रुपा गाउँपालिकामा १ लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

समाधान संवाददाता २०८२ पुष २४ गते १०:२८

पोखरा ।

Advertisement

कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग उपलब्ध गराई लसुन र प्याजको व्यावसायिक खेती सुरु गरेको छ । गाउँपालिकाले यस वर्ष १ लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष लसुन र प्याज खेतीको नमुना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान दिएर यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

ओझाका अनुसार गाउँपालिकाका ७ वटै वडाको करिब ४ सय रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ । गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी र खोलाको छेउ लगायतका स्थानमा यसको व्यावसायिक खेती गरिएको उनले जानकारी दिए । पालिकाले लसुन खेतीका लागि प्रतिरोपनी १० हजार रुपैयाँ र प्याजका लागि प्रतिरोपनी ८ हजार रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।

Advertisement

लसुन र प्याजका साथै पालिकाले अदुवा खेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा दिएको छ । पालिकाभित्र करिब २ सय ५० रोपनीमा अदुवा खेती भइरहेको र यस वर्ष ८० हजार किलो अदुवा उत्पादन हुने अनुमान गरिएको ओझाले बताए । ‘पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ,’ उनले भने, ‘१ किलो बीउ लगाएको ठाउँमा १ डोकोसम्म अदुवा फलेको किसानहरूले बताएका छन् ।’

व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको भन्दै अध्यक्ष ओझाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गरे । रुपा गाउँपालिकाका १ सय भन्दा बढी युवाहरू हाल व्यावसायिक कृषिमा लागेको उनले जानकारी दिएका छन् । पालिकाले कृषि क्षेत्रको विकास मार्फत स्थानीयको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया