चुनाव आउन ५८ दिन बाँकी

सामाजिक सञ्जालबाट हुने दुष्प्रचार रोक्न विशेष संयन्त्र बनाइने

समाधान संवाददाता २०८२ पुष २२ गते ६:३१

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आउन ५८ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने तयारी गरेको छ। मंगलबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण जानकारी रोक्न विशेष संयन्त्र बनाउनुपर्ने निष्कर्ष निकालेको हो।

Advertisement

‘निर्वाचन आचारसंहिता, २०८२’ को दफा २६ बमोजिम गठित समितिको बैठकले सूचना प्रविधिको प्रयोगले थपेका चुनौती नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक विधिलाई एकसाथ अघि बढाउने सहमति भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा सरोकारवाला निकायबीचको सहकार्य र कानुनले तोकेका नियामक निकायको भूमिकाबारे छलफल भएको थियो।

Advertisement

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय चुनौतीपूर्ण र महत्वपूर्ण भएको बताए। उनले भने, ‘आयोगले सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ। प्रविधि दुरुपयोग रोक्न नियामक, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहकार्य अपरिहार्य छ।’

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गरिने जानकारी दिइन्। उनले निर्वाचनका बेला फैलिने मिथ्या सूचना न्यूनीकरणमा आयोग सचेत रहेको बताइन्।

Advertisement

समिति संयोजक जबराले विगतका कमजोरी सुधार्दै यसपटक आचारसंहिता कार्यान्वयनमा गुणात्मक नतिजा देखिने दाबी गरे। निर्वाचनको स्वच्छताका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै पक्षसँग सहकार्य गरिने उनले स्पष्ट पारे।

बैठकमा निर्वाचन आयोगका पदाधिकारीसहित विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।रासस

तपाईको प्रतिक्रिया