होमस्टेले फेरिएको कालाबाङ

धनबहादुर गुरुङ २०८२ पुष २३ गते ११:१९

पोखरा । कालाबाङ घरेडी सामुदायिक होमस्टे चर्चित हुनुमा एसियन फोरमको ठूलो योगदान छ । फोरमका तत्कालीन अध्यक्ष निरज थापा नेतृत्वको टिमको योजनामा होमस्टे सुरु भएको थियो । त्यसमा एसियन विकास बैंक (एडिबी)को सहयोग आर्थिक सहयोग रहेको अध्यक्ष थापा सम्झन्छन् ।

Advertisement


एडिबीले ग्रामीण पर्यटनमा सघाउने भएपछि १० गाउँ डुलेर कालाबाङ घरेडी छनोट गरिएको फोरमका अध्यक्ष थापाले बताए । ‘२०७१ सालतिर हाम्रो संस्थामार्फत एडिबीले ग्रामिण पर्यटनमा काम गर्ने भयो । हामीले ग्रामीण पर्यटनका लागि होमस्टेलाई साथ दिने योजना बनायौं,’ उनले भने, ‘म कास्कीको भएका कारण आफ्नै जिल्लाका गाउँमा पुगेर होमस्टे चलाउने अनि उनीहरुलाई सघाउने गरी १० गाउँ डुलियो । बलतल कालाबाङका स्थानीयले चासो देखाए ।’


अहिलेको जस्तो होमस्टेको चर्चा नभएका कारण पनि गाउँ खोज्न समस्या परेको उनी सम्झन्छन् । ‘अहिले जस्तो होमस्टेको फाइदाका बारेमा थोरैलाई मात्र जानकारी थियो । त्यसैले कसैले पनि चासो राखेनन्,’ उनले भने, ‘एक जना शिक्षकको माध्यमबाट कालाबाङ तयार भएपछि हामीले २०७१ सालमै सुरुआत गरियो । हामीले त्यहाँ झण्डै ५०/६० लाख सहयोग गरेका छौं ।’ सुरआती समयमा सियोदेखि चप्पलसम्म अनि शौचालय, बाथरुम, बिस्तार सहयोग गरेको अध्यक्ष थापाले सुनाए । त्योसँगै अवलोकन भ्रमण, किचन तालिम, पाहुना सत्कार तालिम प्रदान गरिएको उनले बताए ।

Advertisement


सुरुमा कालाबाङ घरेडीमा रहेका गुरुङ, ब्राह्मण, दलित जातिलाई मिलाएर समावेशी रुपमा १८ घरबाट घरबास कार्यक्रम सुरु गरिएको एसियन फोरमका अध्यक्ष थापाले जानकारी दिए । गुरुङ, ब्राह्मण र दलितको घरबाट समावेशी रुपमा होमस्टे सञ्चालनमा छ ।


होमस्टे सञ्चालनपछि स्थानीयको जनजीवन नै परिवर्तन भएको र होमस्टे पनि उत्कृष्ट बनेको अध्यक्ष थापाले सुनाए । ‘हामीले सबै तयारी गरी १८ घरबाट होमस्टे सुरु गरियो । उनीहरुले निरन्तर गर्दै जाँदा ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च(भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेको अवार्ड पाउन सफल भएको थियो,’ उनले भने, ‘२०७५ भदौमा हामीले स्थानीय समुदायलाई सवै ब्यस्थापन गर्ने गरी हस्तान्तरण गरियो । अहिले स्थानीय आफैले पनि राम्रो गरिरहनुभएको छ । हामी बेला बेलामा जान्छौं । हाम्रो प्रयासमा खुलेको होमस्टेले राम्रो गरिरहेको देख्दा खुसी लाग्छ ।’

Advertisement


यो होमस्टे पोखराबाट १२ किलोमिटरमा छ । पोखरा महानगरपालिका २२ मा पर्ने सो होमस्टेमा ६० देखि ७० पाहुना एक रातमा बस्न सक्ने क्षमता छ । अर्गानिक तरकारी, लोकल कुखुरा, खसीको मासु र त्यही उत्पादित चामल, गेडागुडी र साग, गुन्द्रकको परिकारले आन्तरिक तथा बाह्य पर्यटक लोभिन्छन् ।

यो होमस्टे पोखराबाट १२ किलोमिटरमा छ । कालाबाङमा दैनिक ६० देखि ७० पाहुना राख्न सक्ने क्षमता छ ।


नेपाल होमस्टे महासंघका उपाध्यक्ष तथा होमस्टे सञ्चालक प्रकाशचन्द्र गुरुङका अनुसार सो बस्ती २ सय ५० वर्ष पुरानो हो । उनका अनुसार पहिले कालो घना वन भएकै कारण त्यस ठाउँको नाम कालावनबाट अपभ्रंश हुँदै कालाबाङ भएको हो । नेपालभरी करिब ८ सय होमस्टे सञ्चालनमा रहे पनि कालाबाङ जस्तो समावेशी होमस्टे अरु ठाउँमा नभएको उनको दाबी छ ।


‘थारु गाउँमा थारु मात्रको होमस्टे छन् । गुरुङ गाउँमा गुरुङहरुको होमस्टे छ । मगरको गाउँमा मगर र यसैगरी अन्य समुदायको पनि होमस्टे सञ्चालनमा छन्,’ उनले भने, ‘तर यहाँ गुरुङ, ब्राह्मण र दलित समुदायको संयुक्त र समावेशी घरेडी होमस्टे सञ्चालनमा छ ।’ त्यहाँ बसोबास गर्न आउने पर्यटकका लागि हरेक साँझ स्थानीय सांस्कृतिक प्रस्तुति देखाइने सञ्चालक गुरुङले बताए ।


विषादीरहित अर्गानिक खानेकुराले आन्तरिक तथा बाह्य पर्यटक घरेडी होमस्टेमा लोभिने गरेको उनको भनाइ छ । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होम स्टेले आकर्षित गर्छ । आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा परेपछि चहलपहल बढेको छ । होम स्टे सञ्चालनसँगै कालाबाङ घरेडी गाउँ समृद्धितर्फ लम्किँदै छ ।


पर्यटक आउने क्रमसँगै स्थानीय विभिन्न आयआर्जनका काममा व्यस्त हुन थालेपछि गाउलेको जनजीवन फेरिँदै गएको छ । होमस्टे सञ्चालनमा आएपछि आर्थिक गतिविधि पनि बढ्दै गएको होमस्टे सञ्चालक गुरुङ बताउँछन् । होम स्टेबाट अहिले राम्रो आम्दानी पनि भएको छ । उनले भने ‘होमस्टे सञ्चालनमा आएपछि गाँउको चिनारी त फेरिएकै छ, स्थानीयले पनि गाँउघरमै बसेर राम्रो कमाई गरिरहेका छन् ।’


पहिले गाउँबाट बसाइँसराईको क्रम चलिरहेको बेलामा होमस्टे सुरु भइसकेपछि बसाइँसराईको क्रम रोकिएको होम स्टे सञ्चालक समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । उनले भने, ‘होमस्टे सुरु भइसकेपछि पहिला बजार झरेकाहरु पनि फर्किएर पर्यटनमा लगानी गर्न थालेका छन् ।’


पाहुनाले अनुरोध गरेमा खैजडी, भजन, झ्याउरे गीत र विद्यार्थीले पनि नृत्य देखाउँछन् । यो न्यानो आतिथ्यतामा पाहुना पनि छमछमी कम्मर भाँच्न सुरु गर्छन् । बस्ती माथिको चक्र हाल्ने डाँडाबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, पोखरा बजार, फेवातालको दृश्यावलोकन गर्न सकिनु यहाँका विषेशता हुन् । अर्गानिक खानाको स्वाद, बाह्रै महिना स्थानीय रहनसहन र संस्कृतिसँग रमाउनु पनि यहाँ पुग्नुको फाइदा हो । सूर्योदय र सूर्यास्तको अवलोकन गर्दा पाहुनाको मन प्रफुल्लित हुन्छ । पछिल्लो समय बुद्ध पार्कले पनि पर्यटक तानिरहेको छ ।


यहाँ दिउँसोको खाजा, बेलुकाको खाना, बास बिहानको खानाको ११ सय रुपैँया प्याकेज तोकिएको छ । बिहानको खाना खानु परेमा थप २ सय ५० रुपैयाँ लाग्छ । यो बाहेक अन्य परिकारको लागि भने अतिरिक्त रकम तिर्नुपर्छ ।


पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले पोखरा आउने पर्यटकहरु एकरात कालाबाङ घरेडी हामेस्टेमा पुग्न थालेको बताए । यस्तै पुम्दीकोट महादेव मन्दिरलगायत पर्यटकीय क्षेत्रले पनि पोखरा २२ को पहिचान फराकिलो बनाएको उनले सुनाए । यहाँ भएको पूर्वाधार विकासको तीव्रताले अझै पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्ने उनले बताए । आफ्नो वडामा अझै केही ठाउँमा सडक कालोपत्र गर्न बाँकी रहेको र आगामी दिनमा चाँडै सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए । पदमार्गको काम पनि अघि बढिरहेको उनले सुनाए ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया