लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै

समाधान संवाददाता २०८२ पुष २३ गते १६:३८

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा करिब २ करोड रुपैयाँको लागतमा पुस्तकालय भवन निर्माण सुरु भएको छ । लायन्स क्लब इन्टरनेसनलको अनुदान, विद्यालय र स्थानीयको सहयोगमा १ करोड ९७ लाख रुपैयाँ लागतमा बन्ने भवनको सोमबार शिलान्यास गरिएको हो ।

Advertisement


लायन्स क्लब इन्टरनेसनल ३२५ आईमार्फत प्राप्त परियोजनाको लागत १ करोड ९७ लाख रुपैयाँ रहेको छ । भवन निर्माणका लागि लायन्स फाउन्डेसनबाट १ लाख अमेरिकी डलर अनुदान प्राप्त भएको छ भने बाँकी रकम विद्यालय र स्थानीय सहयोगदाताले जुटाउने विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले जानकारी दिए । भवन निर्माणका लागि लायन्स क्लब अफ पोखरा अर्घौँले समन्वय गरेको छ ।


भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले पुस्तकालय निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोसेढुंगा साबित हुने बताए । वडा अध्यक्ष थापाले पूर्वविद्यार्थीहरूको सहयोगले सामुदायिक विद्यालयको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने जिकिर गरे ।

Advertisement

‘पूर्वविद्यार्थीहरु जो जहाँ भए पनि आफू पढेको विद्यालयले आफूलाई दिएको शिक्षाको स्मरण गरेमात्र ठुलो सहयोग मिल्छ,’ अध्यक्ष थापाले भने । उनले पुस्तकालय निर्माणपछि त्यसमा आवश्यक पाठ्य तथा सूचना प्रविधिका सामग्रीका लागि सहयोग गर्न पूर्वविद्यार्थीहरूलाई आह्वान गरे ।


कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ आईका निवर्तमान गभर्नर विनोद ढुंगानाले आफूले अध्ययन गरेको विद्यालयमा लायन्स क्लबमार्फत जोडिन पाउँदा खुसी लागेको बताए । उनले आफू डिस्ट्रिक्ट गभर्नर हुँदा परिकल्पना गरेको कार्यक्रम लायन्सको अन्तर्राष्ट्रिय फन्डमार्फत सम्भव भएको स्पष्ट पारे ।

Advertisement


भवन टिम वान कन्स्ट्रक्सन कम्पनीले ८ महिनामा सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अधिकारी र निर्माण व्यवसायी भक्तबहादुर बानियाँले निर्धारित समयमा काम सकिनेमा विश्वस्त रहन आग्रह गरे । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ आईका लिडर, विद्यालयका शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी र जनप्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया