नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी

समाधान संवाददाता २०८२ पुष २२ गते १७:४१

पोखरा । पद्या प्रेम थिएटरको तेस्रो प्रस्तुति नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’को मञ्चनको तयारीमा छ । नाटक यहीं पुसको २४ गते बिहीबारदेखि २७ गते आइतबारसम्म पोखरा थियटर गैरापाटनमा मञ्चन हुने थियटरका अध्यक्ष सावित्रा पाठक (सबु)ले जानकारी दिइन् । नाटक हरेक दिन बेलुका ५ बजेबाट मञ्चन हुँदैछ । नाटक मञ्चन हुने ४ मध्ये शनिबार दिउसो १ बजे मञ्चन हुने अध्यक्ष पाठकले बताइन् ।

Advertisement


नाटकको निर्देशन पञ्चसुब्बा गुरुङ र शीतला अधिकारीले गरेका छन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, प्रदीप गौतम (प्रमोद), प्रतिमा गुरुङ लगायतका कलाकारको अभिनय हेर्न पाइने अध्यक्ष पाठकले जनाइन् । नेपथ्यमा मञ्च परिकल्पनाकार र प्रकाश पञ्चसुब्बा गुरुङ, पोष्टर डिजाइन सुरक्षा दाहाल, संगीत जय चापागाइँ र व्यवस्थापन पाठक स्वयंको रहेको छ ।


नाटकको कथा लेखेकी अध्यक्ष पाठकले नाटक पोखराको मध्यम वर्गिय एकल आमाको घरको कथामा केन्द्रीत रहेको बताइन् । ‘सामाजिक यथार्थ विषयवस्तुलाई नाटक केन्द्रीत छ, ’उनले भनिन्, ‘छोरा छोरीलाई आमाले सम्हाल्दा सम्हाल्दै पनि गलत बाटोमा जान्छन् । त्यस्तो गलत बाटोले समाजमा निम्ताउन सक्ने घटनालाई जस्ताको तस्तै देखाउन खोजिएको छ ।’ उनले विषेश गरेर युवा तथा उनीहरूका अभिभावकलाई लक्षित गरेर तयार पारिएको नाटक १ घण्टा अवधिको हुने बताइन् ।

Advertisement


नाटकका निर्देशक गुरुङले नाटकले एकल महिलाले सन्तान हुर्काउन गरेको दुःख मात्र नभएर आइपरेका विभिन्न घटना क्रमलाई आकर्षक ढंगले पस्कने प्रयास गरेको जनाए । उनले छोराछोरी कुलतमा फस्न सक्ने सवालदेखि अनेक खाले हिंसा, साइबर क्राइम लगायतका विषय समावेश गरिएको बताए । नाटकमा वैदेशिक रोजगारमा जाने बेलामा भएको ठगी समेतलाई औँल्याउने प्रयास गरेको उनले उल्लेख गरे ।

‘संस्कृतिको पहिचान हाम्रो अभियान’ भन्ने उद्देश्य सहित पद्या प्रेम थिएटर २०८० भदौ २९ गते स्थापना भएको हो । विस २०८०मा ‘धनिरामको गोरु’ नाटक मञ्चन गरेको थिएटरले २०८१मा ‘जानकी’ नाटक मञ्चन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया