
जोमसोम । गएको मंसिर २६ गते राति मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र पछाडि च्यांग्रा पालक किसान सन्तोष परियारको गोठमा हिउँ चितुवाले २२ वटा च्यांग्रा मार्यो । च्यांग्रा गोठमा नयाँ च्यांग्रा लोमान्थाङबाट खरिद गरी ल्याइएका उनी हिउँ चितुवाले मारेपछि निकै दुःखी छन् ।
सन्तोषले रत्तिभर सोचेका थिएनन् कि गाउँ, बस्ती भित्रकै च्यांग्रागोठमा हिउँ चितुवाले आक्रमण गर्छ । बेला बेलामा आएर गोठका च्यांग्राको निगरानी गररहेका थिए । हिउँचितुवाले च्यांग्रा मारेपछि परियारलाई ६ लाख घाटा भयो । हुर्किइसकेका ती च्यांग्रा माथिल्लो मुस्ताङबाट प्रति गोटा ३० हजार तिरेर उनले किनेका थिए ।
च्यांग्रा पालेर व्यावसायिक आयआर्जन गर्छु भन्ने सोचेका परियार पुर्खाले अपनाएको पुरानो च्यांग्रा पालन व्यवसाय संकटमा पर्ने हो कि भन्ने चिन्तामा परेका छन् । हिउँचितुवाले बिमाख गरेपछि घरपझोङ गाउँपालिकाले राहतस्वरुप ४० हजार परियारलाई उपलब्ध गरायो । एक्याप कार्यालयले पनि वन्यजन्तु क्षति राहतका लागि पहल गरेको छ ।
मार्फाका च्यांग्रा पालक किसान सन्तोष सन् २००५ मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए । तर, विदेशी भूमीमा ज्यान फालेर काम गर्दासमेत परियारले पैसा सञ्चय गर्न सकेनन् । परियार सन् २००८ मा मलेसियाबाट गाउँ मार्फा फर्किएका थिए ।
त्यसो त परियारका बुवाले पनि च्यांग्रा पालन व्यवसाय गर्दै आएका थिए । विदेशी भूमीबाट रित्तो हात फर्किएका परियारले आफ्नै पुख्यौली व्यवसायलाई अघि बढाए । बुवाको च्यांग्रा गोठ हुँदै गर्दा परियारले बुवाबाट च्यांग्रा पालन गर्ने तरिकासमेत सिके ।
परियारले बेग्लै मार्फा व्यवसायिक च्यांग्रा फार्म स्थापना गरे ।
२०/२५ वटा च्यांग्रबाट व्यवसाय सुरु गरेका परियारको गोठमा अहिले २ सयभन्दा बेसी च्यांग्रा छन् । परियार भन्छन्, ‘विदेशमा ३ वर्ष बसेर चेत खाइयो, आफ्नै देश र गाउँ ठाउँमा बसेर बुवाकै पुख्यौली व्यवसाय च्यांग्रा पालन गरेर बस्न उचित लाग्यो ।’ उनका बुवाको च्यांग्रा गोठ अलग्गै छ ।
विदेश गर्ने सीप जन्मथलोमै गर्ने अठोटका साथ घर फर्केका सन्तोष परियार हिउँचितुवा खोरसम्म आउन थालेपछि चिन्तित
विदेशमा पैसा कमाउने सपना बोकेर डेढ दशकअघि गएका सन्तोष गाउँ फर्किएर लोभलाग्दो च्यांग्रा पालन व्यवसाय गरी सन्तुष्ट छन् । विदेश जान ठूलो लगानी चाहिने भएकाले बरु त्यो रकम यही व्यवसायमा लगानी गर्दा बेस होला भनी च्यांग्रापालन व्यवसाय अगाडि बढाएको परियारको भनाई छ । विदेशबाट फर्किएर च्यांग्रापालन गरेका परियारले साविक पशु विकास कार्यालयबाट २ लाख रुपैयाँ पुरस्कार र पशु नश्ल सुधारका लागि बोका पाएका थिए ।
परियारले गोठमा भएका च्यांग्रा रेखदेख गर्न एक जना गोठालालाई वार्षिक २ लाख ५० हजार तलब दिएर खटाएका छन् । उनी आफू पनि च्यांग्राको रेखदेख र व्यवस्थापनमा खटिन्छन् । च्यांग्रा पालन गरी पाठापाठी उत्पादन, कृषिका लागि मल उत्पादन र च्यांग्रालाई वयस्क बनाएर बिक्री गर्ने गरेको किसान परियारले उल्लेख गरे ।
‘एकचोटि ठूलो भाग खोज्नु हुँदैन, विस्तारै गर्दागर्दै हुने हो,’ परियार भन्छन्, ‘च्यांग्रा पालेर कृषिका लागि मलको व्यवस्था भएको छ, पाठापाठी पनि उत्पादन हुन्छ, चाडपर्वका बेला गोठमा भएका वयस्क च्यांग्रा मासुका लागि पनि बिक्री गर्ने गरेको छु ।’
हिमाली संस्कृति, सभ्यता र परम्परा रहेको यहाँ सदिंयौंदेखि चल्दै आएको याकचौरी र भेडाच्यांग्रा पालन व्यवसाय संम्वद्धन र पुस्तान्तरण हुन आवश्यक रहेको परियारको भनाइ छ । व्यवसाय गर्दा नाफा, घाटा दुबै हुने भएकाले एकै पटक हिउँ चितुवाले ठूलो संख्यामा च्यांग्रा क्षति भए पनि आफू विचलित नभएको परियार बताउँछन् ।
यहाँको उच्च लेक तथा खर्क र गोठमा पालिएका च्यांग्रा कसरी व्यवस्थित गरी संरक्षण गर्ने भन्ने चिन्ता थपिएको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्ने मुस्ताङका उच्च लेकमा पालन गरिएका याकचौरी र भेडाच्यांग्रा संरक्षण हिउँ चितुवा, जंगली ब्वाँसो र जंगली कुकुरको जोखिमले कठिन बन्दै गएको छ ।
हिउँचितुवाले खर्क र बस्तीमा रहेका गोठमै पसेर च्यांग्रा मारिदिने घटनाले यहाँको च्यांग्रा पालन व्यवसाय नै संकटमा पर्न थालेको परियारले औंल्याए । पछिल्लो समय जलवायु परिवर्तनको असरले अनुकूल समयमा हिउँ नपर्ने, बेमौसमी वर्षा र अतिवृष्टि हुने र उच्च लेक र बस्तीका चरनक्ष् ोत्रमा घाँस पलाउन नसक्दा चरन क्षेत्रको अभाव हुने गरेको छ ।
अनुकूल समयमा हिउँ परेमा चिस्यान हुने र बर्खा याममा पर्याप्त मात्रामा घाँस पलाउने परियारले बताए । पछिल्ला केही वर्षयता मुस्ताङमा अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्र खुम्चिदै गएको छ । उच्च लेकमा बर्खायाममा जिल्ला बाहिरका विकासे भेडाबाख्रा चराउन ल्याउँदा त्यहाँका च्यांग्रा पालकलाई घाँसको अभाव हुने गरेको उनले दाबी गरे ।
चरन क्षेत्रमा पर्याप्त घाँस नहुने र जिल्ला बाहिरबाट बाख्रा चराउन ल्याउने परिपाटीले गोठका च्यांग्रा हुर्काउन दाना र घाँस किनेर खुवाउनुपर्ने बाध्यता आएको परियारको भनाइ छ । केही वर्षयता चीनबाट भेडाच्यांग्रा ल्याएर लोकल च्यांग्रा भनी बिक्री गर्ने गरेकाले आफूजस्ता किसानलाई मर्का पर्ने गरेको उनले सुनाए ।
च्यांग्रा पालन गर्दा थोरै लगानी भए पनि पुग्ने र पाठापाठी हुर्काउन सके र वन्यजन्तुको जोखिमबाट सुरक्षित राख्न सकेमा च्यांग्रा पालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने परियारको भनाइ छ । परम्परागत संस्कृति र जैविक विविधताको संरक्षण गर्ने हो भने यहाँका याकचौरी र च्यांग्रा पालन किसानका समस्या र चुनौतिलाई सरोकारवाला निकायले गहन ढंगले सोच्नुपर्ने बेला आएको उनले औंल्याए ।
मुस्ताङका पाँचै स्थानीय तहका पशुपालक किसानलाई वन्यजन्तुले सास्ती दिने गरेको छ । यस्को दीर्घकालीन समाधान गर्न सरोकारवालाले ध्यान दिनुपर्ने भएको छ । यहाँको चरन क्षेत्र संरक्षण, गोठ सुधार र च्यांग्रा पालनको जोखिम न्यूनीकरण गर्न आवश्यक उपकरण लगायतको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई उनले आग्रह गरे । हिउँ चितुवा पीडितलाई क्षतिको राहत दिएरमात्रै समस्या समाधान नहुने परियारको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया