पोखरा–मुग्लिन सडक : बाटो सहज, म्याद थप

समाधान संवाददाता २०८२ पुष २२ गते ११:२०

पोखरा। पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ । पूर्वी खण्डको मादी नदीको पुलबाहेक अरु काम करिब सकिएको छ भने पश्चिम खण्डमा पनि पहिलो चरणको कालोपत्र भएको छ ।

Advertisement


पूर्वी खण्डको भौतिक प्रगति ९० प्रतिशत र पश्चिम खण्डको भौतिक प्रगति ७४.४८ प्रतिशत पुगेको छ । पश्चिम खण्डको म्याद यही पुस १४ गते छ महिना थप भएको छ । पूर्वी खण्डको ३८.८ किमी सडकमध्ये ३७.५ किमीमा पहिलो चरणको कालोपत्र भइसकेको छ । पोखरा विश्वविद्यालयअघिको सडक र विजयपुरको पुल आसपासमात्र पहिलो चरणको कालोपत्र हुन बाँकी छ ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरले ३४ किमीमा दोस्रो चरणको कालोपत्रे अर्थात् अस्फाल्ट पिच भइसकेको जानकारी दिनुभयो । ‘पहिलो चरणको कालोपत्र करिब सकिएको छ, दोस्रो चरणको कालोपत्र पनि धेरै बाँकी छैन,’ आयोजना प्रमुख कुँवर भन्छन्, ‘विजयपुर पुल र चाइना पुलको कामको गति पनि सन्तोषजनक छ ।’


विजयपुरको पुलमा ग्रिडर राखिसकिएको छ भने पुल ढलान र पहुँच सडक निर्माणको काम बाँकी छ । यही जनवरीभित्रै आवश्यक काम सकेर पुल सञ्चालनमा आउने कुँवरले जानकारी दिए । पृथ्वीचोकको चाइनापुलको प्रगति ५४ प्रतिशत पुगेको छ । सडकको सर्भिस लेनका केही काम बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख कुँवरले थपिएको म्याद अगावै काम सक्ने गरी लागिपरेको उल्लेख गरे ।

Advertisement


पुलका केही सामान चीनबाट आयात गर्नुपर्ने र ती सामान बाटोमा रहेको उनले जनाए । पृथ्वीचोकमा अहिलेको पुलको तल र माथि दुई÷दुई लेनका सिग्नेचर पुल बन्दै छन् । राजमार्गको पश्चिम खण्डमा तेस्रो पटक म्याद थप भएको हो । २०७८ जेठमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले तीन महिनापछि मात्र काम थालेको थियो । यो खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख छ ।


निर्माण कम्पनीको ढिलाइ, केही घर, टहराको र बिजुलीका पोलहरु सार्न बाँकी हुँदा निर्माण प्रभावित भएको थियो । अहिले सबै खालका अवरोध हटिसकेका छन् । पोखरा महानगरभित्र बाँकी रहेका ठाउँमा अहिले धमाधम कालोपत्र गरिँदै छ ।
पश्चिम खण्डमा १३ पुल रहेकोमा ११ पुल तयार भइसकेका छन् । पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा ४६ मिटर र जामुनेदेखि कुम्ले खोलासम्म सडक १८ मिटरको बनाइएको छ । बाँकी सडक २३ मिटर चौडा छ ।

Advertisement

पूर्वी खण्डमा ९० प्रतिशत र पश्चिम खण्डमा ७४ प्रतिशत प्रगति छ । अहिलेकै गतिका काम भए यही आर्थिक वर्षभित्र आयोजन सकिन्छ ।

पर्यटन राजधानी पोखरालाई पूर्वी नेपाल र राजधानी काठमाडौंसँग जोड्ने यो सडक स्तरोन्नति सकिएपछि पर्यटन क्षेत्र र प्रदेशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यही राजमार्ग हुँदै तराईको बाटोबाट भारतीय पर्यटक, राजधानीबाट विदेशी र देशका विभिन्न क्षेत्रबाट पोखरा आउने पर्यटकले बाटोमा निकै सास्ती पाएको गुनासो गर्दै आएका थिए ।


मादी पुलको प्रगति ७४ प्रतिशत
आयोजना अन्तर्गत पूर्वी खण्डमा मादी नदीको पुल निर्माण जारी छ भने बाटोको फिनिसिङका केही काम बाँकी छन् । यो खण्डको भौतिक प्रगति ९० प्रतिशत छ भने पुलको पछिल्लो प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पूर्वी खण्डको राजमार्ग स्तरोन्नति करिब सकिएको जानकारी दिए ।


‘राजमार्ग निर्माणको काम करिब सकिएको होे । मादी पुल पनि यही वर्ष सकिन्छ,’ उनले भने, ‘डेढ वर्षसम्मको मर्मत पनि आयोजनामै जोडिने हुँदा प्रगति केही कम देखिएको हो । अब सडकको काम बाँकी छैन । फिनिसिङका केही काम बाँकी छन् ।’ राजमार्गमा चलिरहने काम र मर्मतका कामले प्रगति ९० प्रतिशत देखिए पनि काम खासै बाँकी नरहेको उनको भनाइ छ ।


यो खण्डमा मादी नदीको पुल भने अलग्गै ठेक्कामा लगाइएको हो । मादीमा बनिरहेको सग्नेचर पुलको म्याद असार १९ गतेसम्म छ । अहिलेकै तवरले काम भएमा असारअगावै पुल निर्माण भइसक्ने उनको भनाइ छ । पूर्वी खण्ड ४१.४५ किमी छ । यो खण्डमा बन्ने १७ पुल बनिसकेका छन् । यो खण्डको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाखमा पाएको हो ।

तपाईको प्रतिक्रिया