम्पत्ति भनेकै भाषा, भेषभुषा र मौलिक संस्कृति भएको भन्दै यसको जगेर्ना गर्नु सबैको कर्तव्य भएको धारणा राखे ।
कार्यक्रममा गेसोका पूर्व सभापति पदमबहादुर गुरुङले लामो समयदेखि उत्पीडनमा परेका नेपालीको मुक्ति आन्दोलनका लागि गेसोले आवाज उठाउँदै आएको स्मरण गरे । लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष राजु गुरुङले गुरुङ समुदायले आफ्नो भेषभुषा र भाषालाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
पोखरा–२६ का वडासदस्य सुदिपराज ढुंगानाले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए ।
स्याङ्जाली तमु समाजका अध्यक्ष सुवेदार टौबहादुर गुरुङले आफ्नो भाषा र संस्कृतिसँगै ल्होसार जस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला आएको बताए । संस्थाका निवर्तमान अध्यक्ष नेमबहादुर गुरुङले आफ्नो संस्कृति जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा प्लस टु, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू, समाजमा प्रवेश गरेका नयाँ सदस्य, आजीवन सदस्य तथा सहयोगदाताहरूलाई समेत सम्मान गरियो ।
सहभागीले गुरुङ पहिरनमा सजिएर मौलिक सांस्कृतिक नाचगान प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष सुवेदार टौबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा आमा समूहकी अध्यक्ष कृष्णकुमारी गुरुङले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव सुवेदार श्यामबहादुर गुरुङले गरेका थिए ।









नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया