भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म

समाधान संवाददाता २०८२ पुष २३ गते ११:४३
पर्यटकका साथमा पर्यटन व्यवसायी दुर्गालक्ष्मी रावल (बीचमा) ।

पोखरा । पर्यटन व्यवसायी दुर्गालक्ष्मी रावल भरिया, पथप्रदर्शक हुँदै पर्यटन क्षेत्रमा युवा युवतीलाई रोजगारी दिन सफल बनेकी छन् । लामो संघर्षको यात्राले गर्दा आज यो ठाउँसम्म आइपुग्न सफल भएको रावल सुनाउँछिन् ।

Advertisement


२०४१ सालमा टोपबहादुर रावल र आमा लाटी रावलको माइली छोरीका रुपमा उनको जन्म भएको हो । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ४ भामवडा गाउँ उनको जन्मथलो हो । आजभन्दा चार दशक पहिले दुर्गमका जिल्लामा छोरीलाई शिक्षा दिने चलन नभएकाले उनले जसोतसो भाइसँग नजिकैको सेतीवाडा प्राथामिक विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरिन् ।


बारीको गोड्मल, पशु चौपाया र घरको सरसफाइका कारणले घरको वातावरणले गर्दा पढाइ बिचमै छाड्नुपर्ने अवस्था आयो । उनले आत्मनिर्भर र क्षमता विकास गर्नलाई २०६२ सालमा जुम्लाको प्राविधिक शिक्षालयमा ३ महिने मातृशिशु कार्यकर्ताको तालिम लिइन् । तालिममा ट्रेकिङसम्बन्धी जानकारी पाएपछि थप क्षमता विकास र स्वरोजगार हुन २०६३ सालमा उनलाई थप ज्ञान लिने भोक जागृत भयो ।

Advertisement


आफ्नी दिदीले बाटो खर्च दिएपछि उनी पोखरा आइन् । पोखरा आएपछि एक महिना ट्रेकिङसम्बन्धी आधारभूत तालिम लिइन् । दुर्गा पहिलोपटक अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङमा भरिया भएर गइन् ।


उक्त ट्रेकिङमा एक महिला पथप्रदर्शकले नै दुर्गमकी अशिक्षित केटी भनेर ११ दिनको ट्रेकिङ अवधिभरी अपहेलना गरेको उनी अझै सम्झिन्छिन् । ट्रेकिङ जाने क्रममा फेरि अन्नपूर्णमा ट्रेकिङ जाँदा अरू पथप्रदर्शकले नै साथीको जस्तै व्यवहार गरेपछि उनमा हौसला बढ्यो ।

Advertisement


३ वर्षको मिहिनेतपछि उनले पथप्रदर्शकको जिम्मेवारी पाइन् । त्यसयता, उनी लगातार १९ वर्षदेखि पथप्रदर्शक बनेर पर्यटकलाई घुमाउँदै आएका छन् । पछिल्लो चार वर्षयता नेपालको ग्रामीण क्षेत्रका युवा तथा युवतीले रोजगार पाऊन् भन्ने उद्देश्यले दुर्गा फिमेल ट्रेक नेपाल कम्पनी दर्ता गरी पोखरामा व्यवसायसमेत उनले गर्दै आएका छन् ।


दुर्गा फिमेल ट्रेकमार्फत् दुर्गमका हिमाली जिल्ला मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायत नयाँ पर्यटन पदमार्गमा पुग्ने योजना उनको छ ।

तपाईको प्रतिक्रिया