विशेष महाधिवेशनले कांग्रेस फुट्दैन, फुट्न लागे सबैभन्दा पहिले म हल बाहिरिन्छु: महामन्त्री शर्मा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका छन् । काठमाडौँमा हुने यस अधिवेशनबाट पार्टी फुट्ने स्थिति आएमा सबैभन्दा पहिले आफू कार्यक्रम स्थलबाट बाहिरिने उनले स्पष्ट पारेका छन् । विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किएका बेला महामन्त्री शर्माले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
विशेष महाधिवेशनबारे उठेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै उनले पार्टी विभाजनको आशंकालाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन,’ उनले लेखेका छन्, ‘यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’ काठमाडौँमा हुने दोस्रो विशेष महाधिवेशनका लागि यसअघि नै पत्रकार सम्मेलन मार्फत आह्वान भइसकेको छ, जसमा शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।
पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा देखिए पनि महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने जेन्जी आन्दोलन पछिको परिस्थितिमा यो अनिवार्य भएको अडान राखेका छन् । बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको दायित्व पुरा गर्न विशेष महाधिवेशन आवश्यक रहेको शर्माको तर्क छ । ‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
विशेष महाधिवेशनका लागि कांग्रेसका ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेकाले यो विधान सम्मत भएको उनले उल्लेख गरेका छन् । कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उनले स्मरण गराएका छन् । हस्ताक्षर नगरेका प्रतिनिधिहरू समेत यस महाधिवेशनमा सहभागी हुन पाउने उनले स्पष्ट पारेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यस महाधिवेशनले कुनै नकारात्मक असर नपार्ने बरु निर्वाचनको परिणाम झन् राम्रो आउने शर्माको विश्वास छ । ‘मुर्झाएर बसेको कांग्रेस भन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिन्छ,’ उनले लेखेका छन् । विशेष महाधिवेशनलाई उनले बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देशका लागि गरिएको एक महत्वपूर्ण संकल्पका रूपमा अथ्र्याएका छन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया