पोखरा महानगरद्वारा किसानलाई गोबरको मल र ढुवानीमा ५० प्रतिशत अनुदान

पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार स्थानीय पशुपालक किसानका फार्ममा पूर्ण रूपमा उपयोग नभई खेर जाने मलको सदुपयोग गर्न र खरिद गर्ने किसानलाई राहत दिलाउन यो कार्यक्रम ल्याइएको हो । जिल्ला दररेट अनुसार मलको खरिद र ढुवानी दुवैमा ५० प्रतिशत अनुदान दिने गरी महानगरले सूचना समेत प्रकाशन गरिसकेको उनले जानकारी दिए ।
यस वर्ष अनुदान कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । जिल्ला दररेट अनुसार हाल गोबरको मलको मूल्य प्रति किलो ३ रुपैयाँ २५ पैसा रहेको छ । रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक मलको प्रयोग बढाउनका लागि यो कार्यक्रम उपयोगी बन्ने विश्वास कडरियाले व्यक्त गरे । प्राप्त निवेदनका आधारमा किसानहरूलाई यो अनुदान वितरण गरिने उनले बताए ।
‘यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फार्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ,’ उनले भने, ‘यसले किसानलाई उत्पादनको लागत घटाउन पनि मद्दत पुग्छ ।’ यो पहलले पशुपालन र कृषि उत्पादन क्षेत्रलाई एक अर्कामा जोड्न र सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महानगरले लिएको छ ।
प्रांगारिक मलको प्रयोगमा जोड दिँदा माटोको उर्वरा शक्ति कायम रहने र विषादीरहित उत्पादनमा सहयोग पुग्ने कडरियाको भनाइ छ । महानगरले कृषि क्षेत्रको व्यावसायीकरणका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याइरहेको र यो अनुदान पनि त्यसकै एउटा हिस्सा भएको उनले जानकारी दिए । यसबाट साना र व्यावसायिक दुवै खाले किसान लाभान्वित हुने देखिएको छ ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया