एमालेले गण्डकीका १० जिल्लामा इन्चार्ज तोक्यो

समाधान संवाददाता २०८२ पुष २४ गते ११:२८

पोखरा । नेकपा एमालेको सचिवालय बैठकले गण्डकी प्रदेश र यस अन्तर्गतका १० जिल्लाका इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । पार्टीको सांगठनिक सुदृढीकरण र कार्यविभाजनलाई पूर्णता दिने क्रममा एमालेले केही पुराना र केही नयाँ अनुहारलाई जिल्ला कमान्डरको रूपमा अगाडि सारेको हो । गण्डकी प्रदेशको इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी भने पार्टीका सचिव खगराज अधिकारीले पाएका छन् ।

Advertisement

सचिवालय बैठकले प्रदेशका ११ मध्ये १० जिल्लामा इन्चार्जहरूको टुङ्गो लगाएको छ भने हिमाली जिल्ला मनाङको इन्चार्ज पद हाललाई खाली राखेको छ । जिम्मेवारी पाउने सबै नेताहरू पार्टीका केन्द्रीय सदस्य हुन् । जिल्लागत जिम्मेवारी अनुसार कास्कीमा कृष्ण थापा र बागलुङमा मना केसीले इन्चार्जको भूमिका पाएका छन् । त्यसैगरी तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ ।

पर्वत जिल्लाको कमान्ड पदम गिरीलाई दिइएको छ भने म्याग्दीमा थममाया थापा र मुस्ताङमा चन्द्रमोहन गौचनले इन्चार्जको जिम्मेवारी पाएका छन् । नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्जको रूपमा खटाइएको छ । पार्टीले जिल्ला इन्चार्जहरूलाई सम्बन्धित जिल्लाको संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीका नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म पुर्‍याउने मुख्य दायित्व सुम्पेको छ ।

Advertisement

केन्द्रीय सदस्यहरूलाई नै जिल्ला इन्चार्ज बनाइएकाले केन्द्र र जिल्ला बीचको समन्वय थप कसिलो हुने अपेक्षा एमालेले लिएको छ । जिम्मेवारी पाएका नेताहरूले आफ्नो जिल्लाभित्र पार्टीको आन्तरिक एकता कायम गर्ने, नयाँ सदस्य संकलन गर्ने र आगामी निर्वाचनको तयारीका लागि रणनीतिक योजनाहरू बनाउने कार्यमा नेतृत्व गर्नेछन् । प्रदेश इन्चार्जका रूपमा सचिव खगराज अधिकारीले सबै जिल्लाको अनुगमन गर्ने र प्रदेशभरिको सांगठनिक गतिविधिको नेतृत्व सम्हाल्ने गरी कार्यक्षेत्र तोकिएको छ ।

पार्टीको यो नयाँ कार्यविभाजन सँगै गण्डकीमा एमालेको सांगठनिक गतिविधिले थप तीव्रता पाउने बताइएको छ । नयाँ जिम्मेवारी पाएका इन्चार्जहरू छिट्टै आफ्नो कार्यक्षेत्रमा खटिने र जिल्ला कमिटीका बैठकहरू मार्फत नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया