म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि पुस २१ गते झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले गुणस्तरहीन ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन् ।
स्थानीय बासिन्दाले गुणस्तरका बारेमा गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा ढलानमा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । ‘निर्माणस्थलमा तयार पारिएको मसलाको मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो’, उनले भने, ‘निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् ।’ उनले निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन समेत दिएका छन् ।
स्थानीय बासिन्दा विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शंका लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेको बताए । उनले भिडियो खिचेर सामाजिक संजाल मार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएपछि अनुगमन टोली त्यहाँ पुगेको थियो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडक अन्तर्गत धारापानी देखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाख रुपैयाँमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको बताए । उनले आगामी दिनमा गुणस्तर र मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता समेत जनाए । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरका विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि ठेकेदारका कारण कमजोरी देखिएको बताए ।
गण्डकी प्रदेश सरकार मार्फत संचालित यस आयोजना म्याग्दीको रणनीतिक महत्त्वको र प्राथमिकता प्राप्त योजना हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब ६ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यसअघि यो सडक ४ देखि ५ मिटर मात्र फराकिलो थियो ।
यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी र मच्छिम–मुना खण्डमा अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८० लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको अर्को योजनाको निर्माण पनि सुरु भएको छ । म्याग्दीको मंगला, मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आउजाउ गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्त्वको मानिएको छ । धवलागिरिको केन्द्र मुना देखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक संजालमा जोडिएको छ । रासस









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया