नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ

समाधान संवाददाता २०८२ पुष २१ गते १७:५७

पोखरा । काठमाडौंको गोकर्णेश्वरबाट सुरु भएको नक्कली नोट कारोबारको अनुसन्धानका क्रममा प्रहरीले भारतबाट नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले जिल्ला प्रहरी कार्यालय बारासँगको समन्वयमा नक्कली नोट बनाउने गिरोहका मुख्य व्यक्ति मानिएका बारा फेटा गाउँपालिका ३ घर भई भारतको मोतिहारी लाला टोलको पतौना बस्ने २८ वर्षका रबि कुमार श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

यसअघि गत पुस १६ गते गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोकबाट १ हजार रुपैयाँ दरका ९३ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका थिए । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेकै अवस्थामा बारा कलैया उपमहानगरपालिका २ कबलपुर बस्ने २८ वर्षका गौरी शंकर यादवको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । यादवसँगको सोधपुछका क्रममा रबि कुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको र पुस २० गते ती नोट छाप्न आवश्यक सामाग्री नेपाल ल्याउन लागेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

सूचनाका आधारमा खटिएको प्रहरी टोलीले श्रीवास्तवलाई बीआर०५एएफ२५११ नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलको पछाडि सिटमा सामान लोड गरी नेपालतर्फ आउँदै गर्दा नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले ५ वटा गड्डीमा रहेका ५०० दरका ३१७ थान भारतीय नोट र नक्कली नोट छाप्न प्रयोग हुने विभिन्न विद्युतीय उपकरणहरू बरामद गरेको छ । बरामद गरिएका सामग्रीहरूमा एउटा एलजी कम्पनीको मोनिटर, १/१ थान जेब आयन लेखिएको कीबोर्ड, हेड फोन र माउस रहेका छन् ।

Advertisement

त्यस्तै प्रहरीले १० थान केवल तार, १ थान भिभो कम्पनीको मोबाइल, १ थान एचपी कम्पनीको कलर प्रिन्टर, १ थान फिङ्गर्स लेखिएको सिपियू र १ थान एम अडियो लेखिएको बक्स समेत फेला पारेको छ । श्रीवास्तवको साथबाट ८ थान एचपी ११९ए सायन लेजर टोनर र १ थान युएस ९ एमएम एम९ पि बरेटा लेखिएको नक्कली पेस्तोल समेत बरामद भएको छ ।

खानतलासीका क्रममा लालीगुराँसको वाटरमार्क छापिएको र १००० लेखिएको १८० थान कागज तथा ७५ थान सादा कागज गरी जम्मा २५५ थान कागज समेत फेला परेको छ । नक्कली नोट छाप्ने मेसिन, बनाउने कम्प्युटर लगायतका उपकरणहरू भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरू र बरामद गरिएका सामाग्रीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया