एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि

समाधान संवाददाता २०८२ पुष २१ गते १८:५१

पोखरा । विभागीय टोली एपीएफ क्लबले ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । लमजुङको बेसीसहरस्थित त्रिवेणी रंगशालामा सोमबार भएको फाइनल खेलमा नाल्माको लाङदीदेवी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले दोस्रोपटक उपाधि जितेको हो । उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको नाल्माले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Advertisement

एपीएफलाई उपाधि दिलाउन युवराज खड्का र प्रदीप लामाले १–१ गोल गरे । खेलको ७७औँ मिनेटमा युवराजको गोलमार्फत एपीएफले सुरुवाती अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै टोलीको २–० को सहज जित पक्का गरे । करिब ७ वर्षपछि एपीएफमा फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै टोलीलाई उपाधि चुमाउन सफल भए । यसअघि गत संस्करणमा एपीएफले बीवाइसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो ।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ एपीएफका युवराज खड्का घोषित भए र उनले १० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि एपीएफकै खेलाडीको वर्चस्व रह्यो । एपीएफका प्रदीप लामा र समिर थोकर सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरू दुवैले प्रतियोगिताभर समान ३ गोल गरेका थिए । त्यस्तै एपीएफकै एन्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर र सन्तोष खत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

Advertisement

नाल्माले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । एपीएफले भने लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पन्छाउँदै फाइनलमा स्थान बनाएको थियो । यो जितसँगै एपीएफले मोफसलको प्रतिष्ठित प्रतियोगितामा आफ्नो बलियो उपस्थिति पुनः प्रमाणित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया