कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र

पोखरा । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरू र संस्थापन पक्षबीचको विवाद सोमबार झनै उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशनको मागसहित ध्यानाकर्षण पत्र बुझाउन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका असन्तुष्ट पक्षका नेताहरूलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भेट दिन अस्वीकार गरेपछि परिस्थिति तनावपूर्ण बनेको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका खड्काले पत्र नबुझी कार्यालयबाट बाहिरिएपछि नेताहरूले आक्रोश व्यक्त गरेका छन् ।
विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसे नेतृत्वको टोलीले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत कार्यवाहक सभापतिलाई भेट्न समय मागेको थियो । तर खड्काले समय नदिएपछि नेताहरूले पार्टी कार्यालयका कर्मचारीलाई पत्र दर्ता गर्न आग्रह गरेका थिए । कर्मचारीले समेत माथिको आदेश नभएको भन्दै पत्र दर्ता गर्न आनाकानी गरेको सहभागी एक नेताले बताए । ‘हामीले ध्यानाकर्षण पत्र बुझाउन खोज्दा कार्यवाहक सभापति पन्छिनुभयो, कर्मचारीले समेत दर्ता गर्न माथि सोध्नुपर्छ भन्दै आलटाल गरे,’ ती नेताले भने ।
पार्टी विधानको व्यवस्थालाई नेतृत्वले लत्याएको असन्तुष्ट पक्षको आरोप छ । गत असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै खड्कालाई हस्ताक्षर बुझाइसकेका थिए । विधानको धारा १७ को उपधारा २ बमोजिम हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर, नेतृत्वले सो प्रक्रिया अघि नबढाएपछि दबाब दिन नेताहरू सानेपा पुगेका हुन् । विशेष महाधिवेशन पक्षधरले आगामी पुस २७ गतेदेखि अधिवेशन सुरु गर्ने भन्दै भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन् ।
कार्यवाहक सभापतिले पत्र नबुझेपछि नेता देवराज चालिसेले पार्टी कार्यालय बाहिरै ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए । उनले विधानको मर्यादा कायम राख्न नेतृत्व असफल भएको टिप्पणी गरे । ‘विधानको कुन धाराको अधिकार प्रयोग गरेर विशेष महाधिवेशनको औचित्य छैन भन्ने एकतर्फी निर्णय गरियो ?’ चालिसेले प्रश्न गरे । उनले आगामी पुस २८ गतेभित्रै विशेष महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिँदै गत पुस १८ गते केन्द्रीय समितिले आगामी वैशाखमा महाधिवेशन गर्ने भनी गरेको निर्णय त्रुटिपूर्ण रहेको दाबी गरे ।
यता संस्थापन पक्ष भने अहिलेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको अडानमा छ । सभापति शेरबहादुर देउवानिकट एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले अहिले पार्टीको सम्पूर्ण ध्यान आगामी चुनावमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘विशेष महाधिवेशनको मागको अहिले कुनै अर्थ छैन, हामी यसलाई हुन दिँदैनौँ । हस्ताक्षर गरेका धेरै साथीहरूलाई हस्ताक्षर फिर्ता गराउने जिम्मेवारी हामीले पाइसकेका छौँ ।’
आगामी चुनाव र महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्रको आन्तरिक कलह थप बढ्ने देखिएको छ । असन्तुष्ट पक्षले विधानको रक्षाका लागि ५४ प्रतिशत प्रतिनिधिको भावनालाई कदर गर्नुपर्ने बताउँदै आएको छ भने संस्थापन पक्षले यसलाई चुनावी अभियानमा अवरोधका रूपमा लिएको छ । सोमबारको घटनाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र संवादको वातावरणमा थप दरार पैदा गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।










चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया