कविता गाउँमा विनोदको सम्झना

समाधान संवाददाता २०८२ पुष २३ गते १२:१२

पोखरा । कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कविता गाउँ’का रुपमा पृथक पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई २०६५ चैत १५ गते कवि÷गीतकार विनोद गौचनको अगुवाइमा ‘कविता गाउँ’ घोषणा गरिएको थियो ।

Advertisement


लुम्लेमा कवितापार्क सहितका संरचनामा अहिलेसम्म १३ लाख खर्च भइसकेको कविता गाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले जानकारी दिए । पार्कका लागि जग्गा समाजसेवी चीनबहादुर केसीले दान गरेका हुन् । सो जग्गामा पार्कको विकासका लागि समाजसेवी विश्वमोहन गौचनको अग्रसरतामा १२ लाख संकलन भएको छ ।

‘यहाँ पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना छ,’ अध्यक्ष देवकोटा भन्छन्, ‘एक पटक पुग्नैपर्ने साहित्यिक एवम् पर्यटकीय गन्तव्य बनाउन चाहन्छौँ ।’

Advertisement


अन्नपूर्ण ६ का वडाध्यक्ष एकदेव देवकोटा कविता गाउँमा पूर्वाधार निर्माण र साहित्यिक गतिविधिमा स्थानीय सरकार सँगसँगै रहेको बताउँछन् । उनी भन्छन्, ‘यहाँ भावी पुस्तालाई संस्कार, संस्कृति सिकाउने एउटा केन्द्र बनाउनु जरुरी छ ।’


पोखराका सडकपेटी, पार्क, सिमसार र वनमा सयौं थरि वनफूल फूलिरहन्छन् । सर्जक गौचनले २०६३ मा प्रकाशित कृतिको नाम अनौठो दिएका थिए ः पोखरामा फूल फूल्दैन । उनका कवितालाई प्रतीकात्मक रुपमा बुझ्नुपर्ने समीक्षक असफल गौतमको तर्क छ । ‘पोखरा सहरमै घर भए पनि गाउँमा धेरै रम्ने, उतै डुल्ने, लेख्ने गौचनलाई सहरिया जीवन खोक्रो लागेको बिम्बात्मक अभिव्यक्ति हो यो,’ गौतम भन्छन् ।

Advertisement


विसं. २०१२ जेठ १३ गते जन्मिएका गौचनको अर्काे कविता सञ्चयन पनि छः ढुंगेसाँघुको मेलामा । गौचनलाई अन्तर्मुखी र गम्भीर स्वभावका सर्जकको रुपमा चिन्छिन् साहित्यकार उषा शेरचन । आफन्तसमेत पर्ने शेरचन सम्झिन्छिन्, ‘मेरो एउटा कविता कपीबाट सुटुक्क सारेर उहाँले गोरखापत्रमा पठाइदिनुभएछ, पछि छापिएपछि पो थाहा पाएँ ।’ गौचन अन्तर्मुखी भए पनि अव्यवहारिक भने नभएको शेरचनको भनाइ छ ।


गौचनले २३ वर्षको हुँदा लेखेको ‘जति माया लाए पनि’ गीतले अरुण थापासहित उनको पृथक पहिचान बनाइदियो । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौं तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ लगायतका चर्चित गीतका सर्जक उनी नै हुन् ।


५८ वर्षको जीवन पाएका गौचनका दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनका केही गीत अझै आफूसँग रहेको सुनाउनुहुन्छ संगीतकार सुनील थापा । थापाले गौचनका आधा दर्जन गीतमा संगीत भरेका थिए ।


‘अन्नपूर्ण हिमालमुनि गंगापूर्ण ताल’ गीतको स्थायी र एउटा अन्तरामा सङ्गीत भरेपछि बाँकी अन्तरा दिन नपाउँदै उहाँ हामीमाझ रहनुभएन । बाँकी गीत दिदी वसन्ती लालचन र मैले पूरा गर्‍यौँ,’ संगीतकार थापा थप्छन्, ‘बाहिर त्यति खुल्ने स्वभाव थिएन उहाँको तर साह्रै सरल शब्दमा असाध्यै गहन भावका गीत, कविता लेख्नुहुन्थ्यो ।’


संरक्षण कविता आन्दोलनका समेत अगुवा गौचन पोखरा आसपासका धम्पुस, घान्द्रुक, पञ्चासे लगायतका गाउँमा रमाउँथे । त्यहीका बिम्ब गीत, कवितामा टिप्थे । पञ्चासे क्षेत्रमा गुरुङ समुदायमा प्रचलित बाटो छेक्ने संस्कारलाई उनले स्थायी बनाएको गीत कन्दरा ब्यान्डका विवेक श्रेष्ठले स्वर दिएपछि निकै लोकप्रिय बन्योः


तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले ।


साह्रै कम लेख्ने र लेखेपछि पनि आफूलाई चित्त नबुझी सार्वजनिक नगर्ने गौचनको निधन भएको आइतबार १२ वर्ष पुग्यो । स्मृति दिवसमा कविता गाउँको छेउघरमा गौचनको अर्धकदको सालिक अनावरण गरियो । कालीगण्डकीको शिलाबाट एक लाख ८० हजार खर्चेर गौचनको सालिक बनाइएको हो । कार्यक्रममा कवितागाउँलाई सघाउनेहरु सम्मानित बने । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सालिक अनावरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया