कांग्रेस एमाले एकै ठाउँ, नेकपा र जनमोर्चा पनि मैदान

समाधान संवाददाता २०८२ पुष २४ गते ११:३०

पोखरा ।

Advertisement

अघिल्लो पटक हार, यसपालि जित पक्का
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)बाट सम्झना देवकोटाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेस–एमालेकी साझा उम्मेदवारका रुपमा उनले महिला क्लस्टरबाट मनोनयन दर्ता गराएकी हुन् ।


देवकोटा गोरखाको राजनीतिबाट संगठन निर्माण हुँदै राष्ट्रिय तहसम्म आइपुगेकी संघर्षशील नेतृ हुन् । नारेश्वरमा जन्मिएकी उनी हाल गोरखा नगरपालिका ३ की स्थायी बासिन्दा हुन् । विद्यार्थी राजनीतिबाट सक्रिय भएकी देवकोटा २०४० को दशकदेखि कम्युनिस्ट आन्दोलनमा होमिएकी हुन् । अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवको जिम्मेवारीबाट उनको राजनीतिक यात्रा सुरु भएको हो ।

Advertisement


उनले जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी अध्यक्ष हुँदै गोरखा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । सचिव नेतृत्व प्रणाली हटेर अध्यक्षात्मक प्रणाली लागू हुँदा उनी निर्वाचनबाट सचिव बनेकी थिइन् । पार्टी एकतापछि कार्यालय सदस्यको भूमिकामा रहेकी देवकोटा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।


यसअघि गोरखा नगरपालिकाको उपमेयर र मेयर पदमा प्रतिस्पर्धा गरिसकेकी उनलाई एमालेले २०८० मा राष्ट्रिय सभा निर्वाचनमा समेत उम्मेदवार बनाएको थियो । त्यस बेला पराजित भएकी उनी यसपालि विजयी हुने पक्का छ । समाजशास्त्रमा स्नातकोत्तर गरेकी देवकोटा महिला आन्दोलन, संगठन विस्तार र पार्टी अनुशासनमा अब्बल मानिन्छिन् ।

Advertisement


सिफारिसमै नपरी जगत उम्मेदवार
गण्डकी प्रदेशमा रिक्त राष्ट्रिय सभाका २ सिटमध्ये १ का लागि नेपाली कांग्रेसले अघि सारेका प्राडा जगत् तिमिल्सिनाले बुधबार उम्मेदवारी दर्ता गराए । कांग्रेस–एमालेको समझदारी अनुसार खुला कोटाबाट उनी साझा उम्मेदवार बनेका हुन् ।


त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तिमिल्सिनाले २०५७ सालदेखि कांग्रेस निकट ‘प्रजातन्त्रवादी प्राध्यापक संघ’सँग आबद्ध रहँदै कोषाध्यक्ष, महासचिव हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटार स्थायी घर भएका तिमिल्सिनाको जन्म २०२७ साल फागुन १३ गते भएको हो ।

गण्डकीको कुल मतभार ६३५७ मध्ये कांग्रेस–एमाले गठबन्धनसँग ५१८१ छ, जुन दुई तिहाइ हो


विद्यार्थी राजनीतिबाटै कांग्रेससँग जोडिएका उनी प्राध्यापक बनेपछि पनि पार्टीको शुभेच्छुक संस्थामार्फत निरन्तर सक्रिय रहँदै आए । आफूले पेशागत वृद्धिजीवी—शिक्षक, डाक्टर, इन्जिनियर र वकिलको साझा प्रतिनिधित्व गर्ने तिमिल्सिनाको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट मानिने तिमिल्सिनालाई शैक्षिक नेतृत्व र राजनीतिक समझ दुवै सन्तुलनमा राख्न सक्ने पात्रका रूपमा हेरिएको छ । कांग्रेसका तनहुँ जिल्ला समिति र गण्डकी प्रदेश समिति दुवैतिरबाट सिफारिसमा नपरेका उनलाई पार्टीले उम्मेदवार बनाएको हो ।


नेकपाबाट गोमा र कपिल
गण्डकीको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एकल रुपमा मैदान उत्रिएको छ । बुधबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे र कपिल लामाले औपचारिक रूपमा मनोनयन दर्ता गराए ।


नेकपाले महिलातर्फ गोमा र अन्य समूहबाट कपिललाई प्रतिस्पर्धामा उतारेको हो । दुवै उम्मेदवार साविक नेकपा (माओवादी केन्द्र)सँग जोडिएका छन् । कपिल पार्टीका केन्द्रीय सदस्य हुन् भने गोमा घिमिरे सशस्त्र द्वन्द्वकालकी घाइते योद्धा हुन् ।


नेपाली कांग्रेस र नेकपा एमालेसँग अन्तिम समयसम्म निर्वाचन सहकार्यका विषयमा छलफल भए पनि सहमति नजुटेपछि नेकपाले आफ्नै उम्मेदवार चुनावी मैदानमा उतारेको हो । विसं २०६० मा म्याग्दीको बेनीमा भएको आक्रमणका क्रममा नेपाली सेनासँगको भिडन्तमा उनी घाइते भएकी हुन् ।


सोही क्रममा उनले एउटा खुट्टासमेत गुमाउनुपरेको थियो । शारीरिक अपांगता भए पनि उनी राजनीतिक र सामाजिक सक्रियताबाट कहिल्यै अलग भइनन् ।


तत्कालीन माओवादी खुला राजनीतिमा प्रवेश गरेपछि घिमिरे पत्रकारितामा संलग्न भइन् । केही समय सञ्चार क्षेत्रमा काम गरेकी उनी पछिल्लो वर्षमा पोखरा महानगरपालिकामा करार सेवामा कार्यरत थिइन् ।


अर्का उम्मेदवार कपिल भने पार्टी संगठन विस्तार र वैचारिक अभियानमा सक्रिय नेता हुन् । केन्द्रीय सदस्यको हैसियतमा लामो समयदेखि पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका लामाले राष्ट्रिय राजनीतिमा अनुभवी छन् । २०५१ सालमा चौथो महाधिवेशनबाट उम्मेदवार बनेका उनी दोस्रो संविधानसभामा माओवादीबाट उम्मेदवार भए पनि पराजित बनेका थिए ।

राष्ट्रिय जनमोर्चाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले पनि गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । जनमोर्चाको तर्फबाट खुलामा शंकरप्रसाद बराल र महिलामा लक्ष्मी बाँस्कोटाले मनोनयन दर्ता गरेका हुन् । बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन् भने बराल जनमोर्चाका नेता हुन् ।


अधिवक्तासमेत रहेकी उनी ०७४ मा बागलुङ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष निर्वाचित भएकी थिइन् । बराल र बाँस्कोटाले पार्टीको मत संरक्षण गर्न उम्मेदवारी दिएको बताए । गण्डकीमा जनमोर्चाको २ पालिका अध्यक्ष र २ उपाध्यक्ष छन् ।


यस्तो छ मतभार
फागुन २० गते गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचिन २ पद रिक्त हुँदै छन् । खुलाका नारायणकाजी श्रेष्ठ र महिलाकी भगवती न्यौपानेले ६ वर्षे कार्यकाल पूरा भएपछि उनीहरुको स्थानमा चुनाव हुन लागेको हो ।


गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ । कांग्रेसका २७ सांसदको मतभार १ हजार ४ सय ३१ र ६६ स्थानीय तहका जनप्रतिनिधिको मतभार १ हजार २ सय ५२ छ । एमालेका २२ सांसदको मतभार १ हजार १ सय ६६ र ७० स्थानीय तहका जनप्रतिनिधिको मतभार १ हजार ३ सय ३० छ । दुवै दलको कुल मतभार ५ हजार १ सय ८१ पुग्छ । जुन दुई तिहाइ हो ।


नेकपाका ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधिको मतभार ९ सय ४१ मात्र छ । राष्ट्रिय जनमोर्चाको मतभार ७६ छ भने राप्रपाका २ सांसद छन् । माओवादी केन्द्रको चुनावचिह्नबाट प्रदेशसभा सदस्य निर्वाचित फणीन्द्र देवकोटा अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आवद्ध छन् । प्रलोपा र राप्रपाका सांसदहरुको मत कता जान्छ अझै यकीन भएको छैन ।

तपाईको प्रतिक्रिया