एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?

समाधान संवाददाता २०८२ पुष २२ गते १३:२०

काठमाडौं,

Advertisement

नेकपा एमालेले गण्डकी प्रदेशको कमान्ड खगराज अधिकारीलाई सुम्पिएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा संयोजक तोक्ने क्रममा गण्डकीको मुख्य जिम्मेवारी अधिकारीलाई दिएको हो । आगामी निर्वाचन र प्रदेशको संगठन सञ्चालनमा केन्द्रित हुनेगरी एमालेले नेताहरूको कार्यविभाजन गरेको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको बताए । जिम्मेवारी बाँडफाँटबारे जानकारी दिँदै भट्टले भने, ‘आजको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको छ ।’ एमालेले पार्टी संगठनलाई थप चलायमान बनाउन नेताहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।

Advertisement

गण्डकीमा अधिकारीले जिम्मेवारी पाउँदा कोशी प्रदेशको संयोजकमा शेरधन राई तोकिएका छन् । मधेश प्रदेशको जिम्मेवारी लीलानाथ श्रेष्ठले पाएका छन् । एमालेले बागमती प्रदेशको संयोजकको जिम्मा भने महेश बस्नेतलाई दिएको छ । राजधानी (उपत्यका) को विशेष जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा यामलाल कँडेलले संयोजकको भूमिका निर्वाह गर्ने छन् । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी गणेश ठगुन्नालाई दिइएको छ । भौगोलिक प्रदेशबाहेक महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी भने भानुभक्त ढकालले पाएका छन् । तोकिएका संयोजकहरूले तत्कालै आफ्नो कार्यक्षेत्रमा खटिएर काम सुरु गर्ने एमालेले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया