पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने २२औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली खेलकुद क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने यो अवार्ड कार्यक्रमको इतिहासमै पहिलोपटक काठमाडौं उपत्यकाबाहिर पोखरामा हुन लागेको हो।
अवार्डको पूर्वसन्ध्यामा पोखरामा आयोजित ‘स्पोर्ट्स समिट’ मा ट्वान्टी–२० विश्वकपको ट्रफीसमेत प्रदर्शन गरिएको छ। फेब्रुअरीमा भारत र श्रीलंकामा आयोजना हुने विश्वकपको ट्रफी नेपाल ल्याइएको सन्दर्भ पारेर पोखरामा सार्वजनिक गरिएको हो।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू उत्साहित रहेको बताए। उनले भने, ‘सुरुमा मोफसलमा अवार्ड गर्दा चुनौती होला जस्तो लागेको थियो। तर, पोखरा आएपछि हामीले चुनौतीभन्दा बढी अवसर देखेका छौं। अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य बन्नेछ।’
मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबि आस्था मगरले अवार्ड आयोजनाले पोखराको खेलकुद इतिहासमा नयाँ अध्याय थपिएको बताए। ‘पोखरा सहर स्पोर्ट्स हबका रूपमा स्थापित हुँदै आएको छ,’ उनले भने, ‘यो अवार्डले पोखराको खेल क्षेत्रलाई अझ फराकिलो बनाएको छ।’
१० विधामा सम्मान
पोखरा सभागृहमा हुने कार्यक्रममा यसपटक पनि १० विधामा अवार्ड प्रदान गरिनेछ। वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
चर्चामा रहने पिपल्स च्वाइस अवार्डको मनोनयनमा उसुका विजय सिञ्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन्। अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुप र ‘पावर्ड बाई’ मा यती एयरलाइन्स छन्। भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्। पोखरा महानगरपालिकाले कार्यक्रमको प्रवर्द्धन गरेको छ।
खेल पर्यटन र अर्थतन्त्रमा बहस
अवार्डको पूर्वसन्ध्यामा म्याजेस्टिक होटलमा आयोजित ‘स्पोर्ट्स समिट’ मा ‘पोखरामा खेल पर्यटन र अर्थतन्त्र’ विषयक प्यानल डिस्कसन सम्पन्न भएको छ। पत्रकार दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेको बहसमा वक्ताहरूले पोखरामा खेलकुदको प्रचुर सम्भावना भए पनि पूर्वाधारको उचित प्रयोग हुन नसकेको बताए।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले पर्यटन प्रवर्द्धनका लागि खेलकुद नयाँ आयाम बन्न सक्ने बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव टंकलाल घिसिङले खेल पर्यटनको विकासका लागि निजी क्षेत्रको प्रत्यक्ष सहभागिता र स्पष्ट नीतिको आवश्यकता औंल्याए।
पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले पोखरामा पर्याप्त भौतिक पूर्वाधार भए पनि सुहाउँदो प्रतियोगिता हुन नसकेको गुनासो गरे। उनले भने, ‘खेल प्रतियोगिता आयोजना गर्न आवश्यक समन्वय भइरहेको छैन।’ पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले पूर्वाधारमा पोखरा धनी भए पनि त्यसको उपयोग कम भएको बताउँदै भएका प्रतियोगितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया